
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै गिरफतार नेता एवम् कार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन पनि आह्वान गर्नुभएको छ । १३ फागुनमा जारी गरिएको वक्तव्यमा भनिएको छ, “पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य क. सोमानसिंह तामाङ तथा दाङ जिल्ला समिति सदस्य क. मानवहादुर ओलीको यथाशीघ्र रिहाइको जोडदार माग गर्दछौँ । साथै हामी मानव अधिकारवादी, नागरिक समाज तथा आम जनसमुदायलाई गिरफतार नेता एवम् कार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन पनि आह्वान गर्दछौँ ।”
वक्तव्यमा सामाजिक सन्जाल तथा केही सन्चार माध्यमहरुमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता गौरवको नामबाट प्रसारित वक्तव्यलाई हाम्रो पार्टीका महासचिव क. गौरवको वक्तव्य हो भनी भ्रम पार्न खोजेको भन्दै उक्त वक्तव्य हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव क. गौरवको नभएको स्पष्ट पारिएको छ ।
वक्तव्यमा भनिएको छ, “आज बिहान ८ः०० बजे हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक पोलिटब्यूरो सदस्य कमरेड सोमानसिंह तामाङलाई काभ्रेपलान्चोकको बनेपाबाट पक्राउ गरेको सूचनाले हाम्रो पार्टीलाई आक्रोसित तुल्याएको छ । साम्राज्यवादको आर्शिवादमा जेन्जी “विद्रोह”को घोडा चढेर प्रधानमन्त्रीको कुर्सीमा आशीन सुशीला कार्कीले एकातिर ‘निर्वाचन बहिष्कार गर्नेहरु प्रभावकारी छैनन्, ……. दुई–चार जनाको समूहमा छन् ……… आफूलाई जीवित राख्न जबर्दस्त पैसा असुल्छन्’ भन्दै बकवास गरिरहेकी छन् भने अर्कोतिर उनकै शब्दमा कुनै प्रभाव नै नभएका नेता तथा कार्यकर्ताहरुलाई बिनाकारण कायरता पूर्वक गिरफ्तार गराइरहेकी छिन् । यस प्रकारको गिरफ्तारीको तीव्र निन्दा र भत्र्सना गर्दै हाम्रो पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य क. सोमानसिंह तामाङ तथा दाङ जिल्ला समिति सदस्य क. मानवहादुर ओलीको यथाशीघ्र रिहाइको जोडदार माग गर्दछौँ । साथै हामी मानव अधिकारवादी, नागरिक समाज तथा आम जनसमुदायलाई गिरफतार नेता एवम् कार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन पनि आह्वान गर्दछौँ ।
दोस्रो कुरा, सामाजिक सन्जाल तथा केही सन्चार माध्यमहरुमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता गौरवको नामबाट प्रसारित वक्तव्यलाई हाम्रो पार्टीका महासचिव क. गौरवको वक्तव्य हो भनी भ्रम पार्न खोजेको पाइयो । यसमा क्रान्तिकारी कम्युनिस्टहरुप्रति सुशीला कार्कीको तूच्छ भनाइको पनि खण्डन गरिएको रहेछ । उक्त वक्तव्य हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव क. गौरवको नभएको व्यहोरा हामी आम जनसमुदायलाई स्पष्ट गर्न चाहन्छाैँ ।”