
काठमाडाैँ : नेकपाका अध्यक्ष ऋषि कट्टेललाई सरकारले पक्राउ गरी गैरकानुनी रुपमा हिरासतमा राखिएकोमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । ऋषि कट्टेलको छोरा रुपेश कट्टेलले फागुन ८ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको हो । कट्टेललाई फागुन ६ गते नेकपाको केन्द्रीय कार्यालय कीर्तिपुर अफिसबाट विनाकारण पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा राखिएको छ कट्टेललाई गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा र जिल्ला प्रशासन कार्यालय काठमाण्डौ जिल्ला प्रहरी परिसर काठमाण्डौको समेत आदेशमा पक्राउ गरिएको हो । सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनको बहिस्कार गर्ने निर्णय गरेको थाहा पाएर पक्राउ गरिएको निवेदनमा उल्लेख छ । निवेदनमा अध्यक्ष कट्टेलले नेतृत्व गरेको नेकपा निर्वाचन आयोगमा दर्ता भएको पार्टी भएको र प्रतिबन्धित पार्टी पनि नभएको बताइएको छ । उहाँलाई झुठा मुद्दा लगाउने तयारी गरिरहेको पनि बताइएको छ ।
उहाँलाई निजका आफन्तीहरुलाई समेत सहज तरिकाले भेटघाट गर्न नदिइएको,उमेरका हिसाबले पनि ज्येष्ठ नागरिक भएको र चिनी, प्रेसर जस्ता दीर्घ रोगहरु सँग जुधिरहनु भएको निवेदनमा उल्लेख गरिएको छ ।