
आज फागुन ९ गते प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा समितिको बैठकमा निर्वाचन बारे बोल्ने क्रममा निर्वाचन बहिष्कार गर्ने दलहरूलाई लक्षित गरेर अत्यन्तै अवांछित शब्दहरू प्रयोग गरेकी छन्। आगामी निर्वाचन बहिष्कार गर्ने दलहरूलाई जनमत नभएका र निर्वाचनमा उठ्ने हैसियत पनि नभएका तथा यही बहिष्कारको बहानामा आर्थिक रकम संकलन गर्ने लगायतका आरोपहरू उनले लगाएको पाइयो। हेपेर, होच्याएर अभिव्यक्ति दिएको सुनियो। लामो समय न्यायलयमा काम गरिसकेको व्यक्तिले त्यस किसिमले अभिव्यक्ति दिनु कुनै पनि मानेमा सुहाउने कुरा होइन।
यो निर्वाचन बहिष्कार आन्दोलनमा लागेका व्यक्तिहरू लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउँदै आइरहेका अग्रजहरू पनि हुनुहुन्छ। त्यति मात्र होइन यही व्यवस्था भित्रै पनि सांसद, मन्त्री र कैयौं पटक सांसद भइसकेका व्यक्तिहरु समेत यो बहिष्कार आन्दोलनको नेतृत्व गरिरहनु भएको छ। संसदमा पटकपटक निर्वाचित भएर जनताका आवाज बुलन्द गरेका व्यक्तिहरू पनि यो बहिष्कार आन्दोलनमै हुनुहुन्छ। नेपालका कैयौँ उथलपुथलकारी आन्दोलनहरूमा लाखौं जनताका बीचमा पुगेर जनताको नेतृत्व गरेर आएका व्यक्तिहरू तथा नेतृत्वहरू पनि यो बहिष्कार आन्दोलनमा हुनुहुन्छ। आन्दोलनका सन्दर्भमा देशको गम्भीर राजनीतिक विषयवस्तुहरूलाई उठाउने काम पनि भइरहेको छ। यति गम्भीर विषयलाई यति सतही र यति निम्न स्तरबाट टिप्पणी गर्न सक्ने व्यक्ति कसरी प्रधानमन्त्री हुनसक्छ भनेर प्रश्न उठेको छ। उहाँ न्याय क्षेत्रमा प्रधान न्यायाधीश समेत भएर काम गर्नुभयो । कसरी न्याय सम्पादन गर्नुभयो ? उहाँका श्रीमानले जहाज अपहरण गरेर कति रुपैयाँ कुम्लाउनु भयो ? न्याय दिने क्षेत्रमा उहाँले के कति राजनीतिक भागबण्डा गर्नुभएको थियो ? प्रधानन्यायाधीश हुँदाखेरि, उहाँ स्वयं राजनीति गर्नुभयो? उहाँका श्रीमानले कस्तो खालको कांग्रेसी राजनीति गर्नुभएको हो ? क्रान्तिकारी पार्टीहरू माथि आक्षेप लगाउने बेलामा उहाँलाई आफ्ना ती विगतहरूको याद आउँछ कि आउँदैन ? प्रधानमन्त्रीको यस्तै गैरजिम्मेवार अभिव्यक्तिका कारणले गर्दा देशमा विध्वंस मच्चिने गरेको छ भन्ने कुरा बुझ्नुपर्छ कि पर्दैन ? गैरजिम्मेवार अभिव्यक्तिका कारणले गर्दाखेरि पनि भदौ २३ र २४ का घटना घटेका हुन्। के सुशीला कार्कीले ती घटनाहरूको जिम्मा लिनुपर्दैन ?
काठमाडौँमा बारबारा फाउन्डेसन लगायतका संस्थाहरू खुलेर देशमा विध्वंश मच्चाएका हुन् । आन्दोलनमा आउनुस् भनेर आह्वान गरेर प्लेकार्ड बोकेर हिँडेको सामाजिक सञ्जालमा देख्नुभएको छैन ? विध्वंश गर्नेहरूलाई कारबाही गर्ने हुति छैन । जेन जी आन्दोलनमा लुटिएका हतियार र ड्रेसहरू फिर्ता लिएको खै त ? भ्रष्टाचारीलाई कारबाही गर्नु पर्दैन ? भ्रष्टाचारीसित कुम जोडेर बस्नु हुन्छ , अनि कसरी होस् भ्रष्टाचारीलाई कार्वाही ? यो निर्वाचनले समस्याको निकास दिँदैन भनेर बोल्नु लेख्नु आफ्नो कुराहरू जनताको बीचमा राख्नु यही संविधानले दिएको अधिकार हो। अधिकारलाई प्रयोग गरेर आफ्ना कुराहरू राख्दाखेरि कसरी गलत भयो ? गुलेली चलाउन नजान्नेले के जनयुद्ध गर्छन् भनेर जनयुद्धलाई होच्याउने शेरबहादुर देउवा होइनन् र ? चुनावमा उठेका मान्छे सबैले जित्दैनन् । सुशीला कार्कीले गैर जिम्मेवार अभिव्यक्तिलाई तुरुन्त फिर्ता लिनुपर्दछ। के निर्वाचनमा सबै जनताले मतदान गर्छन् ? विगतमा कति प्रतिशतले भोट हालेका थिए ? तपाईलाई थाहा छ कि छैन ? तपाईँ चोर ढोकाबाट प्रधानमन्त्री भएकी व्यक्तिले बहिष्कारवादीहरुलाई हेप्ने अधिकार छैन।
राणा शासन फाल्नका लागि आन्दोलनमा उत्रने गंगालालहरू पनि थोरै नै थिए। परिस्थितिले राणाशासन विदा लिनुपर्ने भयो। पञ्चायतका विरुद्धमा उत्रने मान्छेहरु पनि थोरै नै थिए। राजतन्त्रलाई फाल्नुपर्छ भन्ने आन्दोलनमा लाग्नेहरु पनि सुरुमा थोरै नै थिए । अहिले संसदीय व्यवस्था काम छैन भन्नेहरु थोरै हुन सक्छन् । थोरै वा धेरै भन्ने भन्दा पनि उनीहरुले बोकेको विचार सही छ वा छैन भन्ने मूूख्य कुरा हो । यो निर्वाचनलाई हामी बहिष्कार गर्छौं। आम जनतालाई यो निर्वाचनमा भाग नलिनको निम्ति आग्रह गर्दछौं । के सुशीला कार्कीले भन्न सक्छिन् यो निर्वाचन भइसकेपछि प्रत्येक दिन तीनवटा लास अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउन रोकिन्छ ? के निर्वाचनले युवाहरूलाई विदेश पलायन गर्ने कार्य रोक्छ ? के यो निर्वाचनबाट युवाहरूले स्वदेशमै रोजगारी प्राप्त गर्छन् ? के यो निर्वाचनपछि नेपालका शिक्षण संस्था र विश्वविद्यालयहरूबाट उत्तीर्ण भएका विद्यार्थीहरूले स्वदेशमै रोजगारी प्राप्त गर्छन् ? हामीले त्यो कुनै पनि सम्भावना देखेका छैनौँ। यो निर्वाचनले देशका यी जल्दा बल्दा र गम्भीर समस्याहरु समाधान गर्ने वाला छैन ।
निर्वाचनपछि पनि देशको राष्ट्रिय अस्मिता माथि प्रहार हुने क्रम रोकिने वाला छैन। यो निर्वाचनले जेलेन्सकीहरु जन्माउने हो ।अपराधीहरू जन्माउँछ ,ठगहरूलाई सत्तामा पुर्याउँछ । त्यसकारण देशको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्वाचन बहिष्कार गर्दैछौँ। त्यसकारण यी आवाजहरूलाई जनताको बीचमा बहिष्कारको माध्यमबाट पुर्याउँदै छौं । जनताका आवाज बुलन्द गर्ने व्यक्तिहरूलाई हेप्न पाइँदैन । म सम्पूर्ण जनसमुहलाई आगामी फागुन २१ को निर्वाचन बहिस्कार गर्न हार्दिक अनुरोध गर्दछु।