
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले साम्राज्यवादी हस्तक्षेपका विस्द्ध लड्न जनयुद्ध अपरिहार्य हुने बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिले आयोजना गरेको जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।

नेपालमा लामो समयदेखि विस्तारवादी र साम्राज्यवादी हस्तक्षेप हुँदै आएको चर्चा गर्दै उहाँले भारतीय विस्तारवादले अप्रत्यक्ष रुपले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको भए पनि अमेरिकी साम्राज्यवादले विश्वभरि नै प्रत्यक्ष रुपले हस्तक्षेप गर्ने गरेको बताउनु भयो । उहाँले हालै भेनेजुएला, इरान लगायतका स्वतन्त्र र सार्वभौम मुलुकमाथि अमेरिकाले गरेको हमलाको चर्चा गर्दै नेपालको स्वाधीनतामाथि पनि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट हस्तक्षेपको खतरा दिनदिनै बढ्दै गएको दावी गर्नुभयो । उहाँले शक्तिशाली दुश्मनका विरुद्ध लड्न श्रमजीवी सर्वहारा जनतासँग मालेमावाद र जनयुद्ध बाहेक अर्को हतियार नभएको स्पष्ट पार्नुभयो । उहाँले जनयुद्धले मात्रै साम्राज्यवादलाई पराजित गर्न सक्ने ल्याकत राख्ने बताउनु भयो । जनयुद्धकै कारण जापनीज साम्राज्यवादलाई पराजित गर्न चीनमा माओ सफल भएको स्पष्ट पार्नुभयो ।
नेपालमा १० वर्षसम्म सञ्चालित जनयुद्धको महत्व राष्ट्रिय रुपमा मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा पनि रहेको चर्चा गर्दै उहाँले प्रचण्ड र बाबुरामले गरेको गद्दारी र दिएको धोकाका कारण जनयुद्ध विसर्जन हुन पुगेको भन्दै अहिले नयाँ रुपमा जनयुद्ध जारी रहेको पनि दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, “सामरिक कार्यदिशाका लागि जनयुद्धको वैश्विक महत्व छ । जनयुद्धको छोटो अवधिमा सात डिभिजनसम्मको सेनाको निर्माण, ८० प्रतिशत भूभागमा समानन्तर जनसत्ता सञ्चालन, आधारइलाको विकास, जनकम्युन लगायतका उपलब्धिहरुको संस्थागत विकास गर्ने गरी वार्ता गर्नुपर्नेमा प्रचण्ड बाबुराम आफै जनयुद्धका ती महान उपलब्धि ध्वस्त पार्नतिर लागे । त्यसैका विरुद्ध हामीले विद्रोह ग¥यौं । टुट, फुट, विभाजनका विभिन्न श्रृङ्खला हुँदै पुनः क्रान्तिकारी कम्युनिस्टहरुबिच एकताको प्रक्रियाबाट अगाडि बढिरहेका छौं । र, जनयुद्धका सकार र नकार पक्षबाट शिक्षा लिँदै नयाँ ढंगले जनयुद्ध जारी राखेका छौं ।”

माओले भनेझै विचार र राजनीतिक लाइन सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्ने कुरा नेपालमा सञ्चालित जनयुद्धले राम्रोसँग चरितार्थ गरेको बताउनु हुँदै भन्नुभयो, “जनयुद्ध सुरु गर्दा पार्टी पनि सानै थियो । दुईवटा थोत्रा भरुवा बन्दुक मात्रै थिए । त्यही हतियारको बलमा जनयुद्ध सुरु गरिएको हो । कतिपयले भारतले हतियार र तालिम दिएर नेपालमा जनयुद्ध गरेको भनेर दुष्प्रचार पनि गर्ने गरेका छन् । त्यो सरासर झुठ हो । वास्तवमा जनयुद्ध नेपाली जनताले न्याय, मुक्ति र समानताका लागि गरेको जनयुद्ध हो । जनयुद्धले छोटै समयमा राष्ट्रिय अन्तराष्ट्रिय चर्चा र समर्थन प्राप्त पायो । माओवादीहरुको अन्तर्राष्ट्रिय संगठन रिमले समर्थन ग¥यो । उसले सगरमाथाको देश नेपालबाट क्रान्तिको झण्डा फहराइरहेको छ भनेर आफ्नो म्याग्जिनमा समाचार नै छाप्यो । छाटो समयमा नेपाली जनयुद्धले विश्वनै प्रभावित र चकित तुल्यायो । तर आफ्नो शक्ति र जनतामाथिको विश्वासलाई कम आँक्दै प्रचण्ड बाबुरामले सम्झौता गरेपछि जनयुद्धमाथि ठूलो धोका हुन पुग्यो । आज हामी जयुद्धबाट शिक्षा लिँदै फेरि जनयुद्धलाई नयाँ ढंगले अगाडि बढाउन खोजिरहेका छौं । प्रचण्डहरु भने रुकमतिर चुनाव जित्नलाई अनेक तमसा देखाइरहेका छन् ।”
चुनावबारे पार्टीको धारणा राख्दै उहाँले भन्नुभयो, “चुनावमा भाग लिन पनि सकिन्छ । तर अहिले विदेशीको नांगो हस्तक्षेप र उनीहरुद्वारा प्रयोजित चुनावमा भाग लिँदा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध गर्नुपर्ने संघर्ष कमजोर हुने भएकोले हामीले यो निर्वाचन बहिस्कार गरेका हौं । जनयुद्ध भइरहेको बेलामा त बहिस्कार गर्दा पूरै बहिस्कार त हुँदैनथ्यो भने अहिले त स्थिति त्यस्तो होइन ।” उहाँले सुशिला कार्की सरकारले जनयुद्धका जीवित सहिदको रुपमा रहेका पार्टीका केस पूर्णबहादुर खड्कालाई पक्राउ गरेर फासिवादी चरित्र देखाएकोप्रति आक्रोश पोख्नुभयो । अहिले पार्टी शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कारको आन्दोलनमा रहेको भन्दै राज्यले गर्ने फासिवादी दमनको सामना गरेर अगाडि बढ्ने चेतावानी दिनुभयो । उहाँले पार्टीपंक्तिमा भन्नुभयो, “यो चुनाव भनेको क्षणिक वा तात्कालिक कुरा मात्रै हो, हामीले लामो तयारीका साथ अगाडि बढ्नु पर्दछ । सानोबाट ठूलो, थोरैबाट धेरै, कमजोरबाट शक्तिशाली हुने गरी आफ्ना योजना र कार्यक्रम बनाएर अगाडि बढ्नु नै सही माओवादी तरिका हो ।”
त्यसैगरी जनयुद्ध दिवस समारोहका अध्यक्ष तथा पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीसले जनयुद्धलाई स्मरण गर्नेहरुमा दुई धार रहेको भन्दै भन्नुभयो, “आज नेपालको इतिहासको अत्यन्तै महत्वपूर्ण दिन हो । जनयुद्धलाई स्मरण गर्ने दुईवटा धाराहरु छन् । एउटाले स्मरण गर्ने काम मात्रै गर्दछ भने अर्को धारा भनेको सबाट शिक्षा लिएर अर्को सशस्त्र क्रान्ति गर्ने धारा हो । हाम्रो धारा भनेको जनयुद्धबाट शिक्षा लिएर सशस्त्र क्रान्तिको दिशामा अगाडि बढ्ने, बढाउने धारा हो ।” उहाँले भन्नुभयो, “जनयुद्ध सफल भयो भन्ने हाम्रो निष्कर्ष होइन । जनयुलाई सम्झौतामा टुंग्याइयो । जनयुद्ध भिन्न रुपमा जारी छ । क्रान्ति पूरा भएको भएको छैन । जनयुद्ध जुन तरिकाले गरिएको थियौं, अहिले त्यही तरिकाले होइन, विकसित परिस्थितिमा आधारित भएर गर्ने कुरा हो । क्रान्तिका निम्ति सशस्त्र संघर्ष अपरिहार्य कुरा हो । तर संघर्षको रुप तत्कालिन परिस्थितिमा भर गर्दछ ।”
उहाँले भन्नुभयो, “आजको दिनमा क्रान्तिकारीहरुले गर्ने भनेको विगतबाट शिक्षा लिंदै सशस्त्र संघर्षप्रतिको प्रतिबद्धता हो । नेपालमा सर्वहारा किसान श्रमिक वर्गको राज्यसत्ता निर्माणका निम्ति श्रमिक जनतालाई उत्प्रेरित र उत्साहित बनाउने कुरा हो । यही प्रतिवद्धता म व्यक्त गर्दछु ।”
नयाँ जनवाद–वैज्ञानिक समाजवाद– जिन्दावाद !, साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिस्कार गरौं, स्वाधीन संयुक्त सरकार गठन गरौं उल्लेखित व्यानरमा गरिएको जनयुद्ध समारोहको सञ्चालन पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले राख्नुभएको थियो । उहाँहरुले पनि जनयुद्धको महानता र जनयुद्धको क्रममा भएको अद्वितीय बलिदानको विशेष चर्चा गर्नुभएको थियो ।