
काठमाडौं : भेनेजुएलाको सार्वभौमिकतामाथि अमेरिकाले गरेको सैन्य आक्रमणका विरुद्ध भेनेजुएलाका जनता तथा साम्राज्यवादका विरुद्ध भइरहेको विश्वव्यापी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै सातवटा कम्युनिस्ट पार्टीका नेताहरुले सुशिला कार्की नेतृत्वको सरकारले गर्न लागेको चुनाव साम्राज्यवादी डिजाइनमा हुन लागेको भन्दै यो चुनाव कुनैपनि हालतमा हुन नदिने उद्घोष गरेका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले भेनेजुएलामाथि अमेरिकाले थोपरेको अन्यायपूर्ण युद्ध भेनेजुएलाका जनताको न्यायपूर्ण युद्धबाट पराजित हुने दावी गर्दै नेपालमा पनि अमेरिकाले आफ्नो भूमिका घनिभूत रुपमा बढाइरहेकोले नेपाली जनतालाई त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले एमसीसी सम्झौतापछि अमेरिका नेपालमा एसपीपी सम्झौता गराउन लागिपरिरहेको भन्दै एसपीपी सम्झौतापछि नेपालमा अमेरिकी सेना आउने दावी गर्नुभयो । सुशिला कार्की नेतृत्वको सरकारले अमेरिकाको त्यही मिसन पूरा गर्ने डिजाइन अनुसार चुनाव गर्न लागेको दावी गर्दै यो चुनाव कुनै पनि हालतमा हुन नदिने उद्घोष गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो सामान्य चुनाव होइन । जनतामा नांगी सकेको व्यवस्थालाई बैधानिकता दिने कि नदिने भन्ने चुनाव हो । भेनेजुएलाकै जस्तो खतरा हाम्रै आँगनमा ल्याउने डिजान छ यसमा । बेलैमा सचेत भइएन भने पछि पछुताएर केही पनि हुने छैन ।”
उहाँले भेनेजुएलामाथिको अमेरिकी सैन्य आक्रमण र राष्ट्रपति मदुरो दम्पत्तिको अपहरणको घोर भत्र्सना गर्दै राष्ट्रपति मदुरो दम्पत्तिको अविलम्ब सकुशल रिहाइको माग गर्नुभयो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले अमेरिकी साम्राज्यवादले संसारभर आतंक मच्चाइरहेको चर्चा गर्दै डानाल्ड ट्रम्प संसारका खुंखार एक नम्बर फासिवादी भएकोले उनलाई शान्ति पुरस्कार होइन, हिटलर पुरस्कार दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । अमेरिकाले तेल, सुन लगायतका स्रोत कब्जा गर्नका लागि भेनेजुएलामाथि सैन्य आक्रमण गरिएको भन्दै उहाँले भेनेजुएलालगायत संसारभरका उत्पीडित राष्ट्रहरुको स्वाधीनताको पक्षमा आवाज उठाउन र ऐक्यबद्धता जाहेर गर्न विरोध प्रदर्शन गरिएको पनि बताउनु भयो । उहाँले साम्राज्यवादीहरुका दलालहरु पैदा गर्न डिजाइन गरिएको फागुन २१ को चुनाव गर्न लागिएकोले यो चुनाव जुनसुकै हालतमा हुन नदिनका निम्ति निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने पनि दावी गर्नुभयो ।
अर्का वक्ता वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल आहुतिले भेनेजुएलाको पक्षमा बोल्नुको अर्थ नेपालको स्वाधीनता र सार्वभौमसत्ताको रक्षाको पक्षमा लड्नु हो भन्दै नेपालको नदीनाला सिध्याउन एमसीसी आएको दावी गर्नुभयो । रणनीतिक रुपमा नेपालको भूमि प्रयोग गर्न एसपीपी ल्याउन लागिएको भन्दै उहाँले त्यसका विरुद्ध लड्नु पनि भेनेजुएलाको पक्षमा लड्नु भएको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो, “देशको दलाल पुँजीवाद विश्व साम्राज्यवादको आडमा नेपाल र नेपाली जनतालाई लुट्न आइपुगेको छ । आज संसारभर देखापरेको साम्राज्यवादविरोधी लडाइँमा हामी पनि नेपालबाट ठिङ्ग उभिएका छौं । र, अहिलेको हाम्रो कार्यभार फागुन २१ को निर्वाचनलाई सशक्त रुपमा बहिस्कार गर्नु रहेको छ ।”
त्यसैगरी अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले साम्राज्यवाद विरोधी संघर्ष भनेको नेपालको स्वाधीनता र जनतन्त्रका लागि लड्नु भएको भन्दै यो कठ्ुपुतली सरकारको चुनावको भ्रम खारेजी गर्दै नेपालमा स्वाधीन सरकार निर्माणका निम्ति अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । संघर्षलाई थप उचाइमा पु¥याउनका निम्ति तथाकथित चुनाव सशक्त रुपमा बहिस्कार गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
अर्का वक्ता नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले निकासबिनाको चुनावको कुनै अर्थ र औचित्य नरहेको भन्दै चुनावको लफडामा नलागी साम्राज्यवादी षड्यन्त्रका विरुद्ध राष्ट्रिय स्वाधीनताको दिशामा सशक्त रुपमा अगाडि बढ्न सबै कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले भन्नुभयो, “अहिलेको निकास भनेको स्वाधीन राष्ट्रिय सरकार हो ।” त्यसबाट जन संविधान निर्माणको दिशामा अगाडि बढेर मात्रै देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सकिने र जनताको वास्तविक व्यवस्था स्थापित गर्न सकिने धारणा राख्नुभयो ।
त्यसैगरी नेकपा (जनपक्ष)का नेता बसन्त बोगटीले सरकारले आयोजना गरेको चुनाव अलोकतान्त्रिक रहेको भन्दै यस्तो चुनावी नौटंक बन्द गर्न चेतावनी दिनुभयो । उहाँले अब सत्ता क्रान्तिकारी जनताको हातमा आउनुपर्ने पनि दावी गर्नुभयो ।
कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी नेतृ शारदा महतले गर्नुभएको थियो । कार्यक्रमा सातवटै कम्युनिस्ट घटकका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।