
काठमाडौँ : जेन्जी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनलाई ६ कम्युनिस्ट पार्टीहरूले बहिष्कार गर्ने भएका छन् । ६ वटा कम्युनिस्ट पार्टीहरूले २०८२ पौष १८ गते संयुक्त विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । निर्वाचनलाई बहिष्कार गर्नका लागि जनतालाई आह्वान गर्दै संयुक्त विज्ञप्तिमा सीपी गजुरेल (महासचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल), धर्मेन्द्र बास्तोला कञ्चन (महासचिव ,नेकपा बहुमत), आहुति (महासचिव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल), महिन्द्र मल्ल (अध्यक्ष, नेकपा जनपक्ष), ऋषिराम कट्टेल (अध्यक्ष ,नेपाल कम्युनिष्ट पार्टी) र पूर्णबहादुर सिंह समरजंग (महासचिव, समाजवादी कम्युनिस्ट पार्टी नेपाल) ले विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ । संयुक्त विज्ञप्ति यस प्रकार छ :
“ देशको वर्तमान संकटपूर्ण परिस्थितिको सन्दर्भमा अग्रगामी राष्ट्रिय निकासका लागि निम्न छ कम्युनिस्ट पार्टीहरूको संयुक्त बैठक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालय कुपोण्डोलमा बसी बसी गरेका निर्णयहरु सार्वजनिक गर्न यो संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) ६ क्रान्तिकारी कम्युनिस्ट पार्टीको संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरिएको सार्वजनिक गर्दछौं ।
२) विद्यमान जनविरोधी, अलोकतान्त्रिक कठपुतली सुशिला सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसविधानका लागि संयुक्त संघर्ष अघि बढाउने सार्वजनिक गर्दछौं।
३) स्वाधीन संयुक्त जनसरकार र जन संविधान सुनिश्चित नगरी यथास्थितिमा हुने जनविरोधी चुनावको बहिष्कार गर्न आम जनतामा अपिल गर्दछौं ।
४) सार्वभौम राष्ट्रिय स्वाधीनताको रक्षा तथा अग्रगामी राष्ट्रिय निकासका लागि सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरूमा संयुक्त संघर्षको लहर सृष्टि गर्ने आन्दोलनमा सामेल हुन हार्दिक आह्वान गर्दछौँ। ”
