
काठमाडौं : सिपी गजुरेल नेतृत्वकाे क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल नेपाल, राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले २०८२ फागुन १,२ र ३ गते काठमाडौंमा एकता सम्मेलन गर्ने निर्णय गरेको छ । विद्यार्थी संगठनका संयोजक महेश श्रेष्ठले २०८२ पुस ९ गते संगठनको २०८२ पौष १,२ र ३ गते बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न एक प्रेस वक्तव्य जारी गर्दै सो कुराको जानकारी गराउनु भएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छ–“हाम्रो महान् तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) को तेस्रो पूर्ण बैठक मिति २०८२ पौष १,२ र ३ गते संगठनका केन्द्रीय संयोजक क. महेश श्रेष्ठको अध्यक्षता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा संगठनका पूर्व महासचिव क. हरिभक्त कंडेल ‘प्रतिक’को प्रमुख आतिथ्यतामा काठमाडौंमा सम्पन्न भयो । बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्नका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
(१) महान् जनयुद्ध, जनआन्दोलन, विद्यार्थी आन्दोलन लगायत विभिन्न आन्दोलनमा साहदत प्राप्त गर्नुहुने ज्ञात अज्ञात सम्पूर्ण महान् सहिदहरु प्रति १ मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो ।
२) संगठनले संचालन गरेको विद्यार्थी जागरण तथा शैक्षिक संघर्ष अभियान २०८२ ले विद्यार्थीलाई जागरण पैदा गरी उत्साहित बनाउन सफल भयो । शिक्षा क्षेत्रमा भएका समस्याहरुको समाधानका निम्ति विद्यार्थी हकहितको पक्षमा संघर्षलाई अघि बढाउन सफल भएका छौं ।
३) विद्यार्थी जागरण तथा शैक्षिक संघर्ष अभियानलाई सफल पार्न सहयोग गर्नु हुने विभिन्न संघसंस्था, आदरणीय जनसमुदायर प्रिय विद्यार्थी साथीहरुलाई हार्दिक धन्यवाद बैठकले दिएको छ ।
४) ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन २०८२ फागुन १,२,३ गते “विद्यार्थी एकता स्वाधीन, भ्रष्टाचारीलाई कार्वाही सुशासन समग्र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन ! जुझारु संगठन निर्माण र जनवादी वैज्ञानिक समाजवादी शिक्षाको लागि एकताको राष्ट्रिय सम्मेलन ! !” भन्ने मूल नारा सहित काठमाडौंमा गर्ने निर्णय गरिएको छ ।
५) ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलनलाई सफल पार्न सहयोगका निम्ति विभिन्न संघसंस्था एवं न्याय प्रेमी जनसमुदायलाई हार्दिक अनुरोध गर्दछौं । वामपन्थी, प्रगतिशील, देशभक्त, जनतान्त्रिक र न्याय प्रेमी विद्यार्थी साथीहरुलाई ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलनमा सहभागी हुन हार्दिक अपिल गर्दछौं ।
६) देशमा बढ्दै गएको भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, सुशासन कायम गरिनु पर्ने र गठबन्धन सरकारले बन्द गरेको सामाजिक सञ्जाललाई खुल्ला गरिनु पर्ने माग सहित २०८२ भाद्र २३ गतेको जेनजी विद्रोहलाई संगठनले समर्थन गरेको छ । जेनजी विद्रोहमा राज्यले आन्दोलनकारी माथि गरेको बर्बर दमनको घोर विरोध र भत्र्सना बैठकले गरेको छ । यसरी २३ गतेको आन्दोलनलाई गरिएको दमन पश्चात् थप परिस्थिति २४ गते भड्किन पुग्यो । साम्राज्यवाद, विस्तारवाद, पश्चगामी, यथास्थितिवादी र अवसरवादीहरुले फाइदा लिन आन्दोलनमा घुसपैठ भइ ठूलो अपुरणीय राष्ट्रिय सम्पत्ति क्षति हुन पुग्यो । आन्दोलनको प्रक्रियामा भएको जनधनको क्षतिप्रति बैठकले दुःख व्यक्त गरेको छ । विद्रोहको क्रममा सहिद हुनु भएकोहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घटनामा संलग्नलाई निष्पक्ष छानवीन गरी दोषीलाई कार्वाही गर्न माग गरेको छ ।
७) जेनजी विद्रोह पछि विकसित परिस्थितिमा गठबन्धन नेतृत्वको सरकार बर्खास्त गरी संसद विघटन गरिएपछि अमेरिकी साम्राज्यवादी र भारतीय विस्तारवादको सहमतिमा गठित सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले आन्दोलनको माग भ्रष्टाचारको अन्त्य र सुशासनलाई व्यवस्था गरी २०८२ फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेको छ । यस निर्वाचनमा हाम्रो संगठनले भोट नहाल्ने र बहिष्कार गर्ने निर्णय गरेको छ । साथै देशको विषम परिस्थितिमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले आफ्नो अनुकूलको सरकार निर्माण गर्न प्रयासरत रहेको समयमा राष्ट्रिय स्वाधीनता खतरामा रहेको छ । राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सहभागी हुन देशभक्त आदरणीय जनसमुदाय र प्रिय विद्यार्थी साथीहरुलाई हार्दिक अपिल गर्दछौं । कठपुतली सुशीला कार्कीको सरकारलाई बर्खास्त गरी स्वाधीन संयुक्त सरकार निर्माण गर्नु आजको आवश्यकता बनेको छ ।
८) शिक्षा क्षेत्रमा बढिरहेको वैदेशिक हस्तक्षेप, निजीकरण, व्यापारीकरण र भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्ने निर्णय बैठकले गरेको छ ।
९) बैठकको अन्त्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य आदरणीय क. हरिभक्त कंडेल ‘प्रतिक’ र आदरणीय स्थायी समिति सदस्य क. हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ल प्रशिक्षण दिनु भयो ।”