
डोल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ३ नं. व्यूरो ईन्चार्ज शेरबहादुर देउवाले अव जेन जी विद्रोह भन्दा उच्चस्तरको विद्रोह हुने बताउनु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल डोल्पा जिल्ला समितिले २०८२ पौष २ गते डोल्पा जिल्लाको सदरमुकाम दूनै बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सो कुरा बताउनुभएको हो । देउवाले अगाडि भन्नुभयो ,“ जेन्जी विद्रोह सेटमा थिएन । हाम्रो विद्रोह सेटमा हुने छ । हाम्रो आफ्नै सेना हुने छ । हाम्रो न्यायालय हुने छ । हाम्रो आफ्नै सरकार हुने छ । जेन्जीहरु अलमलिएकाछन । किनभने उनीहरुको आन्दोलन सेटमा छैन । हामीले जनयुद्धका बेला जसरी सोच्दथ्यौं ,त्यो सोचाई अहिले पनि जीवित छ । ”
देउवाले तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दश वर्षे जनयुद्धमाथि कुठाराघात गरेको पनि बताउनुभयो ।
सुशिला कार्की नेतृत्वले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन बहिष्कारलगायत पार्टीले अवलम्बन गरेको नीति तथा कार्यदिशाबारे देउवाले प्रष्ट पार्नु भयो ।
उहाँले दलाल–दलिय पुँजीवादी संसदीय व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवादी व्यवस्थाको खाका तयार गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्नु नै वर्तमान व्यवस्थाको उपयुक्त विकल्प भएको दाबी गर्नु भयो ।

देउवाले भन्नुभयो,“ विगतमा साहु,सामन्तले शोषण गर्थे ,अहिले शोषणको रुप फेरिएको छ । शिक्षा र स्वस्थ्यमा शोषण केन्द्रित भएको छ । एउटा शिक्षकले सरकारी स्कूलमा पढाउँछ तर म सित ट्युशन पढेनौ भने फेल हुन्छौ भनेर त्रास देखाएर ट्युशनको नाममा विद्यार्थीका गरीव अभिभावकलाई लुट्छ । सरकारी अस्पतालको डाक्टरले मेरो क्लिनिकमा राम्रो उपचार हून्छ भनेर लुट्छ । यो व्यवस्थाले डाक्टर, शिक्षक सबैलाई लुटेरा बनाएको छ । त्यसैले यो देशमा क्रान्ति चाहिएको छ । ” उहाँले थप्नुभयो ,“ यहाँका जडिवुटि सीमित व्यक्तिले बेचेकाछन् र मोटाएका छन् आम जनता गरीवको गरीव । बाटो, पुल हेर्नस , ५ वर्षको ठेक्का ७ वर्ष सम्म काम पूरा भएको छैन । एन.जि.ओ.,आई.एन.जि.ओ ले देशलाई कंगाल बनाए ।”
गत भदौ २३ र २४ गते भएका घटनाबारे टिप्पणी गर्दै देउवाले ती घटनाहरू ‘जेन–जी’ आन्दोलनका नाममा भए पनि वास्तविक रूपमा दलाल साम्राज्यवाद र विस्तारवादी शक्तिको षड्यन्त्र तथा घुसपैठबाट घटाइएको दाबी गर्नु भयो ।
पत्रकारहरूको जिज्ञासामा देउवाले चुनाव बहिष्कार ‘बहिष्कारका लागि मात्र’ नभएको स्पष्ट पार्दै सर्वपक्षीय वामपन्थी, राष्ट्रवादी, देशभक्त र प्रगतिशील शक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन गर्दै राष्ट्रिय संयुक्त मोर्चा निर्माण आवश्यक रहेको बताउनुभयो ।
राजनीतिक सम्मेलनबाट गठन हुने स्वाधीन संयुक्त नागरिक सरकारले वर्तमान संविधान खारेज गरी जनसंविधान निर्माण गरेपछि मात्र देशमा सुशासन कायम हुन सक्ने देउवाको भनाईथियो ।