चुनाव देखि चुनावले जनतालाई ठग्ने काम मात्रै भइरहेको छ : महासचिव गौरव

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले प्रायोजित निर्वाचनले वर्तमान संकटको निकास दिँदैन भन्नुभएको छ । मङ्सिर १८ गते बिहानमा चितवनको भरतपुरमा उक्त पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गौरवले सो कुरा बताउनु भएको हो। गौरवले सुशिला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचन अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको डिजाइनमा हुन थालेकोले त्यस निर्वाचनमा भाग लिनु भनेको अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा प्रायोजित निर्वाचनलाई वैधानिकता दिनुहुन्छ भन्नुभयो । गौरवले भन्नुभयो, “प्रायोजित निर्वाचनलाई सहयोग पुर्‍याउनु हाम्रो काम होइन। ” मंसिर १६ र १७ गते चितवनमा सम्पन्न पार्टीको चौचो पूर्ण बैठकका निर्णयहरुलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा गौरवले उक्त विचार प्रकट गर्नु भएको हो ।

उहाँले अगाडि भन्नु भयो – “नेपालमा चुनाव बारम्बार भइरहन्छ । पाँच वर्षमा हुनुपर्ने चुनाव चार वर्षमै हुँदैछ। चुनावदेखि चुनाव ,चुनावदेखि चुनाव चलिरहेकै छ। जनतालाई ठग्ने काम मात्रै भइरहेको छ। वर्तमान कठपुतली सरकार शक्ति राष्ट्रहरूको योजनामा चलेको छ भन्ने हाम्रो स्पष्ट धारणा छ। अमेरिका र भारतको इशारामा चल्ने यस्तो सरकारप्रति नै हाम्रो आपत्ति छ।

नेपालमा यो सरकारको विकल्प खोज्ने बेला भएको छ भन्ने हाम्रो निष्कर्ष छ । स्वाधीन संयुक्त सरकार बन्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट मत छ। हामीलाई थाहा छ संघर्षको दबाबमा मात्र स्वाधीन संयुक्त सरकार निर्माण हुन सक्दछ। डेलिगेसन गएर, मागपत्र राखेर स्वाधीन संयुक्त सरकार बन्नेवाला छैन। त्यसका लागि राष्ट्रिय स्वाधीनता संकटमा परेको ठान्ने विभिन्न राजनीतिक दल, व्यक्ति, समूहहरूको साझा एउटा राष्ट्रिय सम्मेलन हुनुपर्दछ । त्यो राष्ट्रिय सम्मेलनले संयुक्त मोर्चा निर्माण गर्नुपर्दछ र त्यो संयुक्त मोर्चाले स्वाधीन संयुक्त सरकार निर्माणको दिशामा अगाडि बढ्नुपर्दछ ।

जनतामाथि ठूलो विश्वासघात र ठगी भएको छ । चुनावलाई नै सबैभन्दा ठूलो उपलब्धि हो भनेर जनतालाई ढाँट्ने काम भइरहेको छ । हामी प्रतिक्रियाको राजनीति मात्रै गर्न चाहँदैनौँ । आजैदेखि अब यो प्रायोजित निर्वाचनको बहिष्कार आन्दोलन सुरु भयो । तपाईँले सुन्नुभएकै होला जेन्जीका केही साथीहरुले पनि हामीलाई चुनाव चाहिएको होइन। भ्रष्टाचारको अन्त्य हुनुपर्छ, सुशासन कायम हुनुपर्छ पो भनेका हौ भनेर उनीहरुले भनेका छन् । हामीले चुनाव माग गरेकै थिएनौँ , कसको निम्ति यो चुनाव गर्न थालिएको हामीलाई थाहा छैन समेत कतिपय जेन्जी समूहले भनेका छन् । निर्वाचन बहिष्कार गरेर नयाँ विकल्पतर्फ अब हामी अगाडि बढ्नुपर्दछ । हाम्रो पार्टी नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिका निम्ति प्रतिबद्ध छ। ”

तपाईँहरूले धेरैपटक चुनाव बहिष्कार गर्नुभयो। त्यसको उपलब्धि के भयो त भन्ने पत्रकारको जवाफमा सीपी गजुरेलले भन्नुभयो, “कम्युनिस्टहरूले निर्वाचनलाई कार्यनीतिक प्रश्न मान्दछन् । २०३६ सालको जनमत संग्रहको निर्वाचनमा हामीले भाग लिएका थियौं । बहुदलको पक्षमा हामी उभिएका थियौं। अहिलेको चुनाव त्यस्तो व्यवस्था बदल्ने चुनाव पनि होइन । यो जनताको असन्तुष्टिलाई अलमलाउने चुनाव मात्र हो। लिपुलेकमा भारत र चीन मिलेर हाम्रो देशमाथि राष्ट्रघात गरेका छन्। यो कठपुतली सरकार त्यसबारेमा बोल्दैन ।चुनाव त पञ्चायतकालमा पनि भइरहेकै थिए। तर चुनावले पञ्चायती व्यवस्थालाई जोगाउन सकेन। अन्ततः आन्दोलनको बलमा पञ्चायती व्यवस्थाको अन्त्य भयो। ठिक त्यसैगरी अहिले पनि चुनावदेखि चुनाव ,चुनावदेखि चुनाव सम्मको जुन गतिविधि छ त्यसले वर्तमान प्रतिक्रियावादी व्यवस्थालाई बचाउन सक्ने छैन । अहिले जनताकै संघर्षबाट देशमा गणतन्त्र पनि आएको छ। तर यो पनि हामीले मागेको व्यवस्था होइन र यो पनि जनताको व्यवस्था होइन। यतिले पुग्दैन । हामी देशमा आमूल परिवर्तन चाहन्छौ । हामी जनगणतन्त्र स्थापना गर्न चाहन्छौं । त्यसको निम्ति त संघर्ष नै गर्नु पर्ने हुन्छ । ”

जेन्जीहरूको मागलाई सम्बोधन गर्ने गरी चुनावमा भाग लिएर जाँदा हुँदैन र भन्ने अर्का पत्रकारको प्रश्नको जवाफमा महासचिव गौरवले भन्नुभयो, “ विदेशी शक्ति केन्द्रहरूको डिजाइनमा हुने यो चुनावबाट र यो सरकारबाट जेन्जीका मागहरू पूरा हुनेवाला छैनन्, त्यसकारण बहिष्कारमा जानु नै अहिलेको अवस्थामा उपयुक्त नीति हुनसक्छ भन्ने हामीले ठानेका छौ । हरेक मन्त्रीहरूको सिफारिस बाहिरबाट हुने गरेको छ । यो कठपुतली सरकार राष्ट्रघाती सरकार पनि हो । यो कठपुतली सरकारले आफ्नो मालिकको हितमा काम गर्छ । यसले देश र जनताको सेवा गर्दैन । नेपालमा मात्र होइन संसारभरिकै कठपुतली सरकारहरु साम्राज्यवादका सेवक हुन्छन् । त्यही भएर त हामीले नेपालमा देशभक्त, जनतान्त्रिक र वामपन्थीहरूको स्वाधीन सरकार आवश्यक छ भनेका हौँ। यो उद्देश्यमा पुग्नका लागि बहिष्कार गरेर जति प्रभावकारी हुन्छ भाग लिएर हुन सक्दैन भन्ने हाम्रो ठहर छ ।

प्रचण्डहरूले १५ दलको बीचमा एकता गरेर चुनावमा गइरहेका बेला तपाईहरुले पनि त्यसरी नै चुनावमा जान उपयुक्त हुन्थ्यो भन्ने बारेमा किन सोच्नुभएन भन्ने अर्का पत्रकारको प्रश्नमा गजुरेले भन्नुभयो, “प्रधानमन्त्री बन्न पाए वा सरकारमा जान पाए उनलाई पुग्छ । उनी प्रतिक्रियावादी सत्तामा लिप्त नै भइसके । उनलाई आमूल परिवर्तन जनताको व्यवस्था चाहिएकै छैन , केवल उनलाई आफू सरकारमा जान पाए हुन्छ। तपाईँले १५ दल भन्नुभयो , मान्छे पिच्छेका पार्टीहरू जम्मा गर्दै जाने हो भने ५०० दल पनि बनाउन सक्ने स्थिति हुन सक्छ। त्यो एकता नेपालमा आमूल परिवर्तन गर्ने उद्देश्यले हैन, केवल सत्तामा जाने, सरकारमा जाने, सरकारमा गएर भ्रष्टाचार गर्ने उद्देश्यले गरिएको हो । प्रचण्डजीका अघिपछि हिँड्ने केही सीमित व्यक्तिहरूलाई यो चुनावले फाइदा गर्ला, दलगत गुटगत, व्यक्तिगत केही सीमित व्यक्तिलाई स्वार्थपूर्ति गर्ने काम गर्ला तर आम जनता र आमूल परिवर्तनको पक्षमा त्यसले केही गर्नेवाला छैन । ”

के बहिष्कार सफल होला त भन्ने पत्रकारको प्रश्नमा गजुरेलले भन्नुभयो , “बहिष्कार राम्रोसँग सफल हुनेवाला छ । मैले केही जेएनजीहरूको स्टेटमेन्ट पनि पढेको छु। उनीहरुले हामीले छातीमा गोली थापेको यही चुनावको लागि होइन भनेर भनेका छन् । हामीले बहिष्कारको नीति पास गरिसक्यौं । बहिष्कारलाई कसरी सफल बनाउने भन्ने बारेमा अब काठमाडौँ गएर फेरि ठोस रुपमा कार्यक्रमको खाका तयार गर्छौं र बहिष्कारमा जाने अन्य दल, समूहसँग पनि हाम्रो छलफल हुँदैछ । कार्यक्रमलाई प्रभावकारी बनाउनेतिर हाम्रो ध्यान हुन्छ । अब हाम्रो अभियान यसैमा केन्द्रित हुन्छ।”

चुनाव बिथोल्ने शक्तिमाथि राज्यको पक्कै पनि ध्यान जान्छ होला । आफ्ना कार्यकर्ताहरू, समर्थकहरू माथि सरकारले धरपकड गर्ने, दमन गर्ने गर्न सक्छ । त्यसो भयो भने तपाईंहरु के गर्नुहुन्छ भन्ने अर्का पत्रकारको प्रश्नको जवाफमा गजुरेलले भन्नुभयो, “यदि सरकारले जनताले राखेको मागमाथि निरङ्कुशता देखायो , दमन गर्यो भने, ओलीले निरङ्कुशता देखाउँदा हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति आयो र यसपछिका सरकार ओलीपछिका सरकारहरुले पनि जनतामाथि त्यसरी नै दमन गर्ने, निरंकुशता लाद्ने काम गरे भने उनीहरूको पनि हेलिकप्टर चढेर भाग्ने स्थिति जनताले बनाइदिनेछन् । जनताले विगतमा गरेका क्रान्तिकारी आन्दोलनहरू, जनताका विशाल जनसंघर्षहरू, जनयुद्ध देखेका छन्। त्यसको प्रभाव अहिले पनि जनतामा छँदै छ। त्यसकारण जनता चुप्प लागेर बस्दैनन् । निरंकुशता लाद्न खोज्नेहरूको विरुद्धमा जनता उठ्नेछन् । यदि सरकारले त्यो बाटो अपनायो भने आफ्नो काल आफै निम्ताएको चाहिँ ठहरिनेछ। म त अहिले नै के भन्छु भने हामीले बहिष्कार भनेको आतंक मच्चाउने होइन, बहिष्कार भनेको त यो एउटा आन्दोलन हो। म अहिले नै भन्छु कि बहिष्कारको आन्दोलनमाथि खबरदार ! दमन गर्न पाइँदैन। पञ्चायतले दमन गर्यो उm समाप्त भयो बहुदल आएपछि पनि दमन गर्न खोजियो उनीहरुलाई जनताले सबक सिकाए । फेरि बहिष्कारको आन्दोलन दमन गर्न खोजिन्छ भने उनीहरुले पतनको बाटो रोजेको ठहरिनेछ। यो हाम्रो आन्दोलन न्यायसंगत आन्दोलन हो ।
बोल्न पाउने, जुलुस गर्न पाउने, आफ्नो मत राख्न पाउने जनताले लडेर ल्याएको अधिकार हो। हामी त्यसलाई प्रयोग गर्छौं।”

पत्रकार समीर चापागाईले निर्वाचनमा गएर आफ्ना एजेन्डाहरू स्थापित नगरी चुनाव बहिष्कारमा जानु भनेको पछाडि हट्नु होइन र भन्ने प्रश्नको जवाफमा गजुरेलले भन्नुभयो, “यो सरकार नै कठपुतली हो ,विदेशीको कठपुतली हो, अमेरिका र भारतको कठपुतली हो । यसबाट जनताका एजेण्डाहरू स्थापित हुन सक्दैनन्। विस्तारवादी र साम्राज्यवादीहरूको एजेन्डालाई कार्यान्वयन गर्नका निम्ति गर्न थालिएको निर्वाचनमा भाग लिनु भनेको उनीहरूको एजेन्डालाई समर्थन गर्नु जस्तै हुने भएकाले हामी बहिष्कारमा जानु परेको हो। हामी हिंसात्मक गतिविधि , आग्जनी केही पनि गर्दैनौ । यदि सरकार दमनमा उत्रियो भने त्यो सरकारकै नियन्त्रणभन्दा बाहिर हुनसक्छ त्यसको जिम्मा हामी लिँदैनौँ । त्यसको जिम्मेवार स्वयं सरकार हुनुपर्नेछ । ”

तपाईँहरूले यो चुनाव रोक्न सक्ने स्थिति त देखिँदैन। आखिर चुनाव त भएरै छोड्ने नै हो। तपाईंहरूको बहिष्कारको के अर्थ छ भन्ने पत्रकारको प्रश्नको जवाफमा गजुरेलले भन्नुभयो, “प्रतिक्रियावादी व्यवस्थामा शासकहरुले हामी जनताबाट अनुमोदित हौँ। यो जनताको म्यान्डेट हो भन्ने देखाउने नाटक गर्नका लागि चुनाव गर्ने गर्दछ । पञ्चायतमा पनि धेरैपटक चुनाव भएको थियो। तर ती चुनावहरूले पञ्चायतलाई जोगाइरहन सकेन । हामीले त्यतिबेला पनि चुनाव बहिष्कार गरेका थियौं। यदि हामीले हाम्रो चुनाव बहिष्कारले के काम गर्छ र के अर्थ छ र भनेको भए जनतामा हाम्रो स्पष्ट धारणा जाने थिएन । पञ्चायतका बेलामा पनि हामीलाई त्यसै भन्ने गरिन्थ्यो। तपाईं चुनावमा उठ्नुस् न ! राष्ट्रिय पञ्चायतमा गएर आफ्नो कुरा राख्नुस् न भन्ने गरिन्थ्यो । त्यतिबेला पनि हामीले चुनाव बहिष्कार गथ्र्यौं । यदि राष्ट्रिय पञ्चायतको चुनावलाई मात्र हेरेर हामीले राजनीति गरेका भए त्यसबाट परिवर्तन आउने थिएन। हामीले समग्र राजनीतिक परिवर्तनलाई ध्यानमा राखेर राजनीति गरेका थियौ । बहिष्कार गरेका थियौ । त्यो कुरा अहिलेको निम्ति पनि सत्य हो । तपाईँलाई थाहा होला नि राजा ज्ञानेन्द्रले पनि नगर निर्वाचन गराएका थिए। सबै पार्टीहरूले नगर निर्वाचनमा भाग लिएको भए राजा ज्ञानेन्द्र त्यति छिटै सत्ताबाट हट्ने थिएनन् । ”

तपाईँहरू सही कार्यनीति नलिएका कारणले गर्दा खुम्चिँदै खुम्चिँदै सानो समूहमा पुग्नुपरेको हो कि भन्ने पत्रकारको जिज्ञासामा गजुरेले भन्नुभयो, “ क्रान्तिकारी आन्दोलन सधैँ एउटै तरिकाले अगाडि बढ्दैन । उतारचढाव भइरहन्छ ।कहिले आन्दोलन उच्च गतिमा जान्छ । कहिले सुस्त हुन्छ । तपाईंले रुसकै इतिहासलाई हेर्नुस्। त्यहाँ लेनिनको पार्टीले कहिले चुनाव उपयोग गर्यो र कहिले बहिष्कार गर्यो । कहिले पार्टी कमजोर हुन्छ, कहिले त्यो शक्तिशाली हुन्छ। क्रान्तिकारी आन्दोलनमा यस्तो भइनै रहन्छ । जनयुद्धका सुप्रिम कमाण्डरका रूपमा प्रचण्ड थिए। उनले जनता र आन्दोलनलाई धोका दिए। अहिले क्रान्तिकारी आन्दोलनले सेट व्याक खाएको अवस्था हो । क्रान्तिकारी आन्दोलनले सेट ब्याक खाएको यस्तो अवस्थामा पनि क्रान्तिकारी आन्दोलन शक्तिशाली हुन्छ भन्ने ठान्नु सही होइन । यस्तो बेलामा आनदोलन कमजोर नै हुन्छ । क्रान्तिकारी आन्दोलन फेरि पुनर्गठित भएर अगाडि बढ्छ । यो बहिष्कारको दुरगामी प्रभाव रहनेछ । ”

नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने बारेमा तपाईँहरूले किन सोच्नुभएको छैन ? आजको एआइको दुनियामा, नयाँ प्रविधि प्रयोग गर्न सक्ने युवाहरुलाई अगाडि बढाउने बारेमा किन सोच्नुभएको छैन, तपाईहरुको नेतृत्वमा हेर्दा प्राय वृद्ध उमेरका मात्रै हुनुहुन्छ भनेर पत्रकारले सोधेको प्रश्नमा गजुरेलले भन्नु भयो , “ नयाँ पुस्ताका कामरेडहरूलाई अगाडि बढाउने बारेमा सोचेका छौं । ।नीति बनाएका छौं माओले भनेझैँ थ्री इन वन को नीतिलाई हामीले पार्टीमा लागू गर्ने सकभर प्रयत्न गरेका छौं । नयाँ नयाँ प्रविधि र सूचना संयन्त्रलाई क्रान्तिकारी आन्दोलनमा प्रयोग गर्ने सम्बन्धमा हामीले यथोचित ध्यान दिन सकिरहेका छैनौं र अब त्यसतर्फ पनि हामीले विशेष ध्यान दिनुपर्छ भन्ने सोचाई बनाएका छौं ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?