
सोबेटो विद्रोह (१९७६)
दक्षिण अफ्रिकामा भएको सोबेटो विद्रोहलाई एक निर्णायक मोडको रुपमा अफ्रिकी इतिहासमा लिइन्छ । त्यो विद्रोह अफ्रिकी काला विद्यार्थीहरुले शुरु गरेका थिए । शासन गरिरहेका अल्पसंख्यक गोराहरुको भाषा अनिवार्य गरिएको विरोधमा शुरु भएको त्यो आन्दोलनलाई प्रहरीले व्यापक दमन गरी सयौं विद्यार्थीको ज्यान लिएको थियो । त्यसपछि आन्दोलन अल्पसंख्यक गोरा शासकतिर सोझियो । त्यो घटना विश्वव्यापी निन्दाको विषय बन्यो । त्यसबेला दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराहरुको अपर्थाइड शासन चलिरहेको थियो । अपर्थाइड भनेको दक्षिण अफ्रिकामा गोरा जातिले काला जाति माथि लागु गरेको जातीय विभेदको नीति थियो । त्यो सरकारले ९२ जना विद्यार्थी मारिएको भने पनि गैर सरकारी तथ्यांकहरुले ५०० जना मारिएको बताएको थियो । त्यसपछि रंगभेद विरुद्धको आन्दोलन आगो सरह फैलियो । शहरमा पनि ठूलाठूला आन्दोलन हुन थाले । नेशनल मण्डेला त्यसबेला जेलमा थिए । उनकी श्रीमती विनी मण्डेलाले त्यो आन्दोलनलाई रंगभेद विरुद्धको आन्दोलनको शुरुवात भनेर बताएकी थिइन । कैयौं वर्षको अपार्थाइर्ड शासन विरोधी आन्दोलन पछि व्यापक दबाबका कारण सन् १९९० मा नेलशन मण्डेलालाई जेलबाट रिहा गरियो । त्यसको चार वर्षपछि भएको निर्वाचनमा दक्षिण अफ्रिकी इतिहासमा पहिलो पटक काला जातिबाट मण्डेला राष्ट्रपति बनेका थिए । शासक वर्गले कैयौं देशहरुमा विभिन्न कालखण्डमा आफ्नो आफ्नो उनमाद मचाइरहेका हुन्छन् । तिनीहरुको विरुद्धमा जनताहरुले सजग बनेर ठेगान लगाउने काम पनि गरिरहेका हुन्छन् ।
राणा शासन विरुद्धको विद्रोह
नेपालमा १०४ वर्ष सम्म जहानिया शासन चलेको थियो । वि. स. २००७ मा नेपाली जनताको राणा विरोधी विद्रोहले राणा शासनलाई अन्त्य गरेको थियो । राणा शासनको विरोधमा उत्रिएका गंगालाल श्रेष्ठलाई राणा शासकले फाँसी दिंदा उनी जम्मा २२ वर्षका थिए । रामेछापमा जन्मिएका उनी सानैदेखि जेहेन्दार, मेहेनती विद्यार्थी थिए । उनले कविता लेख्ने ,नाट्य अभिनय गर्ने, स–साना विद्यार्थीहरुलाई पढाउने काम पनि गर्दथे । राणा विरुद्ध गंगालाल सडकमा शुक्रराज शास्त्रीसँग भाषण गर्दै हिंडे । अन्ततः उनलाई राजद्रोही भाषण गरेको भन्दै राणाहरुले गिरफ्तार गरे । लेखक राजेन्द्र महर्जन लेख्छन् , “चाहेको भए उनी सजिलै भाग्न सक्थे तर उनलाई जेल नेल राणाहरुसँग कुनै डर चिन्ता थिएन । गंगालालले आफूलाई सिपाही सामु सुम्पे । उनलाई सिंहदरबारमा लगेर नेल र हतकडी ठोकियो । गंगालाल भन्दा अघि नै धर्मभक्त माथेमा र दशरथ चन्दलाई मृत्युदण्ड दिइयो । गंगालाललाई सिक्रीले बाँधे मृत्यु दण्ड दिन उनको घरको बाटो लगियो । त्यसबेला गंगालालले आफ्नो श्रीमतीलाई हसिना… हसिना भनेर बोलाए । हसिनादेवी अघिल्लो दिन मात्रै सुत्केरी भएकी थिइन । अन्तिम पटक पनि आफ्नो श्रीमानको मुख हेर्न पाइनन् । गंगालालले पनि आफ्नी श्रीमती र छोराको मुख हेर्न पाएनन् मृत्युदण्ड दिनु अघि उनलाई अझै समय छ । माफी माग भनेका थिए । तर गंगालालले मृत्यु नै रोजे राणासँग झुकेनन् उनी सहित चार जना शहीदको बलिदान भएको दश वर्षपछि अन्ततः नेपालको इतिहासबाट राणा शासन विदा भयो ।
भगत सिंहको आन्दोलन (सन् १९३०)
भगत सिंहको जन्म २८ सेप्टेम्बर १९०७ मा पंजावमा भएको थियो । उनका बुबालाई अंग्रेज शासकले जेल हालेको थियो । स्कूल छाडेर सन् १९२० मा महात्मा गान्धीको सहयोग आन्दोलनमा सहभागी भए । परिवारबाट विवाह गर्न दबाब दिन थालेपछि उनी भागेर दिल्ली पुगे । पत्रिकामा काम गर्न थाले । सन् १९२८ मा भएको एक आन्दोलनमा उनका एक आदर्श व्यक्ति लाजपत रायको हत्या भयो । त्यो हत्याले उनीप्रति अंग्रेजसँग निकै नै नफरतको ज्वाला सल्कियो । उनीमा अंग्रेज प्रति बदलाको भाव भड्कियो । अन्ततः उनी र उनका साथी मिलेर त्यो हत्याको बदला लिए । भगतसिंहको पहिचान देशभर फैलियो । अब भगतसिंह अंग्रेजको निशानामा पर्न थाले । भगतसिंह कपाल र दारी काटेर भेष बदलेर हिंड्न थाले । त्यहीबेला अंग्रेज सरकारले दिल्लीको असेम्लीबाट क्रान्तिकारी गतिविधि र मजदुर विद्यार्थी किसानको विरोध रोक्ने विधायक ल्याउन थालेका थिए । त्यो सहन नसकेर भगतसिंहले संसदमै बम प्रहार गरे । नारा लगाए इन्क्लाव जिन्दावाद । त्यसपछि पर्चा छरे । उनी र उनका साथीहरुलाई तुरुन्तै गिरफ्तार गरेर जेल हालियो । अपराधसिद्ध गर्न ६८ पृष्ठ लामो निर्णय गर्दै तिन जनालाई फाँसीमा चढाईयो । भगतसिंहलाई फाँसी दिंदा उनी केवल २३ वर्षका थिए । भगतसिंह र उनका साथीहरुलाई फाँसी दिएपछि उनको बलिदान भारतीय स्वतन्त्र संग्रामका लागि ठूलो प्रेरणा बन्यो । देशभरका युवा जागे । महात्मा गान्धी र सुभासचन्द्र बोसहरुको आन्दोलनमा थप बल पुग्यो । अंग्रेज साम्राज्य भारतमा सधै टिक्न सकेन । ती क्रान्तिकारीहरुलाई फाँसी दिएको १६ वर्षपछि अंग्रेज भारत छाडेर भाग्नु प¥यो ।
बिरसाको उल्गुलान आन्दोलन ।
सन् १९०० मा भारतको इतिहासमा विरसालाई एक मुन्डा आदिवासी स्वतन्त्र सेनानीको रुपमा लिइन्छ । उनको जन्म सन् १८७५ मा भारतको झारखण्डमा एक गरिब आदिवासी परिवारमा भएको थियो । त्यसबेला भारतमा ब्रिटिसले राज गरिरहेका थिए । १९ औं शताब्दीको शुरुवातबाट अंग्रेजले मुन्डा आदिवासीको जल, जमीन र जंगल हडप्न शुरु ग¥यो । स्थानीय जमिनदारले अंग्रेजलाई साथ दिए । आफ्नो आदि भूमि बचाउन केवल उमेरले २० नाघेका मुन्डा समुदायका विरसाले जमिन्दार र ब्रिटिस विरुद्ध आन्दोलन थाले । ब्रिटिस सैनिकसँग बन्दुकहरु थिए । विरसाले आफ्ना धनुसवाणले उनीहरुको विरुद्ध आन्दोलन थाले ब्रिटिस सैनिकसँग बन्दुक थियो । विरसाले धनुषवाणले उनीहरुको विरुद्ध आन्दोलन थाले । त्यसैबेला त्यहाँ हैजा फैलियो । हैजा फैलिएपछि अंग्रेजले मुन्डाहरुलाई भने विरसाले तिमीहरुलाई यस्तो बनाएको हो । शुरुमा अंग्रेजको कुरा उनीहरुले पत्याए । भाग्यलाई ईश्वरलाई उनीहरुले दोष दिए । तर विरसाले हैजासँग लड्ने आदिवासी ज्ञानतिर उनीहरुलाई लगेर गए । त्यसपछि मुण्डा समुदायले विरसाको कुरा पत्याउन थाल्यो । मुन्डाले विरसालाई भगवान झैं मान्न थाले । उनीहरुले विरसालाई धर्ती आवा अथवा धर्ती पिता नै मान्न थाले । विरसा अवरोध बनेपछि उनी विरुद्ध ब्रिटिसले पाँच हजार रुपियाँ इनाम राखे । उनी भूमिगत भै मुण्डाहरुलाई संगठित गरे । अन्ततः ब्रिटिस सैनिकले उनी सहित चारसय भन्दा धेरै मुन्डाहरुलाई जेलमा कोचे । विरसालाई हैजाले म¥यो भनियो । तर इतिहासकार भन्छन् कि २५ वर्षका उनलाई जेलमै विष खुवाएर मारिएको थियो । उनका बारेमा महास्वचेता देवीले उपन्यास लेखेकी छन् । जंगलले दावेदा भन्ने । उनको बारेमा फिल्म र नाटकहरु पनि बनेका छन् । अंग्रेज र जमिन्दारबाट आफ्नो कृषि बचाउन, आफ्नो जमिन बचाउन, आफ्नो भूमि बचाउन ती युवाले गरेको आन्दोलनले आज पनि धेरैलाई झकझकाईराखेको छ । आज पनि विहार, झारखण्ड, उडिसा, छत्तिसगढतिर विरसालाई भगवानको रुपमा पुजा गरिन्छ । सन् २०२१ देखि विरसा जन्मिएको दिनलाई जनजातीय गौरव दिवसको रुपमा पनि मनाउन थालिएको छ ।
स्पार्टाकसको दास विद्रोह
२१ सय वर्ष अघि मानव सभ्यता दासयुगबाट गुज्रिरहेको थियो । दास र मालिकमा विभक्त भएको तात्कालीन समाजमा अहिलेको बुलगेरियामा पर्ने स्ट्राइमोन नदी किनारमा एक जना दासको ई.पू. १०३ मा जन्म भयो । उनको नाम थियो – स्पार्टाकस । उनका बारेमा धेरै लिखित दस्तावेज त छैनन् । हावर्ड फास्टले ‘स्पार्टाकस’ शीर्षकमा विशाल संसार प्रशिद्व उपन्यास लेखेका थिए । उनका बारेमा सन् १९५१ मा उपन्यास स्पार्टाकस लेखेका थिए । हालको इटालीमा त्यतिबेला रोमन दास मालिकले शासन गरिरहेका थिए । स्पार्टाकस युवा भएपछि रोमन सैनिकमा भर्ना भए । उनले सैनिक छाडेपछि समाएर उनलाई दास बनाइयो र गलाडिकटर मालिकको मनोरञ्जनका लागि ढाल र तरवार लिएर सार्वजनिक ठाउँमा आपसमा लड्ने लडाकुमा भर्ना गरिदियो । उनी त्यो निकृष्ट खेल खेल्न बाध्य भइरहे । मालिकहरु रक्त मुछेल भएका खेलाडी हेरेर मजा लिन्थे । एक दिन स्पार्टाकस सहित २०० दासहरु भागे । त्यस मध्ये ७८ जना मात्रै भाग्न सफल भए । बाँकी रहेका दासको नेतृत्व स्पार्टकसले गरेर रोमन सैनिकबाट हतियार खोसे । आल्पस पहाडमा गई तालिम गरे । रोमन सैनिकसँग लडेर केही स्थानहरुमा विजय पनि हासिल गरे । उनका बारेमा धेरै विवरणहरु नभएपनि इतिहासकारहरुका अनुसार उनले रोमन सैनिकलाई पराजित गर्दै ७० हजार दास र अन्य समूहका मानिसको एक समूह बनाएको भन्ने बताइन्छ । उनले रोमन सत्तालाई ठूलो चुनौती दिए । रोमन सैनिक विरुद्ध यद्ध लड्ने क्रममा ई.पु. ७१ मा उनको सैनिक पराजित भयो र उनी मारिए । त्यसबेला उनी केवल ३२ वर्षका थिए । उनी सँगै हजारौं दासहरु मारिए । रोमन सैनिकलाई पराजित गरी सम्पूर्ण दासलाई मुक्त गर्ने उनको त्यो अभियान त्यसबेलाका लागि त रोकियो तर समयको प्रवाहलाई सधैका लागि रोक्न मालिकहरु सफल भएनन् । अन्नतः रोममा दास युग ढलेर समाज अघि बढ्यो । दास युग अन्त्य गर्ने आदि विद्रोहीको रुपमा स्पार्टाकसको नाम आज पनि संसारभर प्रेरणाको रुपमा लिइन्छ ।
अरब बसन्त विद्रोह (२०१०)
विश्व राजनीतिक इतिहासमा अरब बसन्त (अरव स्प्रिड) को अलग्गै स्थान छ । सन् २०१० मा शुरु भएको त्यो आन्दोलन एक जना फुटपाथ व्यापारीको आत्महत्याबाट शुरु भएको थियो । टयुनिसियाको सिंढी बौजिद शहरमा २६ वर्षे फुटपात व्यापारी मोहम्मद बुअजीजी नाम गरेकाले फलपूmल र तरकारी बेच्थे । मध्यम गरिब परिवारका उनको ठेलागाडा प्रहरीले लग्यो । प्रहरीले सार्वजनिक ठाउँमा उनलाई थप्पड मारेको थियो । आफूमाथि अन्याय र अपमान भएको भन्दै उनी सरकारी कार्यालयमा गुनासो गर्न पुगे तर कुनै सुनुवाई भएन । अपमान सहन नसकी अनि सरकारी कार्यालय अघि नै आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाए । गम्भीर अवस्थामा उनलाई अस्पताल त पुराइयो तर उनको ज्यान बचाउन सकिएन । उनको मृत्युपछि टयुनिसीयाका शहरमा स्वतस्फूर्त मानिस सडकमा निस्कन थाले । उनको आत्महत्या पछि सामाजिक संजालमा व्यापक विरोध हुन थाल्यो । सामाजिक संजालले त्यो विद्रोहको विउलाई संसारभर फैलायो । त्यसपछि त्यो आन्दोलनले ठूलो रुपलियो । अन्ततः २३ वर्षदेखि शासन गर्दै आएका जिन एल अविविन बेल अलिको शासन पतन भयो । त्यसपछि छिमेकी लिवियामा फैलिएको क्रान्तिको ज्वाहरमा मुहम्वद गद्दाफीको ४२ वर्षीय शासन पनि बढारिन पुग्यो । आन्दोलनको डढेलो अघि इजिप्तका शासक होस्नी मुबारकको ३२ वर्षे शासन पनि टिक्न सकेन । मोहम्मद बुअजीजीको आत्महत्याले सामाजिक संजाल ततायो । आन्दोलनको आँधीबेहरी शुरु भयो । ट्युनिसीयाको शासक भागेर छिमेकी देशको शरणमा पुग्यो भने टयुनिसीयाको आन्दोलनले छिमेकी राष्ट्रहरुलाई पनि फटाफट लपेटोमा पा¥यो र वर्षौं शासन गरेर बसेका शासकहरुको सत्ता खरानी सरह उड्यो । आन्दोलनको डढेलोले अरब मुलुकका सबै शासकहरुको मुटुमा ढ्यांग्रो बजाएको थियो । छिमेकी अरब मुलुक लिविया, इजिप्ट, यमन, बहराईन, सिरियामा सत्ता पल्टियो । ठूलाठूला विद्रोह भए । इराक, अल्जेरिया, मोरक्को, लेवनान, जोर्डन, कुवेत, ओमानमा ठूलठूला प्रदर्शन भए। बुआजीजीलाई प्रतिकात्मक नामको रुपमा सम्झना गरिन्छ ।
श्रीलंकाको जेनजी आन्दोलन (२०२२)
श्रीलंकाको जेनजी आन्दोलन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट शुरु भएको थियो । भ्रष्टाचार, नातावादबाट आक्रोशित मानिसहरुले राष्ट्रपति गोटावाय राजापाक्षेको परिवार र उनीहरुले नेतृत्व गरेको सरकार जिम्मेवार रहेको भन्दै प्रदर्शन गरेका थिए । गाउँगाउँबाट प्रदर्शनका लागि युवाहरु राजधानी कोलम्बो आए । युवाहरुले सडक कब्जा गर्दै राष्ट्रपति भवनभित्र समेत घुसेर प्रदर्शन गरे । सन् २०२२ मा ११३ दिनसम्म चलेको आन्दोलन पछि राजपाक्षे भागेर सिंगापुर पुगे । करिव तीन महिना चलेको प्रदर्शनले दुई दशक भन्दा लमो समय श्रीलंकामा राज गरेको राजापाक्षे परिवारको एकलौटी शासनलाई अन्त्य ग¥यो । सन् २०२४ मा भएको आम निर्वाचनमा पुराना दलका नेता पराजित भए । परम्परागत राजनैतिक र आर्थिक अभिजात वर्गको विरोध गर्दै आएका अनुश कुमारा दिशानायकले चुनाव जिते । हाल श्रीलंका तंग्रिने अवस्थामा छ ।
बंगलादेशको जेनजी आन्दोलन (२०२४)
दक्षिण एसियाको अर्को देश बंगलादेशमा पनि जेनजीले आन्दोलन गरे । सन् २०२४ जुन ६ गतेदेखि चलेको आन्दोलन अगस्त ३ अर्थात् करिब दुई महिनासम्म चलेको थियो । गत २३ जेठमा उच्च अदालतले स्वतन्त्र सेनानीका सन्तानलाई निजामति सेवामा ३० प्रतिशत आरक्षणको व्यवस्था गर्ने आदेश दिएसँगै बंगलादेशका विद्यार्थीको आन्दोलन शुरु भएको थियो । सन् २०२४ मा निलम्वन गरिएको यस व्यवस्थालाई त्यहाँको उच्च अदालतले पुनस्र्थापित गरेको थियो । त्यसपछि बंगलादेशका विद्यार्थीले आन्दोलन गरेका थिए । यो आन्दोलन स्टुडेन्ट अगस्ट डिसिक्रमिनेशनले संयोजन गरेर निस्क्रयमा पुग्यो । आन्दोलनका कारण तात्कालिन प्रधानमन्त्री सेख हसिना भागेर भारतको शरण लिन पुगिन । हाल बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनिसको नेतृत्वमा अन्तरिम सरकार गठन भएर काम सुचारु गरेको छ ।
केन्याको जेनजी आन्दोलन (२०२४)
पूर्वी अफ्रिकाको देश केन्या (२०२४) को जुन १८ देखि अगस्ट ८ सम्म करिव दुई महिना लामो प्रदर्शन भयो । सरकारले कर वृद्धि गर्न ल्याएको आर्थिक ऐनविरुद्ध जेन जी युवाले आन्दोलन शुरु गरे । कर वृद्धि फिर्ता र भ्रष्टाचार विरुद्ध जवाफदेहिता माग्दै आन्दोलन शुरु भएको थियो । प्रदर्शनको क्रममा २५ जुनमा प्रदर्शनकारीले संसद भवन प्रवेश गरे । आगजनी गरे । जसको प्रतिक्रियास्वरुप प्रहरी कार्वाहीमा २५ जना भन्दा बढीको ज्यान गयो । राष्ट्रपति विलियम रुटोले विवादस्पद विल फिर्ता लिए । आन्दोलन मत्थर हुँदै गए पनि भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न सरकार अग्रसर भएन । जसका कारण गत जुनदेखि केन्याली जेन जीहरु फेरि आन्दोलित भइरहेका छन् ।
सर्वियाको जेनजी आन्दोलन (२०२४)
यूरोपियन देश सर्वियामा ३ नोभेम्बर २०२४ देखि शुरु भएको आन्दोलन दश महिना एक हप्तासम्म चलेको थियो । नोभेम्बरमा नोभी साद शहरमा छत भत्किएर एक रेल दुर्घटनामा १६ जनाको मृत्यु भयो । एक जना गम्भीर घाइते भए । यो घटनाबारे सबै भन्दा पहिलो विद्यार्थी बोले । पीडितहरुका लागि शान्तिपूर्ण जमघट गरे । मृतकलाई श्रद्धाञ्जली दिए । शान्तिपूर्ण जमघटमा सहभागीलाई निगरानी र धम्की गिरफ्तारी गरियो । शोक प्रतिरोधमा रुपान्तरण भयो । उक्त घटनाको जवाफदेहिताको माग र राज्यस्तरीय भ्रष्टाचारविरुद्ध विद्यार्थीले आन्दोलन शुरु गरे । १५ मार्च २०२५ इतिहास मै सबै भन्दा धेरै मान्छे प्रदर्शनमा सहभागी भए । आन्दोलनमा जेनजी समूह धेरै नै सहभागी भए । यो प्रदर्शनलाई अमेरिकी राजनैतिक विश्लेषक तथा प्राध्यापक एरिका चोनोवेथले संयमित नेतृत्वविहीन प्रदर्शन भनेका थिए ।
मंगोलियाको युवा आन्दोलन (२०२५)
मंगोलियामा बढेको भ्रष्टाचार र प्रधानमन्त्री लुभससान्नाम्स्रेन ओयुन एदनेको परिवारको विलाशी जीवनलाई केन्द्रित गर्दै गत मार्चदेखि आन्दोलन शुरु भयो । प्रदर्शन मार्च २४ देखि जुन ३ सम्म चल्यो । उक्त आन्दोलनमा विद्यार्थी र युवा नेतृत्वमा सामाजिक संजालमार्फत् अभियान समेत चलाइयो । संसदमाथि दबाब सिर्जना गरियो । करिव ५९ हजारले हस्ताक्षर गरेर दबाब दिएपछि ३ जुन २०२५ मा संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत पारित ग¥यो । जसका कारण डेमोक्रेटिक पार्टीको गठबन्धन सरकारबाट प्रधानमन्त्री ओयुन एर्दनेले राजीनामा दिए ।
इण्डोनेसियाको आन्दोलन (२०२५)
इण्डोनेसियामा २०२५ अगस्त २५ मा संसदले पाउने विलासीतापूर्ण भत्ता सुविधा आर्थिक असमानता विरद्ध आन्दोलन शुरु भयो । देशका ५८० सांसदले तलवका अतिरिक्त मासिक पाँच करोड इण्डोनेसिया रुपियाँ तीन हजार अमेरिकी डलर आवास भत्ता पाउने रिपोर्ट बाहिरिएपछि आक्रोशित युवा पुस्ता सडकमा उर्लियो । सांसदहरुले पाउने भत्ता देशका विपन्न क्षेत्रका मानिसले पाउने मासिक न्यूनतम ज्याला भन्दा लगभग २० गुणा धेरै हो । यो तथ्यांक हालै मात्र सार्वजनिक भयो । जसले प्रदर्शनको रुप झनै बढायो । नेतृत्वविहीन शुरु भएको यो आन्दोलनमा युवाहरुको व्यापक समर्थन र सहभागिता थियो । प्रदर्शन हिंसात्मक बन्दै देशका ३२ प्रान्तमा फैलियो । प्रदर्शनकै क्रममा सामाजिक संजालमा मोटर साइकल चालक माथिको भिडियो भाइरल भएपछि आक्रोश लहर सुरुक्षा बल विरुद्ध सोझियो । त्यसपछि हिंसा झनै भड्कियो । प्रदर्शनको नतिजाको रुपमा सरकार संसद सुविधा कम गर्न बाध्य भयो । आन्दोलनका क्रममा ११ जनाको मृत्यु भयो । केही घाइतेहरु समेत भए । हाल त्यहाँको आन्दोलन कमजोर भएको देखिन्छ ।
नेपालको जेनजी आन्दोलन (२०२५)
भदौको दोस्रो सातातिर सरकारले फेशबुक लगायत २६ सामाजिक संजाल बन्द गर्ने निर्णय ग¥यो । युवा पुस्ता माझ लोकप्रिय रेडिट, टिकटक र डिस्कर्डमा केही भिडियो भाइरल भयो । ती भिडियोमा भ्रष्टाचारी नेताका छोराछोरीको विलासी जीवनशैली देखाइएका थिए । भिडियोहरु सामाजिक संजालमाथिको नियन्त्रण लगायतको विरुद्ध थिए । त्यहीसम्म नेपो वेबी टे«ण्ड पनि शुरु भयो । जुन टिकटक र रेडिटमा फैलियो । पछि भर्चुअल आक्रोशलाई सडकमा उतार्न केही युवाले माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरे । सरकारले फेशबुक लगायत सामाजिक संजाल बन्द गर्ने निर्णय ग¥यो । त्यसपछि भ्रष्टाचार र सामाजिक संजाल प्रतिबन्द विरुद्ध जेनजी युवा (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका) सडकमा उत्रिए । काठमाडौं केन्द्रित जेन जी युवाको प्रदर्शन एकैदिन देशैभरी फैलियो । तर सरकारले दमन गर्दा एकै दिन १९ जना को ज्यान गयो । करिव चारसय जना घाइते भए । दोस्रो दिन भौतिक संचरना ध्वस्त भए । युवाको आन्दोलनले दोस्रो दिन भाद्र २४ गते प्रधानमन्त्री केपी ओलीले राजीनामा दिन बाध्य भए । त्यसपछि जेनजीको छनोटमा सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन भयो । जेन जीले दुई दिनमै सत्ता पलट गरी दिएपछि अव नेपालको राजनीतिले कुन मोड लिने हो भनेर अकर्मन्यताको स्थिति उत्पन्न भएको छ ।
(नोटः प्रस्तुत सामग्री विभिन्न वेभसाइट र सामाजिक संजालको समेत सहयोगमा तयार गरिएको हो )