क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अब सिपी गजुरेल गौरव

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले जेनजी विद्रोहको दौरानमा भएको हत्या, बाह्य हस्तक्षेप र नेपाली सेनाको भूमिकाको कडा आलोचना गरेको छ। असोज २९ देखि कात्तिक १ गतेसम्म काठमाडौँमा सम्पन्न बैठकले समसामयिक प्रस्तावहरू पारित गरेको हो।

गत भदौ २३ र २४ गते भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै भएको जेनजी विद्रोहमा ७८ जना निहत्था नागरिक मारिएकोमा पार्टीले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। बैठकले पीडित परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूलाई निःशुल्क उपचार उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ।

महासचिव सीपी गजुरेल ‘गौरव’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनविरोधी भ्रष्ट शासन व्यवस्थाका कारण भएको विद्रोहमा साम्राज्यवादी तथा विदेशी शक्तिहरूको व्यापक संलग्नता र हस्तक्षेप भएको पार्टीको ठहर छ। बैठकले यस्तो बाह्य हस्तक्षेपको कडा शब्दमा विरोध एवम् निन्दा गरेको छ।’

नेपाली सेनाले सुरक्षाको जिम्मा पाएका राष्ट्रपति भवन र सिंहदरबारजस्ता महत्त्वपूर्ण संरचनाहरूमा आगजनी हुँदा पनि मूकदर्शक बनेको र पछि राजनीतिक अग्रसरता लिई देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै पार्टीले सेनाको गैरजिम्मेवार प्रवृत्ति र राजनीतिक भूमिकाको कडा आलोचना तथा भर्त्सना गरेको छ।

यसैगरी, नेपालको भू-भाग लिपुलेकलाई चीन र भारतले द्विदेशीय व्यापारिक नाकाको रूपमा सञ्चालन गर्ने सहमतिले नेपालको स्वाधीनता र अखण्डताको उल्लङ्घन गरेको भन्दै पार्टीले आपत्ति जनाएको छ।

चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा गरिएको जथाभावी वृद्धिलाई तुरुन्त नियन्त्रण गर्न र वस्तुहरू सर्वसुलभ गराउन पनि सरकारसँग माग गरिएको छ।

त्यस्तै, यस वर्षको भारी मनसुनी वर्षाका कारण भएको बाढी पहिरोबाट पीडित जनतालाई उचित सहयोग प्रदान गर्न र क्षतिग्रस्त संरचनाहरूको तत्काल पुनर्निर्माण गर्न सरकारसँग पार्टीले माग गरेको छ।

यसैगरी पार्टीले हमास-इजरायल शान्ति सम्झौताको स्वागत गर्दै हमासलाई निःशस्त्र गर्ने सर्तको विरोध गरेको छ। बैठकले रुस-युक्रेन युद्धको अन्त्य गर्न आव्हान गर्दै युक्रेनको स्वाधीनताको पक्षमा समर्थन गर्ने जनाएको छ।

उता, भारतको लद्दाखलाई स्वशासित राज्यको स्तर प्रदान गर्नुपर्ने माग राखेर भएको प्रदर्शनमा भारतीय सरकारद्वारा गरिएको हत्या र दमनको भर्त्सना गर्दै गिरफ्तार नेता सोनाम वाङ्चुकको तत्काल रिहाइको माग गरिएको छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?