थोपाहरूको युद्धघोष

(कविता)

लेखक –जितामित्र सुनार
थोपाहरूको युद्धघोष
झिम झिम पानी झर्छ,
आकाश रुँदैन — जाग्छ,
धरती रुँदैन — गर्जिन्छ।

हराभरा वातावरण
परिवर्तनको सुगन्ध बोकेर
मानव जीवनमा
आशा भर्छ।
थोपाहरू — बन्दुकको गोली जस्तै,
पुरानो शासनको छाती पड्काउँछन्।
वर्षाको पररर् आवाज —
लाखौं जनताको ताली जस्तै।
रूखका पातहरू नारा लगाउँछन् —
ूतिम्रो शासन मक्कियो !
ूजनताको शासन आउँदै छ
ूजनताको शासन जिन्दाबाद !
आकाश मडारिन्छ,
चट्याङको गर्जनसहित
मुसलधारे पानी बर्सिन्छ।
सडकहरूमा भेल बग्छ —
कुहिएको सत्ता बगाउँदै।
मलाई लाग्छ —
यो भेल
शासनको अन्त्य र
जनताको विजयको उद्घोष हो।

म — टाउको उठाएर उभिएको छु,
खुला आकाश मुनि उभिएको छु,
छाता होइन — मुठी ओढेको छु।
यो पानी — मेरो हतियार,
यो आकाश — मेरो साथी,
यो धरती — मेरो युद्धभूमि।
सारा जगत — युद्धको पक्षमा,
न्यायपूर्ण युद्ध र
शान्तिको लागि।

झिम झिम पानीमा
हामी मार्च गर्छौं,
नारा गगनमा उचाल्छौं,
युद्धपिपासुहरूलाई
यही भेलमा डुबाउँछौं।
र, हरेक बूँदसँग
एक नयाँ बिहानी जन्माउँछौं
एउटा सुन्दर संसार बनाउँछौ ।



जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?