
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठक २०८२ श्रावण १२ देखि १९ गतेसम्म सम्पन्न भएको छ । बैठकले देशको तात्कालिक राजनैतिक परिस्थिति, सङ्गठन, सङ्घर्ष सहित कैयौं समसामयिक विषयमाथि महत्वपूर्ण निर्णयहरु गरेको छ । २०८२÷४÷२० गतेका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले सार्वजनिक गरेको प्रेस विज्ञप्तिबाट सो कुराको जानकारी भएको हो । विज्ञप्तिमा अमेरिकी साम्राज्यवादको युद्धपिपासु नीतिको विरोधमा आवाज उठाउन उत्पीडित राष्ट्र, जनता तथा राजनैतिक शक्तिहरु सबैलाई अपील गरिएको छ । सरकारले संसदमा प्रस्तुत गरेको भूमि विधेयक भूमाफिया तथा नव धनाढ्यहरुको स्वार्थ अनुकूल भएको र वास्तविक सुकुम्वासी, भूमिहीन किसान तथा भूमिहीन दलितहरु यसबाट लाभान्वित नहुने भएकोले यसलाई खारेज गर्न विज्ञप्तिमा माग गरिएको छ । आषाढ ५ गते देशव्यापी रुपमा पार्टीद्वारा उद्घाटन गरिएको भ्रष्टाचार विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन बैठकले असिमको नेतृत्वमा पाँच सदस्यीय जनसङ्घर्ष परिचालन समिति गठन गरेको र यो अभियान एक वर्षसम्म चल्ने बताइएको छ । अमेरिकी सरकारले नेपालमा आउने सबै प्रकारका अनुदानमाथि रोक लगाए पनि एमसीसीलाई निरन्तरता दिने निर्णय गरेको घटनालाई गम्भीररुपमा लिदै बैठकले यो परियोजना नेपालमा सैन्य अखडा स्थापना गरी चीनलाई घेराहाल्ने नीति रहेको ठहर गरेको छ ।
कार्यवाहक महासचिव गौरवद्वारा जारी वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –
“क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठक २०८२ श्रावण १२ देखि १९ गतेसम्म कार्यबाहक महासचिव कमरेड गौरवको अध्यक्षतामा बस्यो । देशको तात्कालिक राजनैतिक परिस्थिति, सङ्गठन, सङ्घर्ष सहित कैयौं समसामयिक विषयमाथि गम्भीर छलफल गरी बैठकमा गरिएका कतिपय महत्वपूर्ण निर्णयहरुलाई सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।
१) अमेरिकी साम्राज्यवादले केही समय यता इजरायललाई उक्साएर प्यालेस्टाइन र इरानमाथि हमला गरायो । इजरायली विस्तारवादी सरकारले ७० हजार भन्दा बढीको जातीय नरसंहार गर्नुको साथै गाजाक्षेत्रमा राहत सामग्री पु¥याउन जानेहरुलाई रोकेर बालबालिका तथा वृद्धवृद्धाहरु सहित लाखौं जनतालाई मृत्युको मुखमा धकेलिरहेको छ । दुई जना पत्रकार सहित राहत सामग्री लिएर गएको आइकोरको २१ जनाको टोलीलाई इजरायली आतंकवादी सेनाले रोकेर अज्ञात ठाउँमा बन्दी बनाएको र जहाज नियन्त्रणमा लिएर राहत सामग्री कब्जा गरेको छ । हाम्रो पार्टी इजरायली विस्तारवादको यो कार्यको घोर भत्र्सना गर्दछ र राहत सामग्री प्यालेस्तिनी जनतासम्म पु¥याउन र गिरफ्तारीमा परेकालाई बिनाशर्त रिहाइ गर्न माग गर्दछ । इजरायल तथा अमेरिकाले इरानमाथि सैन्य हमला गरेपछि स्थिति विकराल बनेको छ र तेस्रो विश्वयुद्धको खतरा मडारिएको छ । हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको युद्धपिपासु नीतिको विरोधमा आवाज उठाउन उत्पीडित राष्ट्र, जनता तथा राजनैतिक शक्तिहरु सबैलाई हार्दिक अपील प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता माथि घात पु¥याउने सन्धि हुन गयो भने त्यो नेपाली जनताको लागि स्वीकार्य हुने छैन ।गर्दछ ।
२) परराष्ट्रमन्त्री पटकपटक दिल्ली धाएर प्रधानमन्त्रीको भारत भ्रमणका लागि निम्तो दिन आग्रह गर्दा पनि त्यसलाई इन्कार गर्दै आएको मोदी सरकारले अहिले प्रधानमन्त्री केपी ओलीलाई भदौमा भ्रमणका लागि निम्तो दिएको र प्रधानमन्त्रीले पनि निम्तो स्वीकार गरी भ्रमणको तयारी गरिरहेको भन्ने समाचारहरु आएका छन् । यस भन्दा पहिले भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्रीहरु एकाध बाहेक प्रायः सबैले राष्ट्रघाती सन्धि सम्झौता गरेर फर्केको पृष्ठभूमिलाई हेर्दा केपी ओलीले पनि राष्ट्रघाती सम्झौता नगर्लान् भन्न सकिने स्थिति छैन । भारतले बाँकी रहेका नेपालका नदीहरु र सुपुर्दगी सन्धिमा हस्ताक्षर गराउन लामो समयदेखि तयारी गरिरहेको चर्चा सार्वजनिक भइरहेका छन् । यदि प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता माथि घात पु¥याउने सन्धि हुन गयो भने त्यो नेपाली जनताको लागि स्वीकार्य हुने छैन ।
३) सरकारले संसदमा प्रस्तुत गरेको भूमि विधेयक भूमाफिया तथा नव धनाढ्यहरुको स्वार्थ अनुकूल भएको र वास्तविक सुकुम्वासी, भूमिहीन किसान तथा भूमिहीन दलितहरु यसबाट लाभान्वित नहुने भएकोले यसलाई खारेज गर्नु पर्दछ । कतिपय सांसदहरुले त्यसका विरुद्ध संसदमा आवाज उठाएका छन, त्यो सकारात्मक कुरा हो । यो जनविरोधी विधेयकका विरुद्ध आवाज बुलन्द गर्न हाम्रो पार्टी आम जनतामा आह्वान गर्दछ ।
४) प्रतिनिधि सभाबाट पारित भएको कुलिङ् पिरियड सम्बन्धी कानुनलाई राष्ट्रिय सभाबाट उल्ट्याउन गरिएको षडयन्त्र सरकारको भ्रष्टाचारलाई मलजल गर्ने एउटा कदम हो । हाम्रो पार्टी यसको घोर विरोध गर्दछ ।
५) भिजिट भिसा जस्ता लज्जास्पद राष्ट्रघाती प्रकरणमा उच्चपदस्थ मन्त्रीहरु नै संलग्न रहेको, कैयौं प्रमाणित भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको, सिंहदरबार नै भ्रष्टचारको अखडा बनेको र कमिशनका लागि शिक्षा, स्वास्थ्य तथा राष्ट्रिय उद्योगहरुलाई निजीकरण गरी दलाल पुँजीपतिहरुलाई पोस्ने काम हुँदै आएकोले यस बैठकले नेपालमा भ्रष्टाचार संस्थागत भएको ठहर गरेको छ । गत आषाढ ५ गते देशव्यापी रुपमा पार्टीद्वारा उद्घाटन गरिएको भ्रष्टाचार विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन बैठकले कमरेड असिमको नेतृत्वमा पाँच सदस्यीय जनसङ्घर्ष परिचालन समिति गठन गरेको छ । यो अभियान एक वर्षसम्म चल्ने छ ।
६) अमेरिकी सरकारले नेपालमा आउने सबै प्रकारका अनुदानमाथि रोक लगाए पनि एमसीसीलाई निरन्तरता दिने निर्णय गरेको छ । यो परियोजना नेपालमा सैन्य अखडा स्थापना गरी चीनलाई घेराहाल्ने हिन्द प्रशान्त रणनीतिको एउटा हिस्सा हो । यसबाट देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा पैदा हुनुका साथै यसमा प्राकृतिक स्रोत साधन कब्जा गर्ने र नेपाललाई अमेरिका तथा चीनका बीचको रणभूमी बनाउने उद्देश्य लुकेको छ । हाम्रो पार्टी यसको तीव्र विरोध गर्दछ र यसका विरुद्ध लामबद्ध हुन सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारी शक्ति तथा व्यक्तित्वहरुलाई हार्दिक अपील गर्दछ ।
७) हाल विद्युत प्राधिकरणले ६÷६ घण्टासम्म लोडसेडिङ गर्ने तयारी गरिरहेको छ र दिनहुँ पटकपटक विद्युत लाइन काटेर जनतालाई हैरान पार्दै आएको छ । यो नेपालमा विद्यूत कम भएर होइन, दलाल पुँजीपतिहरुबाट अकूत कमिशन कुम्ल्याउनका लागि विद्यूत प्रधिकारणलाई निजीकरण गर्ने वातावरण बनाउन चालिएको सरकारी षडयन्त्र हो । हाम्रो पार्टी यसको घोर विरोध गर्दछ र यस षडयन्त्रका विरुद्ध उभिन आम जनतालाई आह्वान गर्दछ । ”