भ्रष्टाचार विरुद्ध अभियान

-सीपी गजुरेल
सामान्यतया भ्रष्टाचार भनेको व्यक्तिगत लाभका लागि सामाजिक मूल्य मान्यतालाई परित्याग गरी गरिने क्रियाकलाप हो । घुस लिने र दिने कुरालाई मात्र भ्रष्टाचार भन्ने मानिसहरुले बुझ्ने गर्दछन् । भ्रष्टाचारको अर्थ केवल घुसमा मात्र सीमित छैन । समग्र भ्रष्ट आचरण भ्रष्टाचार हो । प्रतिक्रियावादी संरचनामा कानुन् ,नीति ,नियम बनाउँदा भ्रष्टाचार गर्न मिल्ने ठाउँ राखिएको हुन्छ । त्यसलाई नीतिगत भ्रष्टाचार भनिन्छ ।
गत जेष्ठ ६ देखि ८ गते सम्म हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिटव्यूरोको बैठक बसेको थियो ।त्यो बैठक र त्यसपछिको स्थायी समितिको समेत बैठकले भ्रष्टाचार विरुद्ध अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । पि.बि. र स्थायी समितिको बैठकको निर्णय अनुसार हाम्रो पार्टीले असार ५ गतेदेखि भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेको छ । अहिले नेपालमा भ्रष्टाचार घटनाहरु व्याप्त भएका छन् । माथिल्लो स्तरका नेता र कर्मचारीहरु भ्रष्टाचारमा मुछिएका घटनाहरु छताछुल्ल भइरहेका छन् । जनतामा पनि भ्रष्टाचारका विरुद्ध विरोध र आक्रोशको भावना बढिरहेको छ । जनताले पसिना बगाएर जम्मा गरेको सम्पत्तिलाई, आफ्नो कमाईको अंश काटेर राज्यलाई तिरेको करबाट जम्मा भएको बजेटलाई दूरोपयोग गर्ने काम गरिएको छ ।
सरकारको हिसाब किताब हेर्ने महालेखा परीक्षक, संसदीय लेखा समिति,भ्रष्टाचार निवारण आयोग जस्ता भ्रष्टाचार सम्बन्धी सरकारी निकायहरु छन् । जतिसुकै भ्रष्टाचार हेर्ने निकायहरु भए पनि प्रतिक्रियावादी पुँजीवादी व्यवस्थामा ती निकायहरुले भ्रष्टाचारीलाई जोगाउने ,संरक्षण गर्ने ,भ्रष्टाचार लुकाउने काम पनि गरिरहेका हुन्छन् । ती निकायहरुले शोषणमूलक समाजमा शोषक वर्गले गरेका लुटलाई वैधानिकता दिने काम पनि गरेका हुन्छन् । सत्ताको दूरुेपयोग गरेर देशको सम्पत्ति लुटिरहेका हुन्छन् ।
सरकार स्वयमले संस्थागत भ्रष्टाचारलाई संरक्षण गरिरहेको छ ।
वाइडवडी प्रकरणमा संसदीय लेखा समितिको रिपोर्टलाई आत्मसाथ गरेर दोषीहरुलाई कारवाहीको दायरामा ल्यानुको साटो उल्टै संरक्षण दिनमा सरकार तल्लिन रहेको नेपाली जनताले देखेका छन् ।
विगतमा मन्त्री रवीन्द्र अधिकारीलाई वाइडबडी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक लेखा समितिको निर्णय नमानेर आयोग गठन गर्नेतिर लागेका थिए ।
गाँस, बास, कपास एवंम स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता पूरा गराउन तिर ध्यान नदिई सरकार जनतामाथि चर्को करको भार थप्नुको साथै भ्रष्टाचारी, बलात्कारी, कमिशनखोरीको संरक्षणमा लागेको छ ।
केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारले करको दायर बढाएर करको भारी जनतालाई थुपारेका छन् । त्यसैले सामन्ती प्रवृतिका व्यक्तिका लागि मात्रै अहिलेको व्यवस्था सुहाउँछ ।
विदेशी कम्पनीको स्वामित्व रहेको एनसेलसँग राजस्व असुल्न नसक्ने र नेपालीलाई करको चर्को जालोमा फसाउने गरेका छन् ।
प्रचण्डले विगतमा क्यान्टोनमेन्टमा १० हजार मात्र जनमुक्ति सेना भए पनि ढाँटेर १९ हजार पाँच सय छन् भन्दै तिनको नाममा आउने मासिक तलव, भत्ता लिएर अरवौं भ्रष्टाचार गरेको कुरा दुनियाँले थाहा पाउने गरी सार्वजनिक भएकै थियो ।
साढे तीन अर्ब रुपियाँ खर्च भएको कुरा कमाण्डरहरुले बताए पनि प्रचण्डले त्यसको जवाफ दिन सकेनन् । त्यो प्रकरणमा नेपाली कङ्ग्रेस र एमालेले यसको विरोध नजनाउनुले झन् रहस्यमयी बनेको थियो ।
देशका प्रधानमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, सचिव भएका व्यक्तिहरुलाई भ्रष्टाचारका मुद्दा लागेका छन् । के.पी. ओलीको सरकार छँदा झापामा गिरीबन्धु टि स्टेटको सरकारी जग्गा अर्को जग्गासित साट्न पाइने निर्णय गराएर भू–माफियाहरुलाई अरबौं कमाउन अवसर प्रदान गरे । नेपाली जनतालाई भुटानी बताएर नेपालको स्वाभीमान नै गिर्नेगरी मानव तस्करी गर्ने कार्यमा उच्च ओहदाका व्यक्तिहरु लागेको प्रमाणित भयो । जो घटना भुटानी शरणार्थी प्रकरणबाट चर्चित छ । कैयौं पटक काठमाडौंको अन्तर्राष्ट्रिय एयरपोर्टमा सुन पक्राउ हुन्छन् । जफत गरिएकै सुन पनि गायव भइरहेको घटना छन् । काभ्रेमा पतञ्जलीको कम्पनीलाई माधव नेपाल प्रधानमन्त्री भएका बेला जग्गा दिलाउने काम भयो । तर लगत्तै दुई महिनापछि त्यो जग्गा बिक्री गर्न पाइने पनि सरकारले निर्णय ग¥यो । बालुवाटारको सरकारी निवासको जग्गा विक्री वितरणमा प्रधानमन्त्रीहरु, अर्थमन्त्री, मुख्य सचिव मुछिएका छन् । तर मुख्य व्यक्तिहरुलाई कार्वाहीको प्रक्रियामा ल्याउने काम भएन । यस्ता तमाम भ्रष्टाचारबाट देशलाई खोक्रो पार्ने काम भएको छ । अहिले भ्रष्टाचार विकेन्द्रित भएको छ । गाउँपालिका, नगरपालिका र वडा, टोलसम्म भ्रष्टाचार झाँगिएको छ ।
हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत सालको चैत्र ४ देखि यस वर्षको वैशाख( १८ मइ दिवसको दिनसम्म डेढ महिने जनसम्बन्ध विस्तार अभियान संचालन गरेको थियो ।
त्यस अभियानमा हामीलाई जनताले भ्रष्टाचारका बारेमा प्रशस्त कुराहरु सुनाएका थिए । हामीले असार ५ गतेदेखि भ्रष्टाचार विरुद्ध अभियान संचालन गरेका छौं । सुरुमा हामीले प्रचारात्मक प्रकारका कार्यक्रम, चेतनामूलक प्रकारका कार्यक्रम जस्तै पर्चा वितरण, कोणसभा, जनभेटघाट, ज्ञापनपत्र आदि हुनेछन् । दोस्रो चरणमा हामीले भ्रष्टाचारीहरलाई भण्डाफोर गर्ने छौं, चेतावनी दिनेछौं र तेस्रो चरणमा जनताको सहयोगमा जनताकै उपस्थितिमा भ्रष्टहरुलाई कार्वाही समेत गर्न सकिने छ ।
भ्रष्टाचारलाई हटाउने मुख्य उपाय भनेको वर्तमान प्रतिक्रियावादी राज्यव्यवस्थामा आमूल परिवर्तन हो । यो प्रतिक्रियावादी संसदीय व्यवस्थालाई हटाएर त्यसका ठाउँमा निजी सम्पत्तिको मोह गर्नु नपर्ने, सामूहिक श्रम र सामूहिक स्वामित्वलाई जोड दिने अत्यन्त नैतिकवान र सुसंस्कृत समाजको निर्माण गरेर नै भ्रष्टाचारलाई समूल अन्त्य गर्न सकिन्छ ।निजी सम्पत्तिको मोहले भ्रष्टाचारी बनाउने हो । निजी सम्पत्तिकै मोह नहुने समाज व्यवस्थामा भ्रष्टाचार हटेर जानेछ ।
अर्को कुरा अहिलेको व्यवस्था भित्र पनि भ्रष्टाचारविरोधी अभियान चलाएर कानुनी संघर्ष गरेर पनि केही हदसम्म भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ । तर यो अस्थायी, अल्पकालीन प्रकारको र सुधारात्मक मात्र हुन्छ । यस्ता सुधारात्मक आन्दोलन पनि चलाउँदै नयाँ जनवाद र समाजवाद स्थापना गर्ने उद्देश्य सहितको आमूल परिवर्तनको आन्दोलनमा पनि लाग्न जरुरी छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?