कावासोतीमा, १०-दिने ICT-BootCamp सफलतापूर्वक सम्पन्न, ३६ विद्यार्थीले पाए व्यावहारिक सिप

कावासोती २ स्थित शिव नमुना माध्यमिक विद्यालयमा सञ्चालन भएको १० दिने ‘आइटी बुट क्याम्प तथा जागिर मेला कार्यक्रम’ बुधबार सम्पन्न भएको छ। सूचना प्रविधिलाई आधार मानेर सञ्चालित तालिममा जिल्लाका ३६ जना विद्यार्थी सहभागी भएका थिए। तालिममा चार नगरपालिका र चार गाउँपालिकाबाट चयन गरिएका विद्यार्थीलाई आवासीय रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।

तालिममा वेभ डिभलपमेन्ट, साइबर सुरक्षा, जाभा स्किल, सुरक्षित इन्टरनेट प्रयोग, इमेल र एप्लिकेसनहरूमा हुने सम्भावित जोखिम र त्यसबाट जोगिने उपायबारे व्यावहारिक ज्ञान दिइएको थियो। प्रशिक्षकका रूपमा सूचना प्रविधि विज्ञ इन्जिनियर योगेश रायमाझी, इन्जिनियर केशव प्रसाद मैनाली, इन्जिनियर सनोज श्रेष्ठ र रिपेस अधिकारीले तालिम सञ्चालन गरेका थिए।

प्रशिक्षकहरूको दृष्टिकोण

यस तालिममा प्रशिक्षण प्रदान गर्ने हामी प्रशिक्षकहरू GrepBit Tech Consulting Pvt. Ltd. (Grepbit.com) बाट आएका हौँ। हाम्रो संस्थाले सूचना प्रविधिको क्षेत्रमा लामो अनुभव र दक्षता हासिल गर्दै आएको छ र यस तालिमको उद्देश्य विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक, व्यावसायिक र विश्वस्तरीय सिप प्रदान गर्नु थियो।

इन्जिनियर योगेश रायमाझी र इन्जिनियर केशव प्रसाद मैनालीका अनुसार तालिमको प्रारम्भिक चरणमा सहभागीहरूलाई वेभ डिभलपमेन्ट को आधारभूत संरचना बुझाउने काम गरियो, जसमा HTML, CSS, JavaScript का मुख्य अवधारणा मात्र होइन, आधुनिक वेभ डिजाइनका सर्वोत्तम अभ्यासहरू सिकाइयो। त्यसपछि वेभ डिभलपमेन्टसँग जोडिएका नेटवर्किङका पक्षहरू विस्तृत रूपमा पढाइयो — जस्तै DNS (डोमेन नेम सिस्टम) को कार्यपद्धति, डोमेन कसरी वेभ सर्भरमा नक्सा हुन्छ भन्ने प्रक्रिया, र प्रोक्सी सर्भरहरू को प्रयोगले सुरक्षामा कस्तो भूमिका खेल्छ भन्ने विषयमा प्राविधिक ज्ञान दिइयो।
 
साथै विद्यार्थीहरूलाई सुरक्षित इन्टरनेट प्रयोग सम्बन्धी अन्तरदृष्टि दिइयो। ईमेलहरूमा आउने फिसिङ म्यासेजहरू पहिचान गर्ने तरिका, अनलाइन एप्लिकेसन र उपकरणहरूका अधिकारिकता (authenticity) कसरि पुष्टि गर्ने भन्ने कुरा व्यवहारिक अभ्यासमार्फत सिकाइयो। विद्यार्थीहरूले प्रत्यक्ष रूपमा कसरी आफ्नो अनलाइन गतिविधिलाई सुरक्षित बनाउन सकिन्छ भन्ने कुरा सिक्न पाए।

तालिममा बेसिक वेभ डिभलपमेन्ट लाई गहिराइमा बुझाउने प्रयास गरियो, जसमा वेभ होस्टिङका विभिन्न प्लेटफर्महरू (जस्तै cPanel, cloud hosting), डोमेन व्यवस्थापनको प्रक्रिया, र Github प्रयोग गरेर कोड भर्सन कन्ट्रोल र सहकर्मीहरूसँग मिलेर काम गर्ने अभ्यास गराइयो। Github मा प्रोजेक्ट कसरी अपलोड गर्ने, ब्रान्च र मर्ज कसरी गर्ने भन्ने कुरा प्रत्यक्ष सिकाइयो जसले उनीहरूलाई आधुनिक सफ्टवेयर डिभलपमेन्ट प्रक्रियामा आत्मविश्वासी बनायो।

उहाहरूका अनुसार, यस्ता तालिमहरूले विद्यार्थीहरूलाई केवल राष्ट्रिय प्रतिस्पर्धामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा रोजगारी र उद्यमशीलताको अवसरहरू पक्रन सक्षम बनाउँछ। साथै उहाहरूले यस्तो तालिमलाई अझ दीर्घकालीन, स्तरीय र नवीनतम प्रविधिसँग अद्यावधिक गर्दै निरन्तर सञ्चालन गर्नुपर्ने र भविष्यमा एडभान्स वेभ फ्रेमवर्कहरू (जस्तै React, Angular) र क्लाउड कम्प्युटिङको आधारभूत ज्ञान पनि समावेश गर्नुपर्ने सुझाव दिनुभयो।

GrepBit Tech Consulting Pvt. Ltd. को तर्फबाट प्रशिक्षकहरूले अन्त्यमा यस्तो कार्यक्रमले विद्यार्थीहरूको सीप, आत्मविश्वास र अन्तर्राष्ट्रिय मापदण्डमा काम गर्न सक्ने क्षमता बढाएको उल्लेख गर्दै भविष्यमा यस्ता तालिमहरूलाई अझ व्यापक बनाउँदै लैजान प्रतिबद्धता जनाए।

विद्यार्थीहरूका अनुभव र उपलब्धि:
प्रतियोगितामार्फत छनोट भएका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरियो। प्रथम भएका रत्न राज्य माविका सुमित चापागाईँले १० दिनमै वेभसाइट बनाउन सक्ने आत्मविश्वास बढेको र विद्यालय तथा संघसंस्थाका साइट निर्माणमा योगदान दिन तयार रहेको बताए। द्वितीय भएका अर्जुन सापकोटाले तालिमले आफूलाई नयाँ कुरामा दक्ष बनाएको र प्रविधिको क्षेत्रमा अगाडि बढ्न थप हौसला दिएको बताए। राजु रानाले ग्रामीण विद्यालयमा पढ्ने विद्यार्थीका लागि यस्तो अवसर पाउनु ठूलो कुरा भएको अनुभव सुनाए।

समापन समारोह र अधिकारीहरूको धारणा:
समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले प्रविधिमूलक सिप प्रदान गर्ने यस्तो तालिम सराहनीय भएको बताए। वडा अध्यक्ष शिव पाण्डेले विद्यार्थीले सिकेको सिपलाई विद्यालय र समुदायबाट प्रोत्साहन गर्दै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका महाशाखा प्रमुख प्रकाश देवकोटा, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, शिक्षा विकास तथा समन्वय इकाई नवलपुर प्रमुख दीपेन्द्रराज श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेललगायतको उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले तालिम प्रभावकारी भएको र अन्य विद्यालयबाट पनि माग आइरहेको जनाउँदै आगामी दिनमा मन्त्रालयसँग समन्वय गरी थप स्तरीय र दीर्घकालीन तालिम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अगस्ट ब्लाङ्की

अगस्ट ब्लाङ्की

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?