असार ५ गतेदेखि देशव्यापी ‘भ्रष्टाचारविरोधी अभियान’ सफल पार्न जनसमुदायमा अपिल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै एक अपिल जारी गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अपिल गरेको छ ।
यस्तो छ अपिलको पूर्णपाठ ः

“हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत पीबीे बैठकको निर्णय अनुसार २०८२ साल असार ५ गतेदेखि देशव्यापी रुपमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न गइरहेको छ । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन हामी सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग हार्दिक अनुरोध गर्दछौं ।

भ्रष्टाचार विरोधी अभियान किन ?
हाम्रो देश भ्रष्टाचारबाट आक्रान्त भएको छ । देशमा भ्रष्टाचार नभएको र नहुने कुनै निकाय छैन । मन्त्रालय, प्रशासनिक तथा स्थानीय निकायहरू, अड्डा अदालत, प्रहरी प्रशासन, विकास निर्माणका काम जहाँ जाउँ त्यहाँ भ्रष्टाचार छ, घुसखोरी ब्याप्त छ । घुस नदिँदासम्म जनताले सामान्य एउटा सिफारिस पनि पाउँदैनन् । यसलाई नियन्त्रण गर्ने निकाय देशको सरकार हो । तर स्वयम् सरकार नै भ्रष्टाचारमा संलग्न रहँदै आएको छ । सरकारमा सामेल भएका मात्र होइन, केही अपवाद बाहेक प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका नेताहरु समेत भ्रष्टाचारबाट मुक्त छैनन् । भुटानीकरण काण्ड, ललिता निवास काण्ड, सहकारी ठगी काण्ड, गिरीबन्धु टिस्टेट काण्ड, भिजिट भिसा काण्ड लगायत दर्जनौं काण्डहरूले यही कुराको पुष्टि गर्दछन् । यतिसम्म कि भ्रष्टाचार गर्न र त्यसबाट प्राप्त रकम बाँडफाँड गर्न सफ्टवेयर समेत विकास गरिएको कुरा चर्चामा आइरहेको छ ।

यी घटनाक्रमहरुले के कुरा प्रष्ट गर्दछन् भने नेपालमा भ्रष्टाचार संस्थागत रूपबाट विकास भएको छ र त्यसको नेतृत्व सरकारले गरिरहेको छ । सरकारमा सामेल राजनीतिक पार्टी तथा प्रतिपक्षमा रहेका राजनीतिक पार्टीका नेताहरू पनि संस्थागत भ्रष्टाचारको पक्षमा रहेका हुनाले नेपालमा भ्रष्टाचारको विषय अत्यन्तै गम्भीर बन्न गएको हो । भ्रष्टाचारले गर्दा नै देशका सम्पूर्ण विकास निर्माणका कामहरू जति हुनसक्थे त्यति पनि हुन सकिरहेका छैनन् र विदेशी ऋणको भार वर्षेनी बढ्दै गएको छ । देशमा विकासको काममा गति दिनका लागि भ्रष्टाचारलाई रोक्नु पहिलो सर्त हो । तर स्वयम् सरकार, त्यसमा संलग्न पार्टी तथा हिजो सरकारमा र अहिले प्रतिपक्षमा रहेका पार्टीका नेताहरु समेत संस्थागत भ्रष्टाचारको पक्षमा भएको हुनाले आम जनता नै भ्रष्टाचारीका विरुद्ध संघर्षमा नउत्रिएसम्म देशमा भ्रष्टाचार कम हुनेवाला छैन । त्यसकारण हाम्रो पार्टीले भ्रष्टाचारका विरुद्ध अभियान सञ्चालन गर्न आवश्यक ठानेको हो । यस भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन र विभिन्न ढंगबाट यस अभियानलाई सहयोग गर्न हामी सम्पूर्ण जनसमुदायसँग हार्दिक अपील गर्दछौँ ।

आदरणीय जनसमुदाय
हामी तपाइँहरूलाई यो कुरा पनि स्पष्ट गर्न चाहन्छौं कि यो प्रतिक्रियावादी संसदीय व्यवस्था र बुर्जुवा गणतन्त्र भनेकै भ्रष्टाचारी, घुस्याहा र शोषक वर्गको हितगर्ने व्यवस्था हो । त्यसकारण यो व्यवस्था अन्तर्गत हुने भ्रष्टाचार विरोधी आन्दोलनले भ्रष्टाचारको न्यूनीकरण गर्न त संभव छ तर निर्मूल गर्न सक्दैन । देशमा संस्थागत ढंगले फैलिंदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न र त्यसका विरुद्ध जनतालाई सुसुचित गर्न हामीले भ्रष्टाचार विरोधी अभियान संचालन गर्न आवश्यक ठानेका हौं । देशलाई सधैका लागि भ्रष्टाचारबाट मुक्त गर्न हामीले संघीय जनगणतन्त्रको खुड्किलो पार गरी वैज्ञानिक समाजवादको स्थापना गर्नु अनिवार्य छ । वैज्ञानिक समाजवादले मात्र भ्रष्टाचारको पूर्ण उन्मुलन गर्नेछ ।”
२०८२/३/५
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
केन्द्रीय कार्यालय

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?