
मनु वि.क.,काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले देशको एकमात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, अग्रगामी धारको प्रतिनिधित्व गर्ने एक मात्र पार्टी रहेको बताउनु भएको छ । नेवा मुक्ति मोर्चाको २८औं स्थापना दिवशको कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट बोल्दै महासचिव गज्ुरेलले सो कुरा बताउनु भएको हो । उहाँले यथास्थितिवादी पार्टीहरुको कारण जनतामा व्यापक निराशास्वरुप जनताले प्रतिगामी शक्तिलाई समर्थन गर्ने स्थितिमा पुगेको बताउँदै प्रतिगामी शक्तिहरुको समर्थन गरेर वा यथास्थितिवादी शक्तिहरुको पछि लागेर देशको परिवर्तन नहुने कुरा उल्लेख गर्नुभयो । वहाँले यथास्थितिवादीहरुले जनताको क्रान्तिकारी उत्साहलाई समाप्त पार्दै लगेको बताउँदै जनतामा क्रान्तिकारी चेतनाको विकास गर्दै लैजानु पर्ने कुरामा जोड दिनुभयो र आफूहरु सँधै जनताको पक्षमा रहने वचनबद्धता पनि व्यक्त गर्नु भयो ।
अर्का अतिथि क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सिताराम तामाङले देशलाई जातीय ,क्षेत्रीय, लैंगिक उत्पीडनबाट मुक्त गर्न वर्गीय मुद्दा उठाउनु पर्ने बताउनु भयो ।

डा. जगदीशचन्द्र भण्डारीले नेवा मुक्तिमोर्चा स्थापना दिवसको महत्वबारे मन्तव्य सहित आफ्नो कविता वाचन गर्नु भएको थियो ।

त्यस्तै अर्का अतिथि नेवा दे दवुको अध्यक्ष पवित्र बज्राचार्यले नेपाल भाषामा सम्बोधन गर्दै नेवाहरु गणतन्त्र स्थापना भएपनि अधिकार प्राप्त गर्न नसकेको बताउनु भयो र नेवा मुक्तिको निम्ति संघर्ष गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सम्मानित हुनुभएका अर्का अतिथि महेशमान श्रेष्ठले जनयुद्ध व्यक्तिगत जागिर खान ,सुख सुविधा लिन गरिएको थिएन, जनताको सुख सुविधाकोलागि लडिएको थियो भन्दै अहिले माओवादी नेताहरु र माओवादीमा लागेर आफ्नो सुविधा लिन व्यस्त कार्यकर्ताहरु आफ्नो सुख सुविधामा लागेको बताउनु भयो र यथास्थितिबाट सबैले मुक्ति चाहेको भन्नु भयो ।

नेवा मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठको अध्यक्षता , स्वागत उपाध्यक्ष सुरेश श्रेष्ठ र महासचिव शिव श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा नेवा समुदायका महानुभावहरु ,बुद्धिजीवि,लेखकसहितको उपस्थिति रहेको थियो ।


