पार्टीको नीति, विचार र कार्यक्रमलाई जनतामा स्थापित गर्न जनसम्बन्ध विस्तार अभियान संचालन गर्न लागिएको हो

–चक्रपाणी शर्मा
२० नं. व्यूरो, प्रवास इन्चार्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
१) यहाँको जीवनको विगतलाई फर्केर हेर्दा यहाँले विद्यार्थी जीवनमा नै संगठनको महत्वलाई आत्मसात गरेको देखिन्छ । विद्यार्थी संगठनमा आबद्धता र कृयाशीलताबारे बताउनु हुन अनुरोध गर्दछु ?
-म २०२८÷२९ सालमा हाइस्कूल पढ्ने बेलामा कम्युनिष्ट पार्टीबारे सुनेको थिएँ । कम्युनिस्टहरु समानताका पक्षधर हुन्छन् भन्ने विषयले मलाई यो आन्दोलनतर्फ आकर्षित गरेको हो । २०३५÷३६ सालको पाकिस्तानी राष्ट्रपति भुट्टोको फासी प्रकरणपछि नेपालमा उठेको विद्यार्थी आन्दोलनमार्फत म सक्रियरुपमा अखिल (छैठौं) को सदस्य भएर अघि बढेको हुँ । अखिल (छैठौं) को ललितपुरको ठैवमा भएको राष्ट्रिय सम्मेलनको प्रतिनिधिको रुपमा भाग लिएको थिएँ । यस अघि २०३१ सालमा सुर्खेतमा भएको पंचायती व्यवस्था विरुद्धको ‘झुसे झोला काण्ड’ को नामले परिचित गिरफ्तारी अभियानमा वारेन्टेड भएपछि २०३२ साल वैशाख १ गते अछाम गई लगभग तीन महिना जति भूमिगत जीवन बिताएको थिएँ । सुर्खेतमा त्यतिबेला कम्युनिस्ट कार्यकर्ता तथा समर्थकहरुले उनीको झुस भएको झोला बोक्ने चलन चलेको थियो । सुर्खेतका केही ठाउँमा राजाका तस्वीर च्यातिएको भेटियो । पञ्चहरुले त्यसलाई निहुँ बनाएर यो काम पक्कै पनि “झुसे झोलेहरु” को काम हो भनेर कम्युनिस्ट समर्थक शिक्षक, विद्यार्थी, सर्वसाधारण जनता समेतलाई व्यापक गिरफ्तार गराएका थिए ।
२) तपाईंले शिक्षण पेशा र शिक्षक आन्दोलनको पनि अनुभव लिनु भएकोछ । त्यसबारे यहाँको अनुभव ?
–मैले २०३४ साल असारमा प्रमाणपत्र तह पास गरेपछि पश्चिम सुर्खेतको विद्यापुरमा रहेको निमाविमा २०३४ भदौदेखि २०३५ असारसम्म प्रधानाध्यापकको जिम्मेवारीमा रहेर काम गरें । त्यसपछि २०३५ साउनमा थप अध्ययनको लागि काठमाडौं आएँ । म आफू प्र.अ. रहेकै बेला २०३४ पुसमा निमाविलाई माविमा रुपान्तर गरें । २०३५–२०३६ सम्म काठमाडौंमा स्नातक पूरा गरेपछि पुनः २०३५ माघमा जनता माध्यमिक विद्यालय विद्यापुरमा मावि शिक्षकको रुपमा पठनपाठन शुरु गरे । यही बीचमा २०३७ चैतदेखि २०३८ असारसम्म राष्ट्रव्यापी शिक्षक आन्दोलन शुरु भयो । सुर्खेतको पश्चिमी क्षेत्रमा आन्दोलनको नेतृत्वको जिम्मा पूरा गरें । पुलिस प्रशासनको गिरफ्तारीबाट बच्न अर्ध भूमिगत जस्तै रहनुप¥यो । अन्ततः शिक्षक संगठन र सरकारबीच सम्झौता भयो र त्यो सम्झौताले आंशिक उपलब्धि हासिल ग¥यो ।
३) लामो समय टेलिकममा काम गर्नु भयो। त्यसबेला पनि तपाईले पार्टी संगठनलाई मद्दत गर्नु भयो कि ?
–म २०४० सालदेखि २०५५ को अन्तसम्म नेपाल दुरसंचार संस्थान (हालको नेपाल टेलिकम) को अधिकृत स्तरमा रही काम गरें । यही बीचमा संस्थानको नीति निर्माण तह (संचालक सदस्य) मा रहेर पनि जिम्मेवारी निर्वाह गरें । भूमिगतरुपमा पार्टी संगठनमा रहेर पार्टीलाई यथाशक्य आर्थिक, नैतिक सहयोग गरें ।
४) जनयुद्धकालमा कहाँ के कसरी काम गर्नु भयो ?
–म जनयुद्धमा प्रत्यक्ष सहभागी हुन पाइन । म पेशा र पेशापछि जनयुद्धको पक्षमा यथाशक्य सहयोग (आर्थिक, नैतिक) गर्ने काम निरन्तर जारी राखें ।
५) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा लामो समय देखि प्रवाश विभागमा काम गर्दै आउनु भएकोछ । राष्ट्रिय एकता महाधिबेशन पछि पनि यहाँलाई प्रवाश विभागकै ईन्चार्जशिप गर्ने जिम्मा परेको थाहा भयो । प्रवाशमा संगठनको कामलाई कसरी अगाडि बढाउने सोच्नु भएकोछ ?
–प्रवासमा ( भारत र सार्क बाहेक) १४ वटा देशमा पार्टीको जीवित सम्पर्क छ । थप ८÷१० वटा देशमा सामान्य सम्पर्क छ, त्यसलाई जीवित सम्पर्कमा बदल्न कोशिश गरिरहेका छौं । देशभित्र जस्तो प्रवासमा संगठन गर्न त्यति सजिलो छैन । अनेकौ. चुनौतीहरु छन् । खासगरी अध्ययन र कामको सिलसिलामा त्यहाँ रहेका साथीहरुसँग फुर्सदको समय अत्यन्त सीमित हुन्छ । भौतिकरुपमा बैठक गर्न असम्भव प्रायः नै हुन्छ । अक्सर गरी जुम मिटिङ मार्फत धेरै कामहरु गर्नुपर्ने हुन्छ । साथीहरुको समय व्यवस्थापन र बैठकको समय मिलाउन धेरै मेहनत गर्नुपर्ने हुन्छ । केही महिनाअघि यूरोप जाँदाको अनुभव छ–बेल्जियमका थोरै सदस्य भएको कमिटी र सानो भूगोल ठाउँमा पनि एउटा बैठक गर्न तीन दिन पर्खनु परेको थियो । अब प्रवासको काम अघि बढाउनको लागि वार्षिक कार्ययोजना तयार गरेर त्यही अनुरुप अघि बढ्छौं । सम्भव भएको ठाउँमा भौतिकरुपमा नै उपस्थित भएर काम गर्छौं ।
६) रूस – युक्रेन युद्ध सुरु भएको दुई वर्ष भन्दा लामो समय भयो । युक्रेनलाई नै सहभागी नगराई युद्ध अन्त्य बारे अमेरिका र रूसले भर्खरै साउदी अरवमा प्रारम्भिक वार्ता गरे । यो घटना सानो देश को सार्वभौमिकता माथि ठूला देशको बलमिच्याई होइन र ?
–युक्रेनमाथि रुसको हस्तक्षेप मूलतः साना राष्ट्रमाथिको सार्वभौमिकताको हस्तक्षेप हो र यसका विरुद्ध हामीहरुले निरन्तर आवाज उठाउनुपर्छ । रुसको हस्तक्षेपकारी नीतिको विरोध गर्नुपर्छ । नाटो (ल्ब्त्इ) र अमेरिकी उक्साहटमा युक्रेनले अस्वभाविक क्षति व्यहोरेको छ । यसको पनि समीक्षा गर्नुपर्छ । अहिले युक्रेनको सहभागिता विना रुस, अमेरिकी वार्ता शक्ति राष्ट्रहरुको दादागिरी हो । यसबारे साना राष्ट्रहरु र क्रान्तिकारीहरुले डटेर विरोध जनाउनुपर्छ ।
७) इजरायल – प्यालेस्टाइन युद्ध विराम पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र खाली गर्ने धम्की दिए । खरानीको थुप्रोमा बस्नु भन्दा सजिलो सित जीवन विताउने ठाउँमा जाऊ भनेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले त्यसको विरोध गरेको छ । किन बिरोध गर्नु परेको हो ?
–अहिले अमेरिकी साम्राज्यवाद आक्रामकरुपमा अघि बढिरहेको छ । प्यालेस्टीनी जनताको स्वतन्त्रता र सार्वभौमिकताको पक्षमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आवाज उठाएको छ र यसलाई निरन्तरता दिनुपर्छ । खासगरी अमेरिकीहरु त्यसमा पनि ट्रम्प सत्तामा आएपछि साना राष्ट्रहरुमाथिको प्रत्यक्ष हस्तक्षेप बढ्ने संकेतहरु देखा परेका छन् । राष्ट्रिय रुपमा क्रान्तिकारी शक्तिहरु, स्वाधीनताका पक्षधरहरु र अन्तर्राष्ट्रिय रुपमा साम्राज्यवाद विरोधी मोर्चालाई थप सुदृढ र एकताबद्ध गरेर प्यालेस्टाइन लगायत साना राष्ट्रहरुको पक्षमा मोर्चाबन्दी आवश्यक छ ।
८) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पूर्ण बैठक भर्खरै सम्पन्न भएको छ । बैठकको मूल्यांकन गर्नु पर्दा के भन्नु हुन्छ ?
–समग्रमा बैठक सफलतापूर्वक सम्पन्न भएको छ । विगतका कमीकमजोरीहरु सच्चाउँदै विगतको पार्टी एकता र हालै सम्पन्न एकता महाधिवेशनको मान्यता अनुरुप पार्टीलाई थप सुदृढ, एकताबद्ध र क्रान्तिकारी विचार र कार्ययोजनालाई मूर्त रुप दिनुपर्छ । यो मान्यता पूरा गर्न बैठक सफल भएको छ भन्ने लाग्दछ ।
९) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी चैत्र १ गते देखि वैशाख १८ गते सम्म “जन सम्बन्ध विस्तार अभियान” सन्चालन गर्दै छ । यो अभियानलाई प्रभावकारी बनाउन के गर्नु पर्दछ भन्ने ठान्नु हुन्छ ?
–पार्टीको नीति, विचार र कार्यक्रमलाई जनतामा स्थापित गर्न जनसम्बन्ध विस्तार अभियान संचालन गर्न लागिएको हो । यसलाई प्रभावकारी बनाउन र कार्यक्रमको औचित्य स्थापित गर्न सम्पूर्ण पार्टी परिचालन गरेर गाउँवस्ती र शहरहरुमा पुग्नुपर्दछ । जनताको बीचमा गएर अभियानको उद्देश्य पार्टीले अघि सारेको नीति र कार्यक्रमको व्याख्या गर्नुपर्दछ । जनताले भोगिरहेका दैनिक समस्स्या र त्यसको निदानको बारेमा प्रष्टाउनुपर्छ । राष्ट्रिय स्वाधीनता, जनताको गणतन्त्र र जनजीविकाका विषयमा मसिनो गरी जनतालाई बुझाउनुपर्छ । यति गर्न सकियो भने पार्टीले अख्तियार गरेको जनविद्रोहको कार्यदिशालाई व्यवहारमा उतार्न सहज हुन्छ । यसको निम्ति अभियानमा खटिने सम्पूर्ण नेता कार्यकर्तामा बुझाईमा एक रुपता हुन जरुरी छ । यिनै कुराहरुलाई मध्यनजर गरेर अभियान संचालन गर्नुपर्छ र त्यो नै अहिलेको निम्ति अभियानको कार्यभार हो भन्ने लाग्दछ ।
१०) अन्त्यमा थप भन्नू केही छ कि ?
–लोकप्रिय प्रकाशन ‘हाँक’ मार्फत् विभिन्न विषयमा मेरो विचार राख्ने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । प्रकाशनले देश र जनताले भोगेका पीडालाई उजागर गर्दै त्यसको समाधानको लागि निरन्तर सामाग्रीहरु सम्प्रेषण गर्न नचुकोस् र सफल होओस् भन्ने शुभकामजना दिन चाहन्छु ।
धन्यवाद ।