अब बन्ने रास्वपाको सरकार पनि साम्राज्यवादको कठपुतली सरकार हो

0 देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई यहाँले कसरी हेरिरहनुभएको छ ?
–देशको पछिल्लो राजनीतिक घटनाक्रम अत्यन्त गम्भीर र संवेदनशील छ। भर्खरै निर्वाचनको परिणाम सार्वजनिक भएको छ। हामीले जे विश्लेषण गरेका थियौ करिब त्यही हाम्रो पूर्व अनुमान र विश्लेषण अनुरुप नै निर्वाचनको परिणाम आएको हामीले ठानेका छौं । यो निर्वाचन प्रायोजित र योजनाबद्ध छ भन्ने हामीले विश्लेषण गरेका थियौं आखिर त्यही नै भयो। भाद्र २३ र २४ गतेको जेन्जी विद्रोहको नाममा भएको विद्रोह साम्राज्यवादीहरूको योजनाको कार्यान्वयन थियो। त्यस विद्रोहको जगमा सासाम्राज्यवादीहरूको कठपुतली सरकार – सुशीला कार्की नेनृत्वको कठपुतली सरकार निर्माण भएको थियो । यस्तो कठपुतली सरकारले गराएको निर्वाचनलाई स्वीकार गरिनु हुँदैन । निर्वाचन बहिष्कार गर्नु पर्छ भनेर बहिस्कार गरेका थियौं । निर्वाचनबाट साम्राज्यवादका कठपुतलीहरूबहुमतमा आएका छन्। यसैका निम्ति त्यो चुनाव गरिएको थियो । राष्ट्रिय स्वाधिनताको लडाई लड्नुपर्ने बेला आएको हामीले ठानेका छौ।

० भर्खरको निर्वाचनबाट निर्वाचित भएर आएको रास्वपा र त्यस पार्टीसँग सम्बन्धित नेताहरु साम्राज्यवादीहरूका गोटी हुन भन्न खोज्नु भएको हो ?
– निस्चय नै । विभिन्न एनजिओ आइएनजीओहरु खोलेर साम्राज्यवादका मिसनहरूलाई पूरा गर्नका निम्ति धेरै पहिलेदेखि काम गरिएको थियो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको संयुक्त योजनामा आफ्ना साम्राज्यवादी र विस्तारवादी कामलाई अगाडि बढाउने काम भइरहेको थियो । त्यही योजना अनुसार आफ्ना एजेन्टहरूलाई वैधानिकता दिनका लागि यो चुनावको नौटंकी गरिएको थियो। अहिले बहुमत लिएर आएको पार्टीको पृष्ठभूमि, तिनले गर्दै आएका कामहरू, तिनीहरूले छरेका भ्रमहरु –यी सबै साम्राज्यवादी डिजाइनमै भएका हुन्। त्यहाँ भित्र पनि केही देशभक्तहरू होलान् । भोलिका दिनहरूमा त्यो कुरा चाहिँ स्पष्ट हुँदै जानेछ। यसको मूल उद्देश्य भनेको अमेरिकी साम्राज्यवादको नीति निर्देशनलाई पालना गर्ने हो । देखिहाल्नुभयो विगतमा साम्राज्यवादी परियोजना एमसीसी पारित गरियो । एसपीपी पारित हुन बाँकी थियो। नेपाली सेनाले एसपीपी सम्बन्धी केही प्रक्रिया अगाडि बढाएको छ । एसपीपीलाई पारित गर्ने , नेपालमा अमेरिकी साम्राज्यवादको सैनिक क्याम्प खडा गर्ने र दक्षिण एसियामा इन्डोप्यासिफिक स्ट्राटेजीको कामलाई अगाडि बढाउने त्यो सबै योजना अन्तर्गत नै यी कामहरु भइरहेका छन्। एम.सी.सी. सम्झौतामा जान सकिँदैन भनेर मन्त्रिपरिषदले भनिसकेपछि लगत्तै यो रास्वपा भन्ने पार्टी गठन भएको छ । विगतमा पुराना संसदवादी राजनीतिक दलहरूले पनि साम्राज्यवादको दलाली गरेका हुन् तर उनीहरुबाट मात्रै ती सबै काम पूरा नहुन सक्ने जस्तो देखिएपछि नयाँ दलाल र नयाँ पपेटलाई अगाडि सारिएको हो ।

० राष्ट्रिय स्वतन्त्र पार्टीले अब देश नयाँ हुन्छ। यहाँ भ्रष्टाचारको अन्त्य हुन्छ। रोजगारी हुन्छ। नेपाल अब नयाँ नेपाल हुने भयो भनेर भनिरहेको छ त ! त्यसो भए यी गफ मात्र हुन् त ?
–यस्ता लोकप्रिय कुरा गरेर मान्छेलाई आकर्षित गर्न सकिन्छ । भ्रम छर्न सकिन्छ । हाम्रो भूमि, हाम्रो राष्ट्रिय स्वाधीनता सबैभन्दा मुख्य कुरा हो। रोजगारी, विकास यस्ता कुरा नगरिकन मान्छेले भोट दिँदैन । हिजोका राजनीतिक दलहरुले पनि त्यही गर्थे । काङ्ग्रेस , एमाले, माओवादी केन्द्रले गरेका ज्यादती ,भ्रष्टाचार व्यथिति सबैले मानिसहरु वाक्क भएका थिए । जनताको त्यस किसिमको निराशा, हतोत्साहलाई उनीहरूले दुरुपयोग गरेर , अनि विकास निर्माण, सुशासन, भ्रष्टाचार विरोधी कुरा गरेर उनीहरुले जनतालाई आकर्षित गर्न सफल भए । मोबाइल, सामाजिक सञ्जाल आदिलाई प्रयोग गरेर नेपाली जनताको मानसिकतालाई कब्जा गर्न सफल भए। यो ७२ को संविधान नै जनताको संविधान होइन र जनताका आधारभूत समस्याहरु यसबाट सम्भव छैन । वर्तमान संसदीय व्यवस्थाको घेरा भित्रबाट जनताको समस्या समाधान हुनेवाला छैन । वास्तविक मुक्तिका लागि नयाँ जनवाद र वैज्ञानिक समाजवादकै बाटोमा जानुपर्दछ।

० विद्रोहबाट सत्ता लिनुपर्छ भन्ने कम्युनिष्टहरू पनि निकै कमजोर भएर गए । चुनाव लडेर बहुमत सिद्ध गर्नुपर्छ भन्ने कम्युनिस्टहरु पनि एकदमै कमजोर भएर गए र अब नेपालबाट कम्युनिस्टहरु पत्तासाप भएका छन् भन्ने भाष्य निर्माण गरिँदैछ के साँच्चै नेपालबाट कम्युनिस्टहरु अब समाप्त हुँदै गएका हुन् त ?

– एमाले र माओवादी केन्द्रले कम्युनिस्टहरूलाई बदनाम गर्ने काम गरे । कम्युनिस्ट सिद्धान्तलाई बदनाम गर्ने काम गरे । जहिले समाज समाज वर्ग रहन्छ त्यतिन्जेलसम्म वर्गीय आन्दोलन जारी रहन्छ। त्यसकारणले चुनावबाट कहिले को आउँछ कहिले को आउँछ यस्तो त भइरहन्छ। तपाईलाई थाहा छ काठमाडौँमा पञ्चायतकालमा नानी मैया दाहाल जस्ता पात्रहरुले पनि निर्वाचन जितेका थिए। चुनावमा कसको के कति प्रतिशत मत आयो कसले जित्यो हार्यो भन्ने कुराले मात्रै दीर्घकालीन रुपमा कम्युनिष्ट आन्दोलनलाई निर्धारण गर्दैन। क्रान्तिकारी विचार राख्ने राजनीतिक पार्टी, व्यक्तित्व, समूहहरूसँग सहकार्य गर्दै हामी अगाडि बढ्ने सोचाईमा छौँ।

० कम्युनिस्टहरू निर्वाचन लडेर निर्वाचनमा बहुमत प्राप्त गरेर आफ्नो उद्देश्यलाई लागू गर्न पनि नसक्ने र विद्रोहबाट पनि सत्ता कब्जा गर्न नसक्ने असफल आन्दोलन जस्तो भएन कम्युनिस्ट आन्दोलन ?
हामीले जनसंघर्ष प्रतिरोध सङ्घर्ष र जनविद्रोहको माध्यमबाट सत्ता निर्माण गर्ने र समाजका व्यथिति अन्याय, अत्याचारको अन्त्य गर्ने , जनताको व्यवस्था स्थापना गर्ने गरिकन हामीले हाम्रो कार्यदिशा तय गरेका छौ। कम्युनिस्टहरू सधैँ आफ्नो वर्गप्रति इमान्दार हुन्छन् तसर्थ हामी त्यो वर्गीय मुद्दालाई उठाएर जनसंघर्षलाई अगाडि बढाउछौं । हाम्रो जनसंघर्षलाई दमन गर्न प्रतिक्रियावादी सत्ता अवश्य पनि अगाडि आउनेछ । हामी त्यसलाई प्रतिरोध गर्नेछौं। प्रतिरोध संघर्षको बीचबाट हामीले शक्ति आर्जन गर्नेछौं र त्यसलाई सशस्त्र जनविद्रोहमा परिणत गरेर देशमा सत्ता निर्माण गर्नै छौं । यो कार्यदिशा हामीले तय गरेका छौं। त्यसो भएको हुनाले यो चुनावले मात्र आन्दोलनलाई त्यति धेरै चाहिँ महत्व राख्दैन भन्ने कुरा म राख्न चाहन्छु ।

(सूचनासञ्चार मिडियाका लागि चिन्ता मणि पौडेलसित आरोहले अन्तर्वार्ता लिनुभएको थियो । यो अन्तर्वार्ता मार्च २४ मा प्रसारण भएको थियो। अन्तर्वार्ता समय सान्दर्भिक ठानेर अन्तर्वार्ताको भाव र सारसंक्षेप यहाँ दिइएको छ। –सम्पादक)

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?