काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पाथीभरा गोली काण्डको विरोध गरेको छ । ताप्लेजुङ् पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गत माघ १२ गते नेपाल सरकारको गृहप्रशासनले अन्धाधुन्ध गोली प्रहारगर्दा दर्जन भन्दा बढी सर्वसाधारण जनता गंभीर घाइते भएका छन् । त्यस सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले माघ १९, २०८१मा एक प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ । वक्तक्य निम्न अनुसार छ –

“ताप्लेजुङ् पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गत माघ १२ गते नेपाल सरकारको गृहप्रशासनले अन्धाधुन्ध गोली प्रहारगर्दा दर्जन भन्दा बढी सर्वसाधारण जनता गंभीर घाइते भएका छन् । यस घटनाका घाइते मिक्लाजुङ–५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको टिचिङ अस्पताल, महाराजगन्जको सघन उपचार कक्षामा उपचार भइरहेको छ । अन्य घाइतेहरु पनि विभिन्न अस्पतालमा उपचाररत छन् । हाम्रो पार्टी यस गोलीकाण्डको घोर विरोध तथा तीव्र भत्र्सना गर्दछ । साथै, गोली चलाउन आदेशदिने गृह प्रशासकमाथि शख्त कार्बाही गर्न र सम्पूर्ण घाइते जनताको निःशुल्क उपचार गर्न सरकारसँग जोडदार माग गर्दछ ।
केबलकार निर्माणसँग सम्बन्धित यो आन्दोलन जनताको आस्था, संस्कृति, संस्कार र भावनासँग जोडिएको हुनाले बलप्रयोग गरेर यसको समाधान हुन सक्दैन । सीमित दलाल पुँजीपतिको पक्षमा उभिएर होइन स्थानीय जनतासँग बसेर आपसी सहमतिका आधारमा यस समस्याको समाधान खोज्न हाम्रो पार्टी सरकारसँग विशेष प्रेस–वक्तव्य माग गर्दछ ।”