बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नं. प्रदेशले नवनिर्वाचित पत्रकारहरुलाई शुभकामना र पार्टीको एकता महाधिवेशनको सन्देश कार्यक्रम सम्पन्न गरेको छ । ६ नं. प्रदेशका संयोजक दिपक बहादुर शाहीले मंसिर २ मा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–“२०८१ मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्र, प्रदेश, र जिल्ला तहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट शुभकामना व्यक्त गर्दछौँ । पत्रकारिताको गरिमा, निष्पक्षता, र जिम्मेवारीलाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रेरणा पाओस भन्ने शुभकामना व्यक्त गर्दछौँ ।

प्रिय पत्रकार मित्रहरु। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन २०८१ साल मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाकक्षमा सम्पन्न भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा महाधिवेशनले निम्नानुसारका समसामयिक प्रस्तावहरू पारित गरेको कुरा जानकारी गराँउछु । राष्ट्रिय सन्दर्भः १) नेपाल–भारतबीचको सैन्य भाइचाराबारे ः सन १९५० देखि नेपाल र भारतका स्थल सेनाका नवनियुक्त प्रधान सेनापतिहरूलाई एकअर्काका सेनाका मानार्थ प्रधान सेनापतिको दर्जा प्रदान गर्ने प्रचलन चलिआएको छ । माहाधिवेशनले यो हास्यास्पद र औचित्यहीन रहेको भन्दै खारेज गर्न माग गरेको छ । साथै, १९६२ देखि भारतीय विस्तारवादले कालापानी, लिपुलेक, र लिम्पियाधुरा कब्जा गरी सैन्य अखडा जमाएको घटनाको विरोध गर्दै फिर्ताको माग गर्दछ । २) सहकारी ठगीबारेः सहकारी संस्थाहरूको कमजोर अनुगमनका कारण सर्वसाधारणका धनराशी ठगी हुने अवस्था सामान्यजस्तै बनेको छ । सहकारी अपचलनमा संलग्न अपराधीहरूलाई कानूनी दायरामा ल्याई पीडितको रकम फिर्ता गराउन जोडदार माग गर्दछ । ३) आर्थिक तथा नीतिगत भ्रष्टाचारबारे ः नेपालमा भ्रष्टाचार संस्थागत भएको र यसले न्यायालय, संसदीय दल, कर्मचारीतन्त्र, र सुरक्षा निकायसम्म प्रभाव पारेको हुँदा भ्रष्टाचारमा संलग्नलाई कानूनी कारबाही गर्न र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । ४)मिटर ब्याजको समस्याः मिटर ब्याजका कारण उत्पीडनमा परेका मधेशका सर्वसाधारणका समस्या समाधान गर्दै पिडकहरूलाई कडा कारबाही गर्न माग गर्दछ । ५) शिक्षा, स्वास्थ्य, र रोजगारीः राज्यले शिक्षा, स्वास्थ्य, र रोजगारीजस्ता जनजीविकाका मुद्दामा जिम्मेवारी लिनुपर्ने, निजीकरण अन्त्य गर्नुपर्ने, र यी क्षेत्र सुधार गर्नुपर्ने माग गर्दछ ।
अन्तर्राष्ट्रिय सन्दर्भबारेः ६) प्यालेस्टाइन–इजरायल युद्धः इजरायलले प्यालेस्टाइनी जनतामाथि गरेको आक्रमण र दमनको कडा भर्त्सना गर्दै प्यालेस्टाइनी जनताको न्यायपूर्ण संघर्षमा ऐक्यबद्धता व्यक्त गरिएको छ । ७) रुस–युक्रेन युद्धबारेः रुस–युक्रेन युद्धमा रुसको सैन्य अतिक्रमणको विरोध गर्दै, युद्ध अन्त्यका लागि सम्बन्धित पक्षहरूलाई वार्तामा आउन आह्वान गरिएको छ ।
८) भाकपा (माओवादी माथिको दमनबारेः भारतले आदिवासी जनतामाथि गरेको दमन र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) विरुद्धको सैन्य अभियानको विरोध गर्दै आदिवासी अधिकारको पक्षमा समर्थन व्यक्त गरिएको छ। ९)जलवायु परिवर्तनबारेः जलवायु परिवर्तनका मुख्य कारक साम्राज्यवादी शक्तिहरूको विरोध गर्दै, यस समस्याको समाधानका लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । १०)फासिवादको बढ्दो प्रभावबारेः विश्वव्यापी रूपमा बढिरहेको दक्षिणपन्थ र फासिवादी प्रवृत्तिको विरोध गर्दै, त्यसका विरुद्ध संघर्ष गर्न संयुक्त मोर्चा निर्माण गर्न आह्वान गरिएको छ। ११).पेरुमा दमन र राजबन्दीहरूको रिहाइबारे ः पेरुका कम्युनिस्ट नेता र समर्थकहरूमाथि दमनको विरोध गर्दै, बन्दीहरूको रिहाइ र अमेरिकी हस्तक्षेप अन्त्य गर्न जोडदार माग गरिएको छ ।
स्थानीय संघर्षका मुद्दाहरूः
० भूमाफियाविरुद्ध अभियान सञ्चालन ।
०कृषि आधुनिकीकरण गर्दै उत्पादन संकलन केन्द्र स्थापना गरी उपभोक्तासम्म सहज वितरणको व्यवस्था ।
० स्वास्थ्य र शिक्षा पूर्ण रूपमा निःशुल्क र अनिवार्य गर्न संघर्ष ।
०ठूला जमिनदारको जमिनमा क्रान्तिकारी भूमिसुधार लागू गर्न ।
०मिटर ब्याज, लागूऔषध, कालोबजारी, र तस्करीविरुद्ध संघर्ष ।
०भ्रष्टाचार, सहकारी ठगी, र अनियमितताविरुद्ध कारबाही ।
०चेलिबेटी बेचबिखन, देह व्यापार, र शिक्षा–स्वास्थ्य माफियाविरुद्ध संघर्ष ।
०उद्योग क्षेत्रको विकास र न्यूनतम ज्याला तथा मजदुर अधिकार सुनिश्चित गर्न पहल ।
० अवैध कारोबार, सिमानामा हुने ठगी, र नेपाली मुद्राको अपचलन रोक्न अभियान ।”