जय दाहाल/काठमाडौं : इच्छुक सांस्कृतिक प्रतिष्ठानको तेह्रौँ प्राज्ञसभा आज सम्पन्न भएको छ । प्रतिष्ठानको चन्द्रागिरि सभाकक्षमा आयोजित प्राज्ञसभाले कार्यसमितिका तर्फबाट सदस्यसचिव मोदनाथ मरहट्टाले प्रस्तुत गर्नुभएको वार्षिक कार्यक्रम, आ.व. २०८१-०८२का लागि अनुमानित बजेटलाई आवस्यक परिमार्जन सहित पारित गर्नुका साथै प्रतिष्ठनको गत आ.व.को वासलात सहितको लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको थियो ।

उक्त प्राज्ञसभाले आगामी दुई वर्षीय कार्यकालका लागि नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा प्रगतिवादी साहित्यकार हिरामणि दुःखी र सदस्यसचिवमा कवि तथा निबन्धकार मोदनाथ मरहट्टालाई निर्वाचित गरेको हो । कार्यसमितिका अन्य सदस्यहरूमा प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. नन्दीश अधिकारी, मित्रलाल पंज्ञानी, गौरी देवकोटा, पञ्चकुमारी परियार, शीला योगी र अनिल श्रेष्ठ रहनुभएको छ । दुःखी यस अघि पनि तीन वर्ष प्रतिष्ठानको अध्यक्ष रहिसक्नुभएको थियो ।
प्राज्ञसभालाई प्रतिष्ठानका संरक्षक समेत रहनुभएका क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य ‘चैतन्य’ तथा प्रतिष्ठानका सल्लाहकार एवम् क्रान्तिकारी कम्युनिस्ट पार्टीका बरिष्ठ नेता सि.पि.गजुरेलले सम्बोधन गर्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानीको अध्यक्षतामा सम्पन्न भएको सभालाई सदस्यसचिव मोदनाथ मरहट्टाले सञ्चालन गर्नुभएको थियो । सभामा प्राज्ञसदस्यहरूले वार्षिक प्रतिवेदन, बजेट, आगामी कार्यक्रम र प्रतिष्ठानले खेल्नुपर्ने भूमिकाका बारेमा विभिन्न सुझावहरू राख्नुभएको थियो ।

सभाले प्रतिष्ठानका प्राज्ञ शीला योगीले प्रतिष्ठानकै पूर्व अध्यक्ष प्रा.डा.ताराकान्त पाण्डेयको स्मृतिमा पुरस्कार स्थापना गर्नका लागि प्रस्ताव गर्नुभएको अक्षयकोष रकमलाई अनुमोदन गर्नुका साथै त्यसका निम्ति कार्यसमितिले तयार पारेको निर्देशिका सर्वसम्मतले पारित गरिएको थियो । उक्त अक्षयकोषबाट हरेक वर्ष ताराकान्त पाण्डेयको स्मृतिका अवसरमा प्रदान गरिने जनाइएको छ । पुरस्कार रू. एक लाख राशीका साथै सम्मानपत्र रहेको छ ।