इजरायलमा देशव्यापी आमहडताल,प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

एजेन्सी/तेल अभिभ : इजरायलमा देशव्यापी आमहडताल जारी रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामा रहेका बन्धकहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्नका लागि दबाब दिन यो हडतालको आयोजना गरिएको हो ।

हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकहरुको मृत्यु भएपछि ब्यापक जनआक्रोश रहेको छ । यसैबिच देशको सबैभन्दा ठुलो मजदुर संगठन हिटाडरुटले यो हडतालको आयोजना गरेको हो ।

तेल अभिभसहित देशका विभिन्न स्थानमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनकारीहरूले तेल अभिभको एक मुख्य क्षेत्रलाई रोकेका छन् ।

तथ्याङ्कमा हाल हमासको कब्जामा १ सय १ जना बन्धक रहेका छन् । यसमध्ये, ३५ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ ।

१ सय १ जनामध्ये ९७ जनालाई अक्टोबर ७ मा गरिएको हमलाको दौरान बन्धक बनाइएको थियो । ४ जना भने त्योभन्दा अघि नै हमासको कब्जा रहेका थिए । यसमध्ये पनि २ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको प्रधानमन्त्री कार्यालयको भनाई छ ।

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन
इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ ।

हातमा इजरायली झण्डा बोकेर तेल अभिभ, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए। प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको उनीहरूको आरोप छ। गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको थियो ।

आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको थियो । तर भीडले पछि पुलिस अवरोधहरू तोड्यो र तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध पारेका थिए। आन्दोलनकारीले टायर पनि जलाए ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा छवटा शव फेला पारेको बताएको थियो। शनिबार आइडीएफ उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारिएको उनीहरूको भनाई छ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?