काठमाण्डौ: कमरेड पुष्पलालको जन्म शत वार्षिकीको सन्दर्भमा उहाँको सम्मानमा नवज्योति मा.वि.मा आयोजित कविता वाचन कार्यक्रम भदौ ८ गते सम्पन्न भयो।विभिन्न स्थापित नवोदित कविहरुले ऊर्जाशील कविता वाचन गर्र्दै र कमरेड पुष्पलालप्रति सम्मान गर्दै देश र समाजमा विद्यमान र विकसित विकृति, विसंगति र विचलनमाथि गम्भीर प्रहार गरेका थिए ।कार्यक्रमको आयोजना कमरेड पुष्पलाल जन्म शत वार्षिकी राष्ट्रिय समारोह समितिका संयोजक कमरेड शिवप्रसाद भटराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अध्यक्षताको आसनबाट बोल्नु हुँदै कमरेड भटराई आज जुन कविता कविहरुले वाचन गर्नु भयो त्यसमा अन्याय, अत्याचार, असन्तुष्टी, अवसरवाद विरुद्ध कटाक्ष गरिएको छ र विद्रोह र आन्दोलनको माग गरिएको छ । यही कुरा कमरेड पुष्पलालले समग्र साहित्य र कविताले खेल्नु पर्ने भूमिका हो भन्ने गर्नु हुन्थ्यो । यद्यपि उहाँले कविता लेख्नु भएको थाहा छैन ।तर साहित्य सम्बन्धि उहाँको दृष्टिकोण शोषित पीडित जनता र राष्ट्रिय स्वाधिनताकाप्रति प्रष्ट थियो भन्नु भयो । उहाँले आफुले युवा उमेरमा कविता लेख्ने गरेको तर त्यसलाई सम्हालेर राख्न नसकेको बताउनु हुँदै साहित्य ‘स्वान्त सुखाय’ निम्ति भन्ने कुरा गलत पूँजीवादी भाष्य हो । साहित्यले जन जागरण ल्याउन र समाज परिवर्तनकालागि ठूलो भूमकिा खेल्छ । साँस्कृतिक आन्दोलनको निम्ति यसको ठूलो महत्व छ भन्ने कुरा प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन गर्नुहुँदै कमरेड पुष्पलाल राष्ट्रिय समारोह समितिका सचिव लोकनारायण सुवेदीले कमरेड पुष्पलालले देश र जनताका समस्या हल गर्न अघि सारेका तीनवटा महत्वपूर्ण हल हुनुपर्ने अन्तरविरोधहरु –देशीय सामन्तवाद,भारतीय एकाधिकार पूँजीवाद – (जसलाई हामी विस्तारवाद, प्रभूत्ववाद र हैकमवाद पनि भन्ने गर्छौं) र विश्वमै दादागिरी चलाउन अमेरिकी साम्राज्यवादबाट देशलाई मुक्त नगरी नेपाली शोषित पीडित जनता, राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका समस्या कुनै पनि हल हुँदैनन् । त्यसकै लागि क्रान्तिकारी कम्युनिष्टहरुको एकताको खोजी गरिएको हो र कमरेड पुष्पलालले वामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जन आन्दोलनको सही नीति अघि सार्नु भएको हो । त्यसको २०३६ साल, २०६२÷६३ सालमा सफल परीक्षण पनि भएको हो । सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने सुत्र अर्थात जोड्ने सोल्युशन पनि त्यसैमा छ । एकताको माला जपेर एकता हुने होइन । मिलनका सही विन्दहरु कुन कुन हुन् ती पुष्पलालले माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराका आधारमा अघि सार्नु भएका मूलभूत कुरामा खोजिनु पर्दछ भन्ने कुरामा विशेष जोड दिनु भएको थियो । त्यस कार्यक्रमको अन्त्यको अवसरमा उहाँले पुष्पलालप्रति समर्पित ‘नौलो क्रान्ति विचारको गहकिलो बाटो खनेको थियो’ भन्ने २०४७ मा रचना गरेको कविता वाचन गर्नुभएको थियो ।

कमरेड पुष्पलालप्रति अन्तर्राष्ट्रिय कम्युनिष्ट गीत बजाउँदै रातो सलामी अपर्ण गर्दै र देशको विभिन्न आन्दोलनमा शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै शुरु भएको यो महत्वपूर्ण कमरेड पुष्पलाल जन्म शताब्दी कविता वाचन कार्यक्रमा उपस्थित कविता वाचन गर्न र सुन्न उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरुलाई सादर स्वागत गर्नुृ हुँदै कमरेड पुष्पलालको संयुक्त जन आन्दोलनको नीतिलाई विद्यार्थी आन्दोलनको व्यवहारमा खरोउतार्ने पञ्चायती मण्डलेतन्त्रको अन्त्य गर्ने, स्वतन्त्र विद्यार्थी यूनियन गठन गर्न र महत्वपूर्ण शैक्षिक माग माग पूरा गराउने र निर्विकल्प भनिने गरेको सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थालाई जनमत संग्रहको कठघरामा उभ्भिन बाध्य तुल्याउने संयुक्त जन आन्दोलनका नेतृत्वकर्ता क.शरणविक्रम सामन्ती दलाल नोकरशाही पूजीवादी सत्ताका विरुद्ध सम्पूर्ण शोषित पीडित जनता र तिनलाई प्रतिनिधित्व गर्ने क्रान्तिकारी शक्तिहरु एक भएर सशक्तरुपमा लड्नुको कुनै विकल्प छैन भन्नु हुँदै त्यसका लागि सबै क्रान्तिकारीलाई कमरेड पुष्पलालको विचार वरिपरी गोलबन्द हुन जोडदार आह्वान गर्नुभयो ।
कमरेड पुष्पलाल जन्म शत वार्षिकी राष्ट्रिय समारोह समितिका सदस्य ९४ वर्षका वयोवृद्ध किसान आन्दोलनका योद्धा कमरेड नन्दन अर्यालले पनि २००९ सालदेखि २०१३ सालसम्म सामन्त वर्गको शोषण उत्पीडन विरुद्ध किसानको हितमा चलेको आन्दोलनको सम्मान गर्दै भोजपुरी भाषामा क्रान्तिकारी कविता सुनाउनु हुँदै केही अपवादलाई छाडेर विश्वकै कम्युनिष्टहरु आन्दोलन र देशको कम्युनिष्ट आन्दोलनमा नक्कली कम्युनिष्टहरु घुसाएर शोषित पीडित जनता र कम्युनिष्ट आन्दोलनको विरुद्ध षडयन्त्र गर्न साम्राज्यवाद सफल भइरेको छ । सावधानी र सचेततापूर्वक यसका विरुद्ध खडा हुनपर्ने आवश्यकता आज अझ बढेको महत्वपूर्ण कुरा औंल्याउनु भएको थियो ।
अत्यन्तै ऊर्जाशील र क्रान्तिकारी कविता वाचन गर्ने प्रगतिवादी तथा प्रगतिशील कविहरुमा बलराम तिमल्सिना, मित्रलाल पज्ञानी, मधु श्रेष्ठ, गौरा देवकोटा, विष्णु कुमारी नेउपाने, लक्ष्मण उप्रेती, रत्ननिधि रेग्मी, शिव कुमारश्रेष्ठ, मोहनबहादुर केसी, शरणविक्रम मल्ल र नरेशलाल अमात्य, गंगा कसजू, शिवकुमार श्रेष्ठ हुनुहुन्थ्यो । नवज्योति माविकी कक्षा ४ मा पढ्ने सानी बालिका लिडिया लिम्बु(पाँचथर)ले पनि आफ्नो कविता वाचन गर्दै देशको स्थितिबारे असन्तुष्टी पोखेकी थिइन् । अन्त्यमा अध्यक्षबाट कार्यक्रमको समापन भएको थियो ।
पुष्पलाल जन्म शत वार्षिकी राष्ट्रिय समारोह समितिले भाषा, साहित्य र सँस्कति र पुष्पलाल परिसम्बाद लगायत पुष्पलालले लिनु भएको दर्शन, दृष्टिकोण, विचार, सिद्धान्त र नीतिका विषयमा पनि छलफल तथा आर्थिक, राजनीतिक, सामाजिक एवं साँस्कृतिक परिसम्बाद गर्ने, पदयात्रा र पर्चा वितरण गर्ने तथा रक्तदान, स्वास्थ्य शिविर जस्ता सामाजिक कार्यक्रमहरु पनि गर्दै जाने दृढ संकल्प लिएको छ ।