अनु निरौला/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको आयोजनामा दोरम्बा हत्याकाण्डका महान सहिदहरुको स्मृति दिवस भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बरिष्ठ नेता सिपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले क्रुरतापुर्वक हत्या गरेका गरेका महान सहिदहरुको वीरता, सौर्यता, पार्टी र क्रान्तिप्रतिको निष्ठा र उच्च बलिदानको बारेमा विशेष चर्चा गरिएको थियो ।
केदार बुढाथोकीको अध्यक्षता र सुरेश अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ नेता गजुरेल, पार्टीका कार्यालय सदस्य रामसिंह श्रीस, कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, कार्यालय सदस्य नेता दिनेश शर्मा, प्रदेश ३ का पार्टी संयोजक अटल, रामेछापका इन्चार्ज लाङ्घाली मगर लगायतका वक्ताहरुले क्रान्तिमा सहिदहरुको बलिदानको महत्वका बारेमा विशेष चर्चा गर्नुभएको थियो ।
दोरम्बा हत्याकाण्डका २१ जना महान सहिदहरुको फोटोमा माल्यार्पणबाट सुरु भएको कार्यक्रममा सहिद परिवार खेमराज न्यौपानेको पनि उपस्थिति रहेको थियो । उहाँले सहिद परिवारहरुलाई आसनभन्दा पनि रासनको ज्वलन्त आवश्यकता रहेको भन्दै सहिद परिवारहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई उजागर गर्नुभयो ।
२१ जना महान सहिदहरुलाई बैठक बसिरहेको बेला २०६० साउन ३२ गते रामेछापको दोरम्बामा घर घेराहाली कब्जामा लिएर, हातखुट्टा बाँधेर, आँखामा पट्टी लगाएर गोली हानी क्रूरता र पाशविक तवरले हत्या गरिएको थियो । यो हत्याकाण्डलाई ‘मानवताविरुद्धको अपराध’ भन्दै चौतर्फी रुपम आलोचना भएको थियो । तर हत्याकाण्ड मच्चाउने शाही सेनाका अधिकारीहरुलाई भने राज्यले कारबाही गरेको छैन र पीडित परिवारहरुले पनि आवश्यक क्षतिपूर्ति पाएका छैनन् ।