काठमाडौं : अखिल (क्रान्तिकारी) र अखिल (छैटौं)को एकता भेला सम्पन्न भएकोछ । साउन ११ र १२ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालय कुपाण्डोलमा सम्पन्न भेलाले संगठनको नाम अखिल (क्रान्तिकारी) राखेको छ । भेलाले संयोजकमा महेश श्रेष्ठलाई निर्वाचित गरेको छ । भेलाले संयोजक श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । भेलाले संगठनको सहसंयोजकमा दिपक पौडेल, प्रभात भट्टराईलाई चयन गरेको छ ।

संगठनका संयोजक महेश श्रेष्ठले एक वक्तव्य जारी गर्दै विद्यार्थी आन्दोलनमा देखिएका अराजक र संशोधनवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै सच्चा क्रान्तिकारी विद्यार्थी आन्दोलनको विकास गर्ने बताउनु भएको छ । तल्लो तहसम्म एकता प्रक्रिया पूरा गर्ने, शैक्षिक समस्याबारे अन्तक्र्रिया गर्ने लगायतका निर्णयहरूलिएको वक्तव्यमा जनाइएको छ । संयोजक महेश श्रेष्ठले २०८१ श्रावण १३ गते जारी गरेको प्रेस वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –
“क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई संगठित, व्यवस्थित र सशक्त बनाउने उद्देश्यले अखिल (क्रान्तिकारी) र अखिल (छैटौं) बीच केन्द्रीय एकता भेला २०८१ साउन ११ र १२ गते कुपण्डोल ललितपुरमा सम्पन्न भएको छ । भेलाले गरेका निर्णय सार्वजनिक गर्न प्रेस वक्तव्य जारी गरिन्छ ।
१– अखिल (क्रान्तिकारी) र अखिल (छैटौं) बीचको एकता भेलाले विद्यार्थी संगठनको नाम अखिल (क्रान्तिकारी) राख्ने निर्णय गर्दै, महेश श्रेष्ठ संयोजक, दिपक पौडेल र प्रभात भट्टराई सहसंयोजक, दिपक विष्ट र नेत्रबहादुर शाही कार्यालय सदस्य रहने गरी ५ जनाको कार्यालय, २५ सदस्यीय सचिवालय सहित ७५ सदस्यीय एकता सम्मेलन आयोजक समिति चयन गरेको छ ।
२– दिपक पौडेलको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालय सदस्य हरिभक्त कंडेल, अतिथि क्रान्तिकारी किसान महासंघ नेपालका संयोजक सिताराम तामाङ, आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठ, अखिल (छैठौं)का पूर्व महासचिव रामबहादुर बुढा, अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, उद्योग व्यापार महासंघका अध्यक्ष जितेन्द्र दाहाल, रक्तिम साँस्कृतिक अभियानका महासचिव उदय रिजाल लगायत जवसका प्रमुखहरुले भेला सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । भेलाको संचालन पेशल दाहाल र स्वागत मन्तव्य शिलु न्यौपानेले राख्नु भएको थियो । कार्यक्रममा शहीद प्रति एक मिनेट मौनधारण गरिएको थियो ।
३– भेला पश्चात् बसेको बैठकले २०८१ भाद्र मसान्तसम्म प्रदेश तथा जिल्लाको एकता भेला सम्पन्न गर्ने गरी प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सह संयोजकको जिम्मेवारी विभाजन गरिएको छ ।
४– “शैक्षिक समस्या र समाधानको निम्ति संघर्ष” विषयमा केन्द्रीय आयोजक समितिको आयोजनामा काठमाडौंमा, प्रदेश समितिको आयोजनामा प्रदेशहरुमा र जिल्लाको आयोजनामा जिल्लाहरुमा अन्तक्र्रिया कार्यक्रम गर्ने, जिल्लाहरुले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने संवैधानिक अधिकार कार्यान्वयन गर्न पालिकाहरुमा ज्ञापनपत्र बुझाउने साथै आवश्यकता अनुसार जुझारु संघर्ष गर्ने ।
५– क्रान्तिकारी विद्यार्थी आन्दोलनमा देखिएका अराजकता, अवसरवाद, संशोधनवादी चिन्तन लगायतका गलत प्रवृत्तिसँग सम्झौताहीन संगर्ष गर्दै क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई संगठित गर्ने यो महान् अभियानमा जोडिन प्रगतिशील सोंच र चिन्तन राख्ने सम्पूर्ण विद्यार्थीहरुलाई आह्वान गर्दछौं ।”