राष्ट्रिय क्रान्तिकारी मोर्चाको बैठक सम्पन्न

काठमाडौं : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको बैठक अध्यक्ष सन्तबहादुर नेपालीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । देशमा प्राकृतिक प्रकोपबाट मृत्यु भैरहेकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति तथा घाइतेहरुको स्वास्थ्य उपचारको माग गरेको छ । त्यस्तै गरी समयमै जनताको जीउधनको सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराएको छ । अमेरिकी सहयोगमा इजरायलले प्यालेस्टाइनी जनता तथा भूमिमाथि भैरहेको आक्रमणको घोर भत्र्सना गर्नुका साथै त्यसको विरोधमा श्रावण १३ गते काठमाडौंमा विरोध कार्यक्रमको आयोजना गरेको छ । बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा निर्णय गरेको संयोजक सन्तबहादुर नेपालीद्वारा श्रावण १ गते जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ–
राष्ट्रिय क्रान्तिकारी मोर्चाको बैठक आज २०८१ श्रावण १ गते संयोजक क. सन्तबहादुर नेपालीको अध्यक्षतामा कुपण्डोल ललितपुरमा बस्यो ।बैठकले गरेका महत्वपूर्ण निर्णयहरुलाई सार्वजनिक गर्नका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) देशमा मनसुन शुरु भए यता जनधनको ठूलो क्षति भएको छ । यही आषाढ २८ गते विहानपख मुग्लिन नारायणघाट खण्डको सिमलतालमा काठमाडौंबाट गौर जाने र विरगंजबाट काठमाडौंतर्फ आउने दुई वटा बसहरु पहिरोका कारण त्रिसुली नदीमा खसेर बेपत्ता भएका छन् । दुवै बसलाई बाहिर निकाल्न सरकारले प्रयास जारी राखेता पनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन । दुईवटै बसमा गरी ६५ जना यात्रुहरु मध्ये १५ जनाको शव फेला परेको बताइएको छ । अरुको अवस्था अहिलेसम्म अज्ञात छ । यसका साथै देशका अन्यभागमा समेत बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ भन्दा बढि रहेको पाइएको छ । मोर्चाको यो बैठक बाढी पहिरोमा परी मृत्यु हुनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र पीडित परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दै मृत्यु हुने सबैको परिवारलाई तत्काल उचित क्षतिपूर्ति तथा घाइतेहरु सबैको निशुल्क स्वास्थ्य उपचारको माग गर्दछ ।
मौसमविद्हरुले भारी वर्षा हुने हुनाले जनधनको सुरक्षा गर्न सचेत गराउँदा पनि सरकारले ध्यान दिन सकेन । अहिले पनि पर्याप्त सुरक्षाको तयारी गर्न गम्भीर किसिमले तदारुकताकासाथ काम गर्न सकेको छैन । सरकारका घटकहरु आफ्नो सत्ताको मात्र चिन्ता गर्ने तर जनताको सुरक्षामा ध्यान नदिनाले नागरिकको मृत्युलाई न्यूनीकरण गर्न नसकेको देखिएको छ । बैठकले समय छँदै जनताको जीउधनको सुरक्षाका लागि सरकारको सबै किसिमले ध्यानाकर्षण गराउन चाहन्छ ।
२) अमेरिकी साम्राज्यवादको उक्साहटमा प्यालेष्टाइनी जनतामाथि बारम्बार बर्बर र अमानबीय हमला गर्दै आएको इजरायली अतिक्रमणकारी विस्तारवादी शक्तिले पछिल्लो पटक पुनः एउटा अस्पतालमा हवाई हमला गरेर बेरामी बच्चाहरु, महिलाहरु तथा उपचार गराइरहेका घाइतेहरुको घोर र अमानबीय नरसंहार गरेको छ । आजसम्म इजरायली पक्षबाट करिब चालिस हजार नागरिकको आम हत्या गरिएको छ । इजराइली आक्रमणको विश्वभरीबाट विरोध भइरहँदा पनि अमेरिकी साम्राज्यवादको सहयोग पाएको कारण उसले हमला रोकेको छैन । मोर्चाको यो बैठकले अमेरिकी साम्राज्यवाद तथा इजरायली आक्रमणको घोर निन्दा एवं भत्र्सना गर्दछ र तत्काल युद्ध बन्द गर्न माग गर्दछ ।
बैठकले अमेरिकी साम्राज्यवाद तथा इजरायली अतिक्रमणकारी विस्तारवादले प्यालेस्टाइनी जनतामाथि गरेको नरसंहारको विरोध गर्नका लागि आगामी श्रावण १३ गते काठमाडौंमा विरोध कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
३) बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारेमा पनि विचार गरियो । नेपाली जनतामाथि महंगी, अभाव, बेरोजगारी, खाद्य संकट तथा बाढी पहिरोको कारण चैनसित बाँच्न नपाइरहेको बेला देशका ठूला दलहरु सत्ताको छिनाझपटीमा तल्लीन देखिएका छन् । अहिलेको सरकार परिवर्तनसित जनताको कुनै लिनु दिनु छैन । जनताको अवस्थामा यो सरकार परिवर्तनले कुनै तात्विक परिवर्तन ल्याउने छैन । बरु देशमा महंगी, भ्रष्टाचार र कमिशनखोरी जस्ता विकृति बढ्दै जाने, अपराधीहरुले संरक्षण पाउने र देशमा फासिवाद, राष्ट्रघात तथा जनतामाथि शोषण, दमन बढ्ने सम्भावना अझ बढेको छ । सामन्ती दलाल पुँजीवादी संसदीय व्यवस्थामा आएको यो संकटलाई टार्न पुँजीवादी दलहरुले जति प्रयास गरे पनि त्यो सफल हुन सक्दैन । त्यसकारण शोषित पीडित जनताको हितमा काम गर्ने जनताको राज्यसत्ता नै आजको आवश्यकता अपरिहार्य हुन्छ भन्ने यस प्रकारका घटनाक्रमले बारम्बार पुष्टी गर्दै आएको छ र यसका लागि जनता चेतनशील, संगठित र संघर्षशील हुन पनि उत्तिकै जरुरी छ भन्ने कुरा पुन दोहोर्याएको छ ।
बैठकले आगामी श्रावण ७ गते कमरेड पुष्पलाल जन्म शतवार्षिकी राष्ट्रिय समारोह समितिले उदयपुरमा आयोजना गरेको कमरेड पुष्पलालको ४६औ स्मृति दिवसको कार्यक्रममा मोर्चाका सबै घटकहरु सहभागी हुने र सफल तुल्याउने समेत निर्णय लिएको छ ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?