पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणले पार्टीलाई एकताबद्ध राख्न समग्र पार्टी पंक्ति, जवस मोर्चालाई अनुुरोध गर्नु भएको छ । संयोजक किरणले गुटवाद र फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध राख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्नु भएको छ ।

२०८१ श्रावण १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सहसंयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) ले एकता प्रक्रिया असफल भएको घोषणा गरेपछि संयोजक किरणको उक्त अनुरोध सहितको वक्तव्य प्रकाशित भएको हो । २०८१ श्रावण २ गते पार्टीका संयोजक किरणले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः“अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत स्थिति बीचको अन्तरविरोधलाई समाधान गरी हामीले नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो सहित वैज्ञानिक समाजवादमा संक्रमण गर्न २०८० वैशाख १७ गते नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरी १८ गते मई दिवसका दिन त्यसको घोषणा ग¥यौं । त्यसको ठीक एक वर्षपछि २०८१ वैशाख १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरी १९ गते मई दिवसकै दिन अर्को एकताको घोषणा गरेका छौं । नेपाली कम्युनिस्ट आन्दोलनको टुटफुटबाट आजित शोषित पीडित नेपाली जनता र विश्व सर्वहारावर्गले यस एकताप्रति खुसी हुँदै आशाको नजरले हेरिरहेका छन् ।

गत असार ११ देखी १६ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पूर्ण वैठक संयोजक क. किरणको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त बैठकमा आगामी महाधिवेशनका लागि राजनैतिक प्रतिवेदन लगायतका विस्तृत प्रस्तावहरुमाथि समुह–बहस गरी केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्ना सुझाव, धारणा र मतहरु पेश गरेका थिए । बैठकमा महाधिवेशनको मिति समेत निर्धारण गरी कुन–कुन विषयमा सार्वजनिक बहस गर्ने र कुन–कुन विषयमा आन्तरिक बहस गर्ने भनी निर्णय समेत लिइएको थियो । बैठकका निर्णयहरु सार्वजनिक गर्न संयोजक क. किरणले असार १८ गते पार्टी एकता अधिवेशनका दस्तावेजहरुको मर्म र मान्यता अनुसार नै एक प्रेस वक्तव्य पनि जारी गर्नुभयो ।

महाधिवेशनको यो प्रक्रियामा प्रवेश गरिसकेपछि हिजो श्रावण १ गते पार्टीको सह संयोजकको हैसियतमा रहेका क. कञ्चनद्वारा हस्ताक्षरित “एकता असफलताबारे” विषयको पत्र लेखी “हामी बीच १५ महिना अघिको एकता कायम रहन नसक्ने निष्कर्षमा पुग्न हामी बाध्य भएका छौं” भनी केन्द्रीय कार्यालयमा बुझाइएको र सार्वजनिक प्रेस वक्तव्यमा “एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं” भन्ने विषयप्रति पार्टी केन्द्रको गंभीर ध्यानाकर्षण भएको छ ।

कमरेड कञ्चन र उहाँको विचारसँग सम्बन्धित कमरेडहरुलाई महाधिवेशनको प्रक्रिया सुरु भइसकेको स्थितिमा नयाँ जनवाद र वैज्ञानिक समाजवाद लगायतका विभिन्न विषयहरुमाथिको बहसमा सहभागी हुँदै तथा आवश्यक संश्लेषण गर्दै महाधिवेशन सफल पार्न आग्रह गर्दछौं । आफ्नो मतलाई स्थापित गर्न पूर्ण जनवादको प्रयोग गर्दै विचारधारात्मक संघर्ष गर्नुको साटो मैदानबाट भाग्ने कार्यले क्रान्तिकारी कम्युनिस्ट एकतालाई बाधा र दक्षिणपन्थी संशोधनवादीहरुलाई सहयोग पुग्न जान्छ । त्यसकारण, पार्टी एकताको महत्वलाई विशेष गंभीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरुलाई विशेष आह्वान गर्दछौं । यसका साथै, समग्र पार्टी पंक्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लडदै पार्टीलाई एकताबद्ध बनाइराख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्दछौं ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?