युथ काउन्सिल र युथ पायनियर नेपालको हित विपरीत
महेन्द्रनगर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परि थापाले युथ काउन्सिल र युथ पायनियर नेपालको हित विपरीत रहेको बताउनु भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सञ्चालन गरेको युथ काउन्सिल र नेपालस्थित चिनिया दूतावासले सञ्चालन गरेको युथ पायनियरमा नेपाली युवाहरूलाई संगठित हुन दिनु हुँदैन भन्ने विचार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महेन्द्रनगरमा ०८३ असोज ८ गते आयोजना गरेको पत्रकार भेटघाटमा व्यक्त गर्नु भएको हो ।
कठपुतली सरकार
वर्तमान बालेन सरकारलाई थापाले जेन्जी आन्दोलनलाई हाइज्याक गरी निर्माण गरिएको कठपुतली सरकारको संज्ञा दिनुभएको छ। पत्रकार भेटघाटमा उहाँले भन्नुभयो ,“ कथित जेन्जी आन्दोलन भयो र त्यो आन्दोलनलाई हाइज्याक गरेर नयाँ सरकार बन्यो । वर्तमान सरकार षड्यन्त्रपूर्ण तरिकाले आएको सरकार हो । माइतीघर मण्डलामा जेन्जी आन्दोलनको बेला म आफै पनि त्यहाँ पुगेको थिए। जेन्जी आन्दोलनका युवा युवतीहरूले यहाँ यस आन्दोलनमा राजनीतिक दलका मान्छेहरु घुसेर आन्दोलन भड्काउन सक्छन् हामी सतर्क रहनुपर्छ भन्ने गर्थे तर त्यो आन्दोलनलाई भड्काउने र हाइज्याक गर्ने काम गरियो। जेन्जी आन्दोलनका मान्छेहरूको संसद विघटन गर्नुपर्छ भन्ने कुनै माग नै थिएन तर आन्दोलनलाई हाइजेक गरेर संसद विघटनको एजेन्डा अगाडि बढाइयो । संसद विघटन गर्नुपर्छ भन्ने त्यस्तो संवैधानिक व्यवस्था थिएन तर संसद विघटन गरियो। त्यसका सम्बन्धमा कांग्रेस, एमालेहरू केही बोल्न सकेनन् । ”
अनुहार र उमेर नयाँ चरित्र पुरानै
स्थायी समिति सदस्य परि थापाले वर्तमान सरकारको बारेमा बोल्दै भन्नुभयो, “सरकार चलाउनेहरूको अनुहार र उमेर नयाँ चरित्र पुरानै छ।यी नयाँ भन्नेहरूसित पनि देशलाई कसरी अगाडि बढाउने भन्ने दिमागमा नयाँ कुरा केही पनि रहेनछ।नयाँ सरकारले बनाएको नीति तथा कार्यक्रम बजेट हेर्नुस् न। पुरानो भन्दा के फरक छ ? केही पनि छैन । यसभन्दा पहिले २०७४ मा ओली र प्रचण्डलाई पनि एउटा राम्रो अवसर आएको थियो। त्यतिबेला पनि हामीले एउटा राम्रो देश निर्माणको खाका प्रस्तुत गर्नुस भनेका थियौ । उनीहरुले त्यो मौकालाई प्रयोग गर्न सकेनन् । त्यस्तै अहिले पनि यो सरकारसित पनि राम्रो अवसर छ तर यो अवसरलाई प्रयोग गर्ने यिनीहरूसँग पनि कुनै योजना रहेनछ। २१ खरबको बजेटमा १४ खरबको राजस्व उठाउने १३ खर्ब तलब भत्तामा खर्च गर्ने, ऋण काढेर ऋण तिर्नुपर्ने यिनीहरूको नीति रहेछ ।
विद्युत, इन्टरनेट भनेका अहिलेको युगका आधारभूत आवश्यकताहरू हुन्।५० युनिट विद्युत खर्च गर्ने उपभोक्तालाई कर लगाउने कुरा भयो। सायद जनताको दबाब वा उनीहरु बीचकै आन्तरिक विवादले गर्दा त्यसलाई फिर्ता गरे । जेष्ठ नागरिकले पाउने भत्ता सकभर नलिनको निम्ति अनुरोध गरिरहेको छ।पहिलेका सरकारहरू अवश्य पनि साम्राज्यवादका दलाल थिए। हामीलाई के लाग्दछ भने यो दलालभन्दा पनि बढ्ता भयो ,यो कठपुतली सरकार हो भन्ने हाम्रो भनाइ हो। ”
फासीवाद उन्मुख सरकार
पत्रकार भेटघाट कार्यक्रममा स्थायी समिति सदस्य परि थापाले वर्तमान सरकार फासीवाद उन्मुख हुँदै गएको बताउनुभयो । “ यो सरकार फासीवादी दिशामा अगाडि बढिरहेको छ भन्ने हाम्रो पार्टीको ठहर हो। सामान्य कानुनी प्रक्रियासमेत पूरा नगरी विपक्षी दलका नेताहरूलाई गिरफ्तार गर्ने , हामीले लडेर प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रमा ट्रेड युनियन संगठनहरू विघटन गर्ने , पार्टीका जनवर्गीय संगठनहरू विघटन गर्ने ,यस्ता कार्यले यो सरकार फासीवादको दिशामा अगाडि बढेको देखिन्छ । ”
राष्ट्रिय स्वाधीनता
राष्ट्रिय स्वाधीनताका बारेमा थापाले भन्नुभयो , “अहिले नेपालको राष्ट्रिय स्वाधीनताको विषय अत्यन्त गम्भीर अवस्थामा पुगेको छ।सामान्य संसदीय परम्परा र नियमावलीलाई समेत ख्याल नगरिकन सिधै संसदमा गएर मलाई प्रश्न सोध्नुस् भनेर हात उठाउन लगाउने , प्रश्न सोध्न लगाएर उत्तर दिने नाममा प्रधानमन्त्रीले भारतले मात्रै होइन कि नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचिएको रहेछ भनेर राष्ट्रघाती अभिव्यक्ति दिने काम गरे । उनले भन्नुपर्यो कि नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको छ ? उनले विज्ञहरूले बताएअनुसार मैले त्यसो भनेको भनेका छन्, त्यो कुन विज्ञ हो ? बताउनु पर्छ । प्रधानमन्त्रीले गलत कुरा बोलेका छन्। जनता सामु आएर आफ्नो बोली फिर्ता गरेर माफी माग्नुपर्छ। कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र को ३७२ वर्ग किलोमिटर क्षेत्र भारतले नेपालको भूमि गावेको छ। मिचेको भन्ने कुरा एक दुई किलोमिटर हुनसक्छ तर ३७२ किलोमिटर त्यत्रो ठूलो भूभागलाई मिचेको भन्न मिल्दैन त्यो गाभेको हो। भारतले गाभेर नक्सा समेत निकालेको थियो । नेपालले पनि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रलाई मिलाएर नयाँ नक्सा बनाएर संसदबाट समेत त्यसलाई संविधान समेत संशोधन गरेर पारित गर्ने काम गरेको छ। तर नेपालले त्यो भूभाग प्राप्त गर्ने गरिकन काम अगाडि बढेन, मित्र राष्ट्रहरूलाई र संयुक्त राष्ट्रसंघलाई त्यस सम्बन्धमा पत्र पठाउने कुनै पनि काम यो सरकारले गरेन। अहिले भारत र चीनले लिपुलेकलाई व्यापारिक नाकाको रुपमा प्रयोग गर्न थालेका छन्। हामीले त्यो सबै हेरेर बस्नुपरेको छ।
देशको रक्षा गर्न भनी बनेको नेपाली सेनाको भारतीय सेनासँग भाइचारा सम्बन्ध छ। नेपाली सेनाको प्रधान सेनापति भारतको प्रधान सेनापतिको मानार्थ पद लिन्छ। भारतीय ”सेनाको प्रधान सेनापतिले नेपालको प्रधान सेनापतिको मानार्थ पद लिन्छ । यो अर्थ न बर्थको मानर्थ प्रधान सेनापतिको पद किन चाहियो ? संसारमा यस्तो सैनिक संगठनहरूको बीचमा यस्तो भाइचारा सम्बन्ध कहिँ पनि हुँदैन। जस्तो उदाहरणको निम्ति नेटो त्यो एउटा सैनिक गठबन्धन हो ,त्यस्तो हुन्छ, भाइचारा सम्बन्ध सम्बन्ध हुँदैन।जब तपाईँले एउटा देशको सेनाले अर्को देशको सेनासँग भाइचारा सम्बन्ध राखेपछि विवाद, झगडा , लड्न मिल्यो ? यस्तो भाइचारा सम्बन्ध सैनिक संगठनहरुका बीचमा आबश्यक छैन । सेना मात्र होइन राज्यका विभिन्न अङ्गहरू अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट परिचालित र निर्देशित भएर काम गरिरहेका छन्।
शक्ति राष्ट्रहरूले नेपाललाई आफ्नो स्वार्थ सिद्ध गर्ने साधन बनाउन थालेका छन्। जस्तो उदाहरणको निम्ति अमेरिकाले नेपालस्थित दूतावास मार्फत नेपाली युवाहरूलाई युथ काउन्सिलमा संगठित गर्ने काम गरिरहेको छ। नेपाली युवाहरूलाई अमेरिकाको निर्देशनमा चल्ने युथ काउन्सिलमा धमाधम संगठित गरिरहेको छ। अहिले फेरि चीनले आफ्नो दूतावास मार्फत नेपालमा युथ पायोनियर गठन गरेको छ। र त्यस मार्फत युवाहरूलाई काम लगाउँदै छ। अन्य देशका शक्ति राष्ट्रहरूलाई हाम्रा देशका युवाहरूलाई त्यसरी संगठित गर्न दिन मिल्छ ? यसरी देश सिधा हिसाबले नव औपनिवेशीकरण हुँदै गइरहेको छ। अमेरिकाको युथ काउन्सिल र चीनको युथ पायनियरमा नेपाली युवाहरूलाई संगठित हुन दिनु हुँदैन र त्यस्ता संस्थाहरू खारेज गरिनुपर्छ। नेपालका ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने अमेरिका र चीनको युथ काउन्सिल, युथ पायोनियरमा आबद्ध हुन खुला छुट दिनुहुन्छ भने देशको राष्ट्रिय स्वाधीनताको निम्ति कसले लडिदिन्छ ? ”

समाधानको उपाय
देशको संकटको समाधानको बारेमा बोल्दै थापाले भन्नुभयो , “ वर्तमान कठपुतली सरकारले देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्दैन र जनतन्त्रको पनि रक्षा गर्न सक्दैन। त्यसकारणले गर्दा यो सरकारको अन्त्य हुनुपर्दछ भन्ने हाम्रो पार्टीको ठहर छ। त्यसका निम्ति राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरूको बीचमा एउटा संयुक्त मोर्चा निर्माण हुनुपर्छ ।संयुक्त मोर्चा निर्माणपछि एउटा संयुक्त स्वाधिन सरकार निर्माण हुनुपर्दछ र नयाँ संविधान पनि निर्माण गर्नुपर्दछ र त्यसले मात्रै देशको राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्दछ । निश्चित रुपमा कांग्रेस, एमाले,माकेकै राष्ट्रघाती र जनघाती कार्यका कारणले गर्दाखेरि विदेशीहरूले खेल्ने मौका पाए । उनीहरूकै कारणले गर्दाखेरी जेन्जी आन्दोलन भयो । उनीहरूले त्यो कुरा महसुस गर्छन् भने हामी ले संयुक्त रुपमा जानको निम्ति तयार हुनुपर्दछ भन्ने हाम्रो भनाइ छ। एमाले,नेपाली कम्युनिस्ट पार्टी ,राष्ट्रिय जनमोर्चा ,नेकपा (माओवादी) पार्टीहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रा कुराहरु भइरहेका छन्। राजनीतिक दलहरू मात्र नभईकन राष्ट्रिय स्वाधीनताका पक्षमा रहेका विभिन्न समूह, व्यक्ति, व्यक्तित्वहरुलाई पनि समेटेर यो राष्ट्रिय स्वाधीनताको आन्दोलनमा अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा छ। हामीले जुन प्रस्ताव अगाडि सारेका छौं त्यो प्रस्तावप्रति धेरै मानिसहरूको सकारात्मक धारणा पनि हामीले पाइरहेका छौ ।”
पत्रकारहरूलाई जवाफ
पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य परि थापाले एमाले र माकेले जो सत्तामा गए उनीहरुले कुरा एउटा गर्ने काम अर्को गरेका कारणले कम्युनिस्टप्रति जनताको नकारात्मक दृष्टिकोण निर्माण भएको छ , गलत कुराहरूको भण्डाफोर गरेर सही कम्युनिस्ट विचार र सही कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ थापाले भन्नुभयो ।
कम्युनिस्टहरूको एकताका सम्भव छ त भन्ने पत्रकारको प्रश्नको जवाफमा थापाले मूलभूत विचार मिलेमा पार्टी एकता सम्भव छ र पार्टी एकता अहिले तत्काल सम्भव नभए पनि आफ्नो पार्टीले विभिन्न राजनीतिक दलहरुसँग मोर्चागत रुपमा अगाडि बढिरहेको र स्थिति परिपक्व भएमा पार्टी एकता समेत गर्न सकिने स्पष्ट गर्नुभयो।
पत्रकार भेटघाट कार्यक्रममा पार्टीका पिविएम लालवहादुर जाग्री समेतको उपस्थिति रहेको थियो।पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण सिसिएम तथा १ नं. व्युरो सचिव रामवहादुर महराले गर्नु भएको थियो ।