काठमाडौँ : समाजवादी पार्टी फ्रन्ट लाइन श्रीलङ्का सम्बद्ध ‘ परिवर्तनका लागि युवा ‘नामक संगठनको आयोजनामा पर्यावरण परिवर्तन र साम्राज्यवादको विरोध शीर्षकमा अनलाइन गोष्ठी सम्पन्न भएको छ ।

सेप्टेम्बर १५ को बेलुकी नेपाली समय अनुसार ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा उक्त कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा पर्यावरणीय संकट, साम्राज्यवादको भूमिका, पुँजीवादको भूमिकाका साथै समाजमा रहेका शोषण, असमानता आदिका बारेमा समेत वक्ताहरुले मन्तव्य राखेका थिए।

ध्रुव मुखोपाध्याय (भारत)
प्राध्यापक ध्रुव मुखोपाध्याय (भारत)ले पर्यावरणीय परिवर्तन भनेको विश्वव्यापी मामला भएकाले विश्वव्यापी रूपमा नै यसको समस्याको समाधान खोजिनुपर्ने बताउनुभयो। प्राध्यापक मुखोपाध्यायले अन्तर्राष्ट्रिय पर्यावरणीय सन्धि FICC– 1997 लगायतका सम्झौताहरूलाई उत्पीडित राष्ट्रहरूले साम्राज्यवादका विरुद्धमा आधार बनाउँदै संघर्ष गर्नुपर्ने र अन्तर्राष्ट्रिय फोरमहरुमा यी कुराहरु निरन्तर उठाउनुपर्ने बताउनुभयो।

हरिज बाला
अखिल भारत युवा सङ्घका सचिव हरिज बालाले पर्यावरणीय संकटको मामलामा भारत, नेपाल, श्रीलङ्का, बंगलादेश, पाकिस्तान जस्ता देशहरु अन्तर्राष्ट्रिय मञ्चमा एक भएर पर्यावरण सम्बन्धी अन्तर्राष्ट्रिय नियम तथा सर्तहरुलाई पालना गराउनका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।

गणेश अधिकारी
नेकपा (मसाल) सम्बद्ध अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारीले पर्यावरणीय संकट र साम्राज्यवाद विरोधी संघर्षका सन्दर्भमा आर्थिक कूटनीति , जलवायु न्याय र सामाजिक न्याय जस्ता कुराहरुलाई उठाउनुपर्ने बताउनुभयो ।

रासिद शाहरिर
बङ्गलादेश युवा मञ्चका रासिद शाहरिरले पर्यावरणीय संकट केवल प्राकृतिक विपत्ति मात्र नभई आर्थिक र राजनीतिक संकट पनि हो भन्नुभयो ।

दोर्जी शेर्पा
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपालका संयोजक दोर्जी शेर्पाले नेपालको राष्ट्रिय विपद व्यबस्थापन र नेपाल प्रहरीले सन् २०२६ सेप्टेम्बर ११ मा प्रकाशित गरेको डाटा अनुसार रसुवाको भोटेकोशी बाढीमा परेकाहरु मध्ये १,३८५को शव फेला परेको , ६६०० जना घाइतेलाई उपचार गरिएको,५१३० जना वेपत्ता भएको, १३,६७६लाई उद्दार गरिएको विवरण प्रस्तुत गर्दै उद्दार र खोजी कार्य चलिरहैको बताउनुभयो ।

हिमांशु
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका हिमांशुले पुँजीवादीहरुले पर्यावरणीय न्यायका कुरा गर्छन्,त्यसमा हामीले विश्वास गर्नु हुन्न, पर्यावरणीय संकटका विरुद्ध संघर्षको प्रश्न पनि वर्ग संघर्ष सँगै जोडिएको विषय हो भन्नुभयो ।

आयसा गार्डेजी
मजदुर किसान पार्टी पाकिस्तानका आयसा गार्डेजीले नेपाल र पाकिस्तानको पर्यावरणीय सम्वेदनशीलता उस्तै भएको चर्चा गर्दै नेपालीहरुको विपत्तिमा नेपालीहरु प्रति ऐक्यबद्धता जाहेर गर्दै पर्यावरणीय संकटको समाधानका लागि साम्राज्यवादी विश्व व्यवस्था भत्कनु पर्ने धारणा राख्नुभयो ।

मधुरामा कुण्डु
क्रान्तिकारी युवासंघ भारतका मधुरामा कुण्डुले २०२३ मा उत्तराखण्डमा आएको विनासकारी बाढीले ६ हजार मानिसको ज्यान लिएको र हजारौं वेपत्ता भएको घटना स्मरण गर्नु भयो । अदानी, अम्बानी जस्ता पुँजीपतिहरुले सम्पत्ति थुपार्ने काममा मात्र लागेको र वातावरण प्रदुषण रोक्ने तर्फ ध्यान नदिएको बताउनुभयो । कुण्डुले निर्माण कम्पनीहरुले वातावरण सम्बन्धी कानुन र नियमको पालना नगरेको र प्रदुषित वातावरणका कारण वर्षेनी भारतका लाखौं निर्माण मजदुरहरुको ज्जान जाने गरेको सुनाउनुभयो ।

प्रमेश पोखरेल
नेपाली कम्युनिस्ट पार्टीका प्रमेश पोखरेलले नेपालमा नेपालीहरुले भोगिरहेको यो संकट प्राकृतिक विपत्ति भन्दा पनि साम्राज्यवादीहरुका अतिवादी कार्य, युद्ध लगायतका कारणले श्रृजना भएको संकट हो भन्नुभयो । उहाँले अरुले गल्ती गरिरहेकाछन् त्यसको दुष्परिणम नेपालले भोग्नुपरेको छ भन्नुभयो ।

नदीर विरासेकारा
परिवर्तनका लागि युवा श्रीलंकाका नदीर विरासेकाराले नेपालमा घटेको प्राकृतिक विपत्ति ग्लोबल वार्मिङका कारणले नै हो भन्नुभयो । उहाँले गत २०२५ नोभेम्बरमा श्रीलंकामा आएको विनासकारी आँधीले पुराएको क्षतिको स्मरण गर्नु भयो । पुँजीवादको नाफामुखी विकासले निम्त्याएको समस्यालाई समाधान गर्न विश्वब्यापीरुपमा साम्राज्यवाद विरोधी शक्तिहरुको बृहत संजाल बनाई शक्तिशाली अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

चनिका
परिवर्तनका लागि युवा श्रीलंकाका चनिकाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।