क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला २०८३ असार ६ गते ललितपुरको कुपण्डोलमा सम्पन्न भयो । संगठनका संयोजक नारायण पंगेनीको अध्यक्षता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलको प्रमुख आतिथ्यता र प्रेम कडेलको सञ्चालनमा सम्पन्न भएको भेलाले गरेका निर्णयहरु सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१– उद्घाटन सत्र
क) महान सहिद कृष्णसेन इच्छुक लगायत जनवादी, समाजवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनमा अमूल्य जीवनको बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौन धारण गरियो ।
ख) प्रमुख अतिथि सीपी गजुरेलले व्यानर पढेर भेलाको उद्घाटन गर्नुभयो । भेलालाई गोविन्द काफ्लेले स्वागत गर्नुभयो । भेलामा प्रमुख अतिथिसहित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा सूचना सञ्चार विभागका प्रमुख हेमन्तप्रकाश ओली, पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीस, सन्तबहादुर नेपाली, क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङ, अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ र क्रान्तिकारी युवा संघ नेपालका संयोजक दोर्जी शेपर्पाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
२–बन्द सत्र
क) बन्द सत्रमा हुकुमबहादुर सिंह, हिरामणि दुःखी र इन्द्र राउतको अध्यक्ष मण्डल बनाइयो । बन्द सत्रको अध्यक्षता हुकुमबहादुर सिंह र सञ्चालन इन्द्र राउतले गर्नुभयो । बन्द सत्रमा नारायण पंगेनीले प्रतिवेदन र इन्द्र राउतले अन्तरिम विधान प्रस्तुत गर्नुभयो । विधान र प्रतिवेदनमाथि व्यापक छलफल पश्चात अन्तरिम विधान र प्रतिवेदन सर्वसम्मत रुपमा परित गरियो ।
ख) बन्द सत्रमा संगठनको नयाँ नेतृत्वको लागि अध्यक्ष मण्डलका अध्यक्ष हुकुमबहादुर सिंहले ९ सदस्य पछि थप्ने गरी ३१ सदस्यीय नयाँ प्यानल प्रस्ताव गर्नुभयो । प्यानल सर्वसम्मत रुपमा पारित भयो । भेलाले संयोजकमा नारायण पंगेनी र सदस्यहरुमा मनु विक, गोविन्द काफ्ले, झनक श्रेष्ठ, रवि पाण्डेय, टेकहरि न्यौपाने, अनु निरौला, सागर श्रेष्ठ, प्रेम कडेल, कुमार भट्टराई, विष्णु आले, गोविन्द पौडेल, दामोदर खनाल, धनन्जय अवस्थी, विष्णु शर्मा, ईश्वरीप्रसाद गैरे, बुद्धिराम गैरे, शोभा नेपाली, नहकुल चौलागाईँ, अमिरमैयाँ रञ्जितकार, अर्पणा श्रेष्ठ, दिलिप श्रेष्ठलाई निर्वाचित गरेको छ । अन्य नौ सदस्य केन्द्रीय समिति बैठकबाट मनोनित गरिने छ ।
ग) नवनिर्वाचित कमिटिलाई बरिष्ठ पत्रकार जय दाहालले बधाई तथा शुभकामना दिनु भयो भने नवनिर्वाचित कमिटिको तर्फबाट प्रतिबद्धता मन्तव्य राख्नुभयो । र, भेलाले केही समसामयिक प्रस्ताव समेत पारित गरेको छ ।
घ) अन्तमा, बधाई तथा शुभकामना मन्तव्यसहित अध्यक्ष मण्डलका अध्यक्ष हुकुमबहादुर सिंहले बन्द सत्रको समापन गर्नु भयो ।
३– भेलाले पारित गरेका समसामियक प्रस्तावहरु
क) राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको पक्षमा जनपक्षीय सञ्चार कार्यमा सङ्लग्न क्रान्तिकारी पत्रकारहरूलाई सङ्गठित गर्ने, र श्रमजीवी पत्रकारहरुको पेशागत हक, हित र अधिकारको पक्षमा निरन्तर संघर्ष गर्ने ।
ख) पत्रकारको हक, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरित सरकारले गर्ने कुनै पनि रवैया विरुद्धको प्रतिरोध संघर्ष गर्ने ।
ग) सरकारी सूचना र लोक कल्याणकारी कोष वितरणमा केवल सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न दिने भनी सरकारले गरेको विभेदकारी निर्णय विरुद्ध नेपाल पत्रकार महासंघ लगायत सञ्चार सम्बद्ध संघ संस्थाहरुसँग संयुक्त आन्दोलन गर्ने ।
घ) संविधानप्रदत्त पेशागत तथा ट्रेड युनियनलगायतका अधिकारमुखी समाजिक संघ–संस्थामाथि नियन्त्रण गर्ने जस्ता सरकारी कदमको घोर भत्र्सना गर्दै ट्रेड युनियन अधिकार प्राप्तीका लागि आन्दोलन जारी राख्ने ।
ङ) श्रमजीवी पत्रकारहरूको पेशागत मुद्दा, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, साना तथा स्वरोजगार लगानीका मिडियाहरूको सम्बद्र्धन, समानुपातिक विज्ञापन नीतिका बारेमा एकल वा संयुक्त रुपमा आवाज बुलन्द गर्ने ।
च) वैकल्पिक ब्यवस्था बिना नै सुकुम्बासी बस्ती जबर्जस्तीमा डोजर चलाएर विस्थापित गर्ने तथा निमुखा, विपन्न समुदायमाथिको गरिएको रवैका विरुद्धका आन्दोलन प्रति ऐक्यवद्धता जनाउने ।
नारायण पंगेनी
संयोजक