अमेरिकी साम्राज्यवादले नेपालको सत्ता कब्जा गर्याे : महासचिव गाैरव

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ३७ औं जनआन्दोलन दिवस मनाएको छ । पार्टी कार्यालय कुपण्डोलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव सीपी गजुरेल गौरवले जेनजी विद्रोहपछि भएको चुनावमार्फत् अमेरिकी साम्राज्यवादले नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनु भएको छ । उहाँले यदि जनयुद्धको घोषित लक्ष्य अनुसार नेपालमा जनगणतन्त्र स्थापना भएको भए साम्राज्यवादले यसरी सत्ता कब्जा गर्न सक्ने स्थिति रहने थिएन भन्नुभएको छ ।


पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलको अध्यक्षता तथा पार्टी पीवीएम चिन्तामणि पौडेलको सञ्चालमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गजुरेलले भन्नुभयो, “अहिलेको चुनावी परिणामबाट क्रान्तिकारीहरु आत्तिनु पर्दैन, हामीलाई यो निर्वाचन कुनै अर्थ र महत्वको थिएन । यो निर्वाचन प्रायोजित हो । अमेरिकी साम्राज्यवादले आफ्ना नयाँ दलाल तयार पार्न गरिएको निर्वाचन हो भनेर नै हामीले निर्वाचन बहिस्कार गरेका हौं ।”
जनगणतन्त्रको एजेण्डा छोडेका कारण नै प्रचण्डहरुको अहिलेको हालत भएको भन्दै उहाँले भन्नुभयो, “अब विचार र एजेण्डा मिल्ने कम्युनिस्ट पार्टीहरु, अन्य वामपन्थी शक्तिहरुसँग मिलेर जनगणतन्त्रको आन्दोलनलाई अगाडि बढाउनु पर्दछ ।”

उहाँले अहिलेको सरकारले ल्याएको १०० बुँदे कार्यक्रम कम्युनिस्टहरुका विरुद्ध लक्षित रहेको भन्दै विगतमा भएका भीषण युद्ध, आन्दोलन र बलिदानमार्फत् प्राप्त जनअधिकारहरु खोस्न खोजेकोले ती जनअधिकारहरुको रक्षाका लागि पुनः संघर्षमा जानुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट संघर्ष र संगठनका योजनाहरु निर्माण गरेको जानकारी दिँदै छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गरेर अगाडि बढ्ने बताउनु भयो र सम्पूर्ण पार्टीपंक्तिलाई संघर्ष र संगठनका योजना कार्यान्वयनका लागि विगतमा भन्दा अझ बढी सक्रियता र उत्साहका साथ लाग्न निर्देशन पनि दिनुभयो ।

त्यसैगरी पार्टीका स्थायी समिति सदस्य हरिभक्त कँडेलले जेनजी विद्रोहदेखि रास्वपाको सरकारसम्म नेपाली सेनाले निर्णायक भूमिका खेलेको भन्दै नेपाली सेनाले नेपालको भन्दा अमेरिकाको हितमा काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले तत्कालीन सरकारलाई एसपीपी सम्झौत ागर्न नेपाली सेनाले सरकारलाई दबाब दिएको दावी गर्दै देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका निम्ति अब सम्पूर्ण देशभक्त, क्रान्तिकारी, वामपन्थी शक्तिहरु एकताबद्ध भएर संघर्ष गर्नुको कुनै विकल्प नरहेकोमा जोड दिनुभयो ।

अहिलेको बालेन सरकारले जनताको सम्पूर्ण अधिकार खोस्न थालेको भन्दै जनअधिकारका लागि विगतमा लडेका सबै जनशक्तिहरु अब एकताबद्ध भएर संघर्ष गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा निरन्तर संघर्षप्रति संकल्प जाहेर गर्नु नै चैत्र २४ को जनआन्दोलन दिवस मनाउनुको अर्थ रहेको भन्दै नयाँ जनवादी क्रान्तिका लागि अब जनविद्रोह भएर छाड्ने दावी गर्नुभयो । र, जनसंघर्ष हुँदै जनविद्रोहको तयारीमा सिंगो पार्टीपंक्ति एकताबद्ध भएर लाग्न आग्रह पनि गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक इश्वर तिमिल्सिना, अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठ र एकीकृत दलित मुक्ति मोर्चाकी नेतृ शोभा सेन्चुरीले जनआन्दोलन दिवसको महत्वमाथि प्रकाश पार्दै वर्तमान दलाल बालेन सरकारका विरुद्ध संघर्षमा उत्रने उद्घोष गर्नुभएको थियो । र, जनआन्दोलन दिवसको शुभकामना दिनुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?