
काठमाडौं : केन्द्रीय संयुक्त संघर्ष समितिले दोस्रो चरणको निर्वाचन बहिष्कारसम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संयुक्त संघर्ष समितिका संयोजक सी.पी. गजुरेलले २०८२ माघ २० गते एक वक्तव्य जारी गर्दै दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
वक्तव्यमा दोस्रो चरणको कार्यक्रम आगामी माघ २० गतेदेखि फागुन ३ गतेसम्म सम्पन्न गरिने र दोस्रो चरणको कार्यक्रमको मूर्तयोजना स्थानीय संयुक्त संघर्ष समितिले बनाउने भनिएको छ । वक्तव्यमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खडकालाई सिन्धुलीमा गिरफ्तार गरी हिरासतमा राखेकोमा तुरुन्त रिहाई गर्न माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ–“हामी पाँच कम्युनिस्ट पार्टीहरू, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) सम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिको बैठक २०८२ साल माघ १७ गते बस्यो । बैठकले लिएका निर्णयहरू सार्वजनिक गर्न यो प्रेस–विज्ञप्ति जारी गरिएको छ ।
१. बैठकले यो कठपुतली सरकारले २०८२ फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचनको बहिष्कार आन्दोलनको समीक्षा ग¥यो । निर्वाचन बहिष्कार कार्यक्रमको सिलसिलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई सिन्धुली जिल्लाको दुधौलीबाट प्रहरी प्रशासनले गिरफ्तार गरेकोमा त्यसको विरोध गर्दै उहाँलाई तुरुन्त रिहा गर्न माग ग¥यो ।
२. बैठकले २०८२ माघ २० गतेदेखि २०८२ फागुन ३ गतेसम्मको लागि दोस्रो चरणको कार्यक्रम तय गरेको छ । कार्यक्रमहरु पर्चा वितरण, भित्तेलेखन, घरदैलो र कोणसभा हुनेछन् ।
३. उपरोक्त कार्यक्रमको मूर्त योजना स्थानीय संयुक्त संघर्ष समितिहरूले बनाउनेछन् ।
४. स्वाधीन संयुक्त जनसरकारको गठन तथा जनसंविधान निर्माणको संघर्षलाई अघि बढाउनका लागि आगामी फागुन २१ गते हुने भनिएको संसदीय निर्वाचनलाई बहिष्कार गर्न केन्द्रीय संयुक्त संघर्ष समिति देशभक्त, प्रगतिशील, वामपन्थी राजनीतिक शक्तिहरु सहित आम मजदुर, किसान, न्यून वैतनिक कर्मचारी, साना तथा मझौला व्यापारी लगायत राष्ट्रिय पुँजीपति वर्गलाई हार्दिक आह्वान गर्दछ ।”
