
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा कम्युनिस्ट पार्टीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी संघर्षको कार्यक्रम घोषणा गरेका छन् । ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवलाई संयोजक तोकेको छ । सीपी गजुरेलको संयोजकत्वमा गठित केन्द्रीय संयुक्त संघर्ष समितिमा रामसिंह श्रीस, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा बुढा, आहुति, राजेश्वरी सुवेदी, रुपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कट्टेल, खेमनारायण ढुङ्गाना, शशी घिमिरे, समरजंग र समिर सिंह सदस्य रहनुभएको छ ।
केन्द्रीय संयुक्त संघर्ष समितिको नाममा संयोजक सीपी गजुरेलले जारी गरेको प्रेस वक्तव्यमा देशका ७७ जिल्लामा पनि जिल्ला संयुक्त संघर्ष समिति गठन गरी संघर्षको कार्यक्रम अधि बढाइने उल्लेख गरिएको छ भने फागुन २१ गते तोकिएको निर्वाचन बहिस्कारसम्बन्धी पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरिएको छ ।
घोषित कार्यक्रम अनुसार पौष २५ संघर्षको कार्यक्रम घोषणा सभा, पौष २६ र २७ प्रचार प्रसार पर्चा वितरण, पौष २८ गते देशव्यापी मशाल जुलुश, पौष २९ गते उपत्यका बन्द लगायतका कार्यक्रम रहेका छन् ।
वक्तव्यमा माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगन्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तर्क्रिया गोष्ठी माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गरिने कार्यक्रम तय गरिएको जनाइएको छ । र, त्यसपछि अर्को चरणको कार्यक्रम घोषणा गरिने जनाइएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन तथा संघर्ष घोषणा कार्यक्रममा केन्द्रीय संघर्ष समितिका संयोजक तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव, समितिका सदस्य तथा नेकपा ९बहुमत०का महासचिव धर्मेन्द्र बास्तोला, समितिका अर्का सदस्य तथा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल आहुति, नेकपाका अध्यक्ष ऋषि कट्टेल र नेकपा (जनपक्ष)का नेता बसन्त बोगटीले घोषित संघर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पार्टीपंििक्तलाई निर्देशन दिनुका साथै फागुन २१ को निर्वाचन देश र जनताको हितमा नरहेकोले बहिस्कार आन्दोलनलाई साथ दिन आम श्रमजीवी वर्ग र समुदायलाई हार्दिक अपिल समेत गर्नुभएको थियो ।
नेताहरुले मिडिया र पत्रकारहरुलाई पनि देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डा रक्षाको यो विषम परिस्थितिमा जिम्मेवार भएर कलम चलाउन र स्वाधीनताको पक्षमा उभिन आग्रह गर्नुभएको थियो । पत्रकार सम्मेलनको सञ्चालन केन्द्रीय संघर्ष समितिकी सदस्य राजेश्वरी सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा ६ वटै पार्टीका नेता कार्यकर्ताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
