
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनका बुबा हर्कसिंह ओलीको पार्थिव शरीरमा माल्र्यापण र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली मन्तव्यसहित अन्त्यष्टी गरिएको छ । काठमाडौंको पशुपति आर्यघाटको शवदाह गृहमा उहाँको अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीपूर्व श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसले सञ्चालन गरेको कार्यक्रममा पार्टीका महासचिव सीपी गजुरेल गौरव, नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा प्रभाकर, नेपाली कम्युनिस्ट पार्टीकी नेतृ रेखा शर्मा, नेकपा (एमालेका नेता खेममान खड्का र नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

मृतक हर्कसिंह ओलीका छोरा तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता हेमन्तप्रकाश ओलीले बुबाको संक्षिप्त जीवनी प्रस्तुत गर्नुभएको थियो । उहाँले बुबाले आफ्नो जीवनको सम्पूर्ण समय श्रम र उत्पादनमा खर्चिनु भएको र निरन्तरको श्रममा जोडिनुभएकोले नै ८९ बर्षसम्म बाँच्न सफल हुनुभएको भन्दै उत्पादनका निम्ति उहाँले गरेको संघर्ष र दशवर्षे जनयुद्ध लगायत वर्गसंघर्षमा उहाँले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । हाल उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको साधारण सदस्य रहेको पनि जानकारी दिनुभयो ।

मृतक हर्कसिंह ओलीको पार्थिव शरीरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले पार्टीको झण्डा ओढाएर माल्र्यापणसहित अन्तिम श्रद्धाजली दिनुभएको थियो । श्रद्धाञ्जलीका लागि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि पुग्नुभएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य, पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य र जवस मोर्चाका नेता कार्यकर्ताहरुसहित अन्य विभिन्न वामघटकका नेताहरुले मार्यापणसहित श्रद्धाञ्जली दिनु भएको थियो ।
मृतक ओलीका एक छोरा, चार छोरी र नाति नातिना हुनुहुन्छ । १९९३ मा जन्मनुभएका उहाँको पौष १४ गते विहान ३ः४० मा उपचारको क्रममा गंगालाल अस्पतालमा निधन गएको थियो । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–६, विता निवासी उहाँ निम्न मध्यम किसान परिवारको हुनुुहुन्थ्यो ।