
काठमाडौं : जेन्जी बिद्रोहबाट पाठ सिक्दै नेपालका कम्युनिस्टहरुले वर्तमान संसदीय व्यवस्थालाई विस्थापनको तयारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएक छन् । शक्रबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नौ नम्बर ब्युरोले आयोजना गरेको अन्तरक्रियामा सबै कम्युनिस्ट एक नभए देश युक्रेन बन्नेसमेत चेतावनी दिएका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव सिपि गजुरेलले देश गम्भीर संकटतिर जान थालेको र त्यसको हल गर्न सबै कम्युनिस्ट एकता, धुर्बिकरण नभए मोर्चाबन्दी गर्नुपर्न बताएका छन् । गजुरेलले आफूहरुले वर्तमान संसदीय व्यवस्थाको विस्थापनका लागि आफूहरुले निकै प्रयास नगरे पनि जेन्जीले पहल लिए पनि त्यसको संस्थागत नहुनु दुर्भाग्य भएको बताए । जेन्जी बिद्रोहको बलबाट प्रधानमन्त्री बनेकी शुसिला कार्कीले क्रान्तिकारीहरुलाई वार्तामा नबोलाएकोप्रति रोश व्यक्त गर्दै भने,“विगतमा भ्रस्टाचार र कुशासनमा लिप्त दलहरुलाई मात्रै निकासको लागि प्रधानमन्त्रीले बोलाएर यो सरकार पनि पुरानै दलदलमा फसेको पुष्टी हुन्छ ।” “जेन्जीले भनेजस्तै हुने छाँट देखिएन अब निकासका लागि स्वाधीन संयुक्त सरकार एक मात्रै विकल्प हो”गजुरेलले थपे ।
कार्यक्रममा नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले जेन्जी बिद्रोहबाट जनताले ठूलो अपेक्षा राखे पनि नीति, बिचार र राजनैतिक चेत तथा नेतृत्व विहिनताले पुरानै व्यवस्था र भ्रष्टहरु बच्ने अवस्था आएको बताए । बास्तोलाले जेन्जीहरु कै बलबाट बनेको सरकारले छानिछानी परिवर्तनकारी जेन्जीहरुलाई पक्रने विषय गम्भीर भएको बताउँदै भने,“जेन्जी बिद्रोहले मुलतः भ्रष्ट र दलाल सत्ताको बिस्थापन चाहेको थियो तर, तिनैलाई मुद्धा लगाउने कुराप्रति हाम्रो विरोध छ, जेन्जीहरुले अब राष्ट्रिय स्वाधीन संयुक्त सरकारको माग गर्नुपर्छ ।”
कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल शर्माले जेन्जी बिद्रोहपछि देशमा व्यापक धुर्वीकरणको आवश्यकता रहेको र सबै क्रान्तिकारी कम्युनिस्टहरु एकठाउँमा आउनुपर्नेमा जोड दिए । जेन्जीलाई पक्रने र मुद्धा हाल्ने विषय गलत भएको बताउँदै भने,“वर्तमान सरकारले म्याण्डेट अनुसार भ्रष्ट र दलालहरुलाई जेल हाल्नुपर्नेमा परिवर्तनकारीलाई निसाना बनाईरहेको छ, यस्तै चल्दै जाने हो भने बाँकी भ्रष्टहरुले लुटेर बनाएका घर जलाउनुपर्छ ।”
कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता राजेश्वरी सुवेदीले विभिन्न समूहमा विभक्त नेपाली कम्युनिस्टहरु आफूलाई बाहेक अरुलाई कम्युनिस्ट नठान्ने प्रवृत्तिको करण प्रतिक्रियावादीहरुले ठाउँ पाएको जिकिर गरिन् ।
कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले पछिल्लो समयमा नेतृत्वका बारेमा उमेर हदको विषय चलेको र जुन विषय वैज्ञानिक नभएको जिकिर गरे । “हाम्रो पार्टीका महामन्त्री मोहनविक्रम सिंह, क्राकपा नेपालका पूर्व महासचिव मोहन वैद्य र वर्तमान महासचिव गौरवहरुप्रति म सम्मान व्यक्त गर्दछु र उहाँहरुको अझै पनि देशमा आवश्यकता छ,” पुरीले थपे ।
संस्कृतिक प्रतिरोध अभियानका सदस्य संगित स्रोताले क्रान्तिकारी शक्तिहरु छरिएर भन्दा एक भएर परिवर्तनको लागि तयारी गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्माले जेन्जीमा वर्ग र वर्गीय चेतको अभावका कारण सो आन्दोलनको उपलब्धि सून्य जस्तै भएको बताए । आफूहरुले सम्पूर्ण क्रान्तिकारीहरुलाई गोलबन्द गरेर दलाल पँुजीवादी संसदीय व्यवस्थाविरुद्ध संघर्ष छेड्ने चेतावनी दिए ।
सो पार्टीका ९ नम्बर ब्युरो सचिव चिन्तामणी पौडेलले देशमा संसदवादी दल र व्यवस्थालाई विस्थापन गरी समाजवादी व्यवस्थाको लागि संघर्षको खाँचो भएको बताए ।
पार्टी काठमाडौं जिल्ला सचिव केदार खतिवडाले जेन्जी बिद्रोहबाट पाठ सिक्दै नेपालमा क्रान्ति र बिद्रोहबाट परिवर्तत सम्भव भएकोले सबै एक भएर तयारी गर्नुपर्ने धारणा राखे ।