कविता

उसका भन्दा हाम्रा कविता
कमसल भएको हुनाले
लाख बढी लाइक नआएका होइनन्
उसका कविता गहन
र हाम्रा कविता छिपछिपे भएका हुनाले
हजार बढी शेयर नभएका होइनन् ।
उसको कविताका पाठक बढी भैदिएर
या उसले अतिरिक्त अब्बल कविता लेखेको भएर
उपरोक्त कुनै कारणले पनि होइन
उसको कविताले बजार पिटेको ।
बरु के हो भने
ऊ कुनै अदृश्य शक्तिको प्यादा भएको हुनाले
त्यस शक्तिले उसलाई बोकेको हुनाले
उसको प्रमोशनका लागि
दशौं हजार साइबर फोर्स
हर हालतमा तयार राखिएकाले
अदृश्य शक्तिद्वारा सङ्गठित
अदृश्य शक्तिद्वारा परिचालित
र अदृश्य शक्तिद्वारा पालित/पोषित
ती साइवर शक्तिले
केवल यही काम मात्र गर्ने भएकाले
उसले खोके पनि या पादे पनि
उसले छिउँ गरे पनि या खोके पनि
लाइकको वर्षा चलाउने
र “फलानो फलानो” मात्र भट्याउने
अनगिन्ति लुसिफर किड्सहरू भएकाले
उसको कविताले बजार पिटेको हो ।
र जहिलेसम्म
लुसिफर किड्सहरू सक्रिय रहन्छन
उसका हरेक अश्लिल शब्द समेत
युग हल्लाउने कविता बनिरहने छन ।
प्रिय कवि !
यो मौसम लुसिफरहरूको मौसम हो
यो मौसममा तिम्रो कविता पढिएन भनेर
अलिकति पनि चिन्ता नलेऊ !
असल कविता लेख्ने भए
त्यो नाथे लुसिफर नै हुने थिएन
र कविता बुझ्ने तागत भैदिएको भए
लुसिफर किड्सहरूले
लाइकको अति वृष्टि गर्ने नै थिएनन् ।