सन्दर्भ –तीजको

लेखक-सूर्या थापा

तीज हिन्दु महिलाहरुले परापूर्व कालदेखि मनाउँदै आएको हो । यो चलन सामन्ती संस्कृतीको उपज हो । यो चाड धार्मिक परम्परा, चिन्तन र आदर्शवादी चरित्रकबाट प्रेरित छ । यसमा नैतिकता,दर्शन,कला, शिक्षा र साहित्यलाई भौतिक आधारबाट अलग्याएर हेरिएको पाइन्छ ।
सामन्तवादी व्यवस्थामा सम्पन्न वर्गले विपन्न वर्गमाथि हैकम चलाउने आफ्नो प्रभुत्व जमाएर बसेको हुन्छ ।उसले जे बोल्छ,विपन्न वर्गले दासको रुपमा उसको बोली ईश्वरको बोली मान्ने गर्छन् । जसरी सामन्तको नाइके राजालाई विष्णुको अवतारको रुपमा मान्ने चलन हुन्छ । समाजमा यस्तो पारम्परिक चिन्तनले जरा गाडेको छ । यो पहिलो विषेशता हो भने दोस्रो विशेषता सामन्ती संस्कृतिको पुराण (रामायण,महाभारत, मनुस्मृति आदि ग्रन्थहरु ) अगाडि तेस्र्याएर आदर्शको खोल ओढाई मानव समाजलाई यथास्थितिमा राख्ने प्रयास हो । यस्ता सामन्ती संस्कृतिलाई सबै खाले शोषित,उत्पीडित, विपन्न वर्गले भोग्नु पर्ने हुन्छ । तेस्रो विशेषता भनेको यस्तो समाजमा महिलाहरुलाई आर्थिक रुपले पछाडि पारिएको हुन्छ र सम्पत्तिको नाममा पुरुषमाथि निर्भर हुनुपर्ने हुन्छ । आफ्नो हातमा केही अधिकार हुँदैन । साथै महिलाहरुलाई त्यही कारणले पुरुषभन्दा तल्लो स्तरमा राख्ने, दासीको रुपमा वस्तुको रुपमा र सन्तान उत्पादन गर्ने मेसिनको रुपमा व्यवहार गरिएको हुन्छ । पुरुष वा पतिलाई परमेश्वरको रुपमा मान्ने गरिएको हुन्छ । उनीहरुलाई सेवा नै धर्म हो । पतिको सेवा गरे धर्म हुन्छ भन्ने पाठ सिकाइन्छ । स्वर्ग ,नर्कको विश्वास दिलाएको हुन्छ । मनुस्मृति ग्रन्थले त महिलालाई प्राण नभएको जड (वस्तु)सँग तुलना गरेर पुरुषलाई प्रताडनाको अधिकारी बताइएको छ । समग्रमा भन्नु पर्दा सामन्ती संस्कृतिले पितृसत्तात्मक समाजको चिन्तनको प्रतिनिधित्व गरेको हुन्छ ।
नेपालको सन्दर्भमा महिलाले तिनै पारम्परिक चिन्तन प्रणाली अन्तर्गत नै जीवन व्यतित गरिराखेको छन् । यसको अर्थ हो–नेपालले अझै अर्धसामनती र अर्ध औपनेवेशिक अवस्थाबाट छुटकारा पाउन सकेको छैन । त्यसकारण यहाँको सामाजिक धरातल,आर्थिक व्यवस्था,धार्मिक सोच ,कानुनी व्यवस्था सोही अनुरुप छ ।
देशमा २०६२–६३ सालको महान जनआन्दोलनले ल्याएको राजनैतिक परिवर्तन पछि केही सकरात्मक कदम चालिएको छ । संविधानको निर्माण पछि महिलाका केही अधिकारहरुको उल्लेख भएका छन् । तर कैयौं अधिकारहरु व्यवहारमा लागू हुन सकेका छैनन् । दलहरुको सोचाइमा परिवर्तन आउन सकेको छैन । समाजमा व्याप्त सामाजिक अपराध,भ्रष्टाचार,अन्याय,अत्याचार ,बलत्कार,शोषण दमन कायमै छ । लाखौंको संख्यामा महिलाहरु विदेशमा देहव्यापार जस्तो नारकीय जीवन बिताउन बाध्य छन् । देशका युवाशक्तिहरु रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । महिलामाथि हुने गरेका सामाजिक,आर्थिक, राजनैतिक र साँकृतिक हिंसाहरुले झन् पछि झन् चरम रुप लिने गरेको छ । महंगीले सीमा नाघेको छ । भ्रष्टाचारले फस्टाउने मौका पाएको छ ,जसले गर्दा महिलाहरु सबैभन्दा बढी प्रताडित हुनु परेको तितो यथार्थ छ । यो अवस्थाबाट पार लाउन समाजमा सीमित राजनैतिक परिवर्तनले मात्र पुग्दैन । आमूल परिवर्तन हुनु पर्दछ । जनताको आधारभूत समस्या हल गर्न र सामन्ती चिन्तनबाट मुक्त हुन यही व्यवस्थाबाट सम्भव छैन । यहाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु पर्दछ । त्यो कार्यभार पूरा गर्न देशमा सच्चा क्रान्तिकारी पार्टी,मजदुर किसान वर्ग र सचेत नागरिक अगाडि आउनु पर्दछ ।
विगतमा झै यसपालीको तीज पर्व मनाउन महिलाहरु धेरै खेमामा बाँडिएका छन् । एकाथरि महिलाहरु सामन्ती संस्कृति माथि पूर्ण विश्वास राखेर पति परमेश्वरको आयु लम्व्याउन दीर्घायुको कामना गर्छन्,भोकै बसेर कामना गर्छन् र उक्त दिनमा भोकै बसेर मन्दिर दर्शन गर्ने, श्रीमान्लाई प्रसाद खुवाई सकेपछि मात्र आफूले ग्रहण गर्ने परिपाटी छ । त्यसपछि नाँचगान गर्ने, गर्छन् । समाजमा विषाक्त संस्कृतिको प्रभावमा धार्मिक संस्कार,कुरीति,अन्धविश्वासमा आधारित चिन्तन मा हुर्केका महिलाहरुमा पूर्ण रुपले नयाँ चेतनाको विकास हुन सकेको छैन । त्यसैले आफूले भोगेको दुःख र पीडा हाम्रो समाजको परिवेशमा प्रत्येक साल पोख्ने थलोको रुपमा तीजलाई मान्छन् । अर्काथरी परम्परा अनुसार तीजमा रमाइलो गर्ने,दर खाने नाममा खानपिन गर्ने आदि गर्छन् । तीजका गीतहरु भड्किला खालका बजारमा आएका छन् । यसले समाजमा विषाक्त संस्कृतिलाई बढावा दिने काम मात्र हुन्छ । सकरात्मक सन्देश दिने काम हुँदैन । बरु विकृति र विसंगति फैलाउन मद्दत पु¥याउँछ । यसकारण सचेत भइ यसप्रकारका प्रश्तुति निरुत्साहित गर्नु सबैको दायित्व हुन आउँछ ।
दुःख पीडा भोगका महिलाहरुले प्रस्तुत गर्ने गीतहरुमा बरु केही हदसम्म निस्वार्थ भावनाले प्रेरित भएका हुन्छन् । वर्षभरि घर गृहस्थीको बन्धनमा बाँचेका महलिाहरुले १ दिन भए पनि माइत जाने अवसर पाउने जुन परम्परा छ त्यसलाई हामीले स्वीकार्न सक्छौं । तेस्रो थरीले समाजमा व्याप्त विषाक्त संस्कृति अन्तर्गत हुने गरेको कुसंस्कार,कुरीति अन्धविश्वास,विसंगति र विकृतिको विरोध गर्छन् । प्रगतिशील र वामपन्थी विचारधारामा आस्था राख्ने महिलाहरुले समाजलाई परिवर्तनको पक्षमा डो¥याउनकालागि तीज पर्वलाई सन्देश दिने अवसरको रुपमा मनाउने गर्छन् ।प्रत्येक साल उक्त दिनमा विषाक्त संस्कृतिको विरुद्ध नयाँ र प्रगतिशील गीतहरु प्रस्तुत गर्ने र लैंगिक हिंसा,भेदभावमूलक कानुन र समसामयिक राष्ट्रिय सवालहरुलाई केन्द्रित गरेर एक खालको आन्दोलनको रुपमा मनाउने गर्छन् । यसरी मनाउनु सचेत नागरिकको जिम्मेवारी हो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?