
म संसद हुँ
केही बेकुफहरुलाई
भोगिरहेको छु
तानाशाह जस्तो
अनुहारको मुख्य मानिस
त्यससँगैको लहरमा बसेका
अरु मानिस
पल्तिर
लहरै कुर्सीमा टाँसिएका
जुँगा र जुँगा फालेका
सारी लगाएका
केश बाटेका नबाटेका
देशी विदेशी दुबै
नागरिक अनागरिक
मेरा दलाल आँखामा
परेका छन् खिचिएका छन्
मलाई मतलब छैन
कहाँ के भइरहेको छ
अमेरिकाले इरानमाथि
अचानक
मिसाइल दागोस्
इजरायलले गाजामाथि
अस्त्र बर्साओस्
अस्पताल ध्वस्त गरोस्
सानासाना नानीहरूलाई
चिहान बनाओस्
देशविहीन बनाओस्
दक्षिणतिरका पीतधारीले
अतीतका बर्बर मिथकलाई
पुनर्जीवित गर्ने कथा रचोस्
दिनदिनै
मुलुकका प्राणहरु
बेचेर आफ्नो पुँजी भण्डार
बढाएर भाग्ने तरिका
सोचेको होस्
एक दुई तीन
साँच्चिकै भन्छु
म वफादार छैन
यहाँको सुगन्धित फुल
हावा पानी हिमाल नदिप्रति
मेरा दौरासुरुवाल टोपी
बोली भाषण
सबै सबै नक्कली हुन्
म संसद
संसद होइन
मध्यकालीन शासनको
फाटेको जडौरी पो हुँ