
काठमाडौँ : क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) ले साम्राज्यवादी सैन्य गठबन्धन नर्थ एटल्यान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) लाई विघटन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यससँगै आइकोरलाई बलियो बनाएर मात्र विश्व शान्ति कायम गर्न सकिने धारणा राखिएको छ ।
आइकोरको ब्यानरमा विश्वभरिका २७ ओटा पार्टी तथा सङ्गठनले जुन २७, २०२५ का दिन जारी प्रस्तावमार्फत् सो आह्वान गरिएको हो ।
आइकोरमा नेकपा (मसाल) पनि सदस्यको रूपमा रहेको छ । सो प्रस्तावमा मसालले पनि हस्ताक्षर गरेको छ ।
युक्रेन–रुस युद्ध, प्यालेस्टाइन र इरानमाथि इजरायली युद्धसहित अमेरिकाले विश्वभरि युद्ध चलाइरहेको बताउँदै प्रस्तावमा त्यसको नेतृत्व नेटोको रहेको विचार व्यक्त गरिएको छ ।
प्रस्तावमा नेटो अमेरिकी नेतृत्वमा सञ्चालन हुँदै आइरहेको र त्यसले विश्वभरि नै साम्राज्यवादी युद्धको अवस्था सिर्जना गरेको उल्लेख छ ।
विश्वभरिको साम्राज्यवादी युद्धको वास्तविक विरोधी सर्वहारा वर्ग र त्यसका पार्टी कम्युनिस्ट मात्रै रहेको उल्लेख गर्दै यस्ता युद्धलाई समाप्त पार्न उनीहरूले मात्रै सक्ने निष्कर्ष सो प्रस्तावमा छ ।