
भ्रष्टाचार विरोधी अभियानमा जोडिन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आह्वान

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आफूहरुले २०८२असार ५ गतेदेखि देशव्यापी सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा साथ दिन सबैलाई आह्वान गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ९ नं व्यूरोको आयोजनामा काठमाण्डौ भृकुटी मन्डपको रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९नं व्यूरो सेक्रेटरी चिन्तामणि पौडेल ,पोलिटव्यूरो सदस्य दिनेश शर्माले पार्टीको तर्फबाट सो आह्वान गर्नु भएको हो ।

देशमा भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्नु पर्नाको कारणबारे पार्टीको तर्फबाट जारी गरिएको वक्तव्य वाचन गर्दै र पत्रकारहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै नेताहरुले देशमा भ्रष्टाचार ,अनियमितता,वेथिति मौलाएकोले अब चुप लागेर बस्न नहुने र यसको विरोधमा खरो उत्रिनु पर्ने बताउनु भयो ।वहाँहरुले भ्रष्टाचार विरोधी अभियानमा सबैले साथ र सहयोग गर्न हार्दिक अनुरोध पनि गर्नु भयो ।

व्यवस्थाले सिर्जना गरेको विकृतिको रुपमा भ्रष्टाचार,मानव तस्करी देखि विभिन्न ठूला टूला काण्डहरु घटेको भन्दै उहाँहरुले यो व्यवस्थाको दोष भएकाले यो व्यवस्था रहेसम्म पात्रहरु नयाँ आए पनि कुनै परिवर्तन हुन नसक्ने, जनताले अब यो व्यवस्था परिवर्तनकोलागि संघर्ष गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

व्यवस्था परिवर्तनकालागि आफूहरुले अविचलित रुपमा संघर्ष गरेको उल्लेख गर्दै वहाँहरुले पार्टी सानो ठूलो हुनु खासै ठुलो कुरा नभएकाले मुख्य कुरा जनताको पक्षबाट ,देश ,राष्ट्रियता ,जनजीविका र जनतन्त्रको पक्षमा निरन्तर लागि परेकाले यो कुरा जनताकोबीचमा लैजान र आफूहरुको अभियानको पक्षमा जनतामा सुसुचित गरिदिन पनि पत्रकारहरलाई पार्टीको तर्फबाट अनुरोध गर्नुभयो ।

भ्रष्टाचार विरोधी अभियानमा आफूहरु जनतालाई साथमा लिएर सञ्चालन गर्न गइरहेकाले भ्रष्टाचार,अनियमितता, विभिन्न खाले काण्डहरुमा संलग्नहरुको बारेमा सूचना दिन समेत अनुरोध गर्नु भयो ।

पत्रकार सम्मेलनको अध्यक्षता चिन्तामणि शर्मा र सञ्चालन पेशल दाहालको रहेको थियो ।

९ नं व्यूरो सेक्रेटरी चिन्तामणि शर्माद्वारा हस्ताक्षर गरी २०८२ असार ५ गते पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिको पूर्ण पाठ
आदरणीय जनसमुदाय तथा पत्रकार मित्रहरु,
हाम्रो देशमा २४० वर्ष देखि वंशजको आधारमा लगातार सत्तामा बसेर कहिले राणाहरुलाई सरकारको बागडोर सुम्पेर, कहिले पंचायती व्यवस्थाका नाममा पञ्चहरुलाई सरकारको बागडोर सुम्पेर त कहिले संसदीय व्यवस्थाको नाममा संसदीय पार्टीहरुलाई सरकारको बागडोर सुम्पेर राजतन्त्रले आफुलाई संविधान भन्दा माथि राखेर सुन र मुर्ति तस्करी गर्ने, गाँजा चरेशको व्यपार गर्ने, कालाबजारी गर्ने देखि जनताको करबाट जम्मा भएको राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेर देश र जनतालाई कंगाल बनाउँदै आएको राजतन्त्रात्मक सत्ताका विरुद्ध जनताले पटक–पटक खबरदारी गर्दै आएका थिए । अन्तमा १० वर्षको जनयुद्ध र ०६२–०६३ सालको जुझरु जनआन्दोलनको बलमा राजतन्त्रात्मक सत्ता सदाका निमित्त समाप्त भयो । त्यो असल पक्ष थियो । राजतन्त्रको हातमा रहेको सत्ता खोसेपछि युगौँदेखि उत्पीडनमा पारिएका मजदुर, किसानको हातमा सत्ता आउनु पत्थ्र्यो । त्यो पुरा हुन सकेन बरु उक्त सत्ता बिदेशी दलाल नोकरशाही पुँजीपति वर्गको हातमा पुग्यो । अद्यपी यसका विरुद्ध तत्कालीन व्यवस्थामा आवाज नउठेको होइन । तर आन्दोलन सशक्त बन्न नसक्दा जनताले जितेर पनि एक पटक पुन हार व्यहोर्न बाध्य भयो ।
जसले गर्दा यतिबेला हाम्रो देश अत्यन्तै ठुल–ठुला दलदलमा फस्न पुगेको छ । लोकतान्त्रिक गणतन्त्र आफैमा एउटा उत्पीडनकारी व्यवस्था हो । दलाल हुनुको नाताले यो आफै विकृत छ । दलाल व्यवस्था भित्रका संसदीय पार्टीहरु आफैमा भ्रस्ट र पतित छन् । केही नेताहरुलाई छाडेर सबै पार्टीका नेताहरु भ्रष्ट भएका तथ्यगत समाचारहरु बाहिर आइरहेका छन् । मुख्य–मुख्य घटनाका रुपमा बाहिर आएका प्रेस खरिद, नेपालीलाई भुटानी सर्नार्थी बनाएर बेचेका घटना, ललिता निवासको सरकारी जमिन विक्री, बाल मन्दिरको जमिन विक्री, गिरीबन्धु टिस्टेटको जमिन विक्री, बाहालवाला गृहमन्त्रीको सेटीङमा भिजिट भिषा मिलाएर मानव तस्करी, नागरिकता हुँदा हुँदै राष्ट्रिय परिचय पत्रका नाममा प्रत्येक नागरिकको हुलिया साम्राज्यवादको हातमा पु¥याउने जस्ता अत्यन्तै जनविरोधी र राष्ट्र विरोधी काण्डहरु हुँदै आएका छन् । दर्जनाँै मानिसलाई इट्टा भट्टमा हालेर जलाउनेहरु न्यायधीशको सेटिङमा छुट्नुले अदालत, कर्मचारीतन्त्र, सुरक्षा निकाय लगायत राज्यका कुनै पनि तह र तप्का भ्रष्टाचारबाट मुक्त छैनन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग देखिएको छ । सरकारमात्र होइन दलाल राज्य व्यवस्था नै भ्रष्ट र निकम्मा साबित भइसकेको छ । स्वयम् पुँजीवादी देशको संस्था युरोपियन युनियन र साम्राज्यवादको नाइके अमेरिकी सरकारले समेत नेपाललाई भ्रष्टचारीहरुको देशको रुपमा सुचिकृत गरेको छ ।
यसर्थ भ्रष्टाचार सचिनुको सट्टा दिनप्रतिदिन बढ्दै गएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विगत देखि नै भ्रष्टाचारका विरुद्ध सशक्त आवाज उठाउदै आएको कुरा सर्वविदितै छ । यतीबेला पार्टीले आम जनताको सहयोगमा भ्रष्टाचार विरुद्धको अभियानलाई अगाडी बढाउने योजनाका साथ यही ०८२ असार ५ गतेबाट यसको सुरुवात गर्दै छ । साथै यो भ्रष्ट र निकम्मा दलाल व्यवस्थाको अन्त्यसँगै संघीय जनगणन्त्रको पक्षमा लामबद्ध हुन हामी सबैमा अपिल गर्दछौँ । किनकी संघीय जनगणतन्त्रमा सत्ताका हरेक निकाय माथि मजदुर, किसानलगायत जनसमुदायहरुको निगरानी र नियन्त्रण हुने हुँदा उक्त व्यावस्था आफैमा स्वाच्छ बन्ने कुरा निश्चित छ । त्यसैले हामी आम जनसमुदायमा अपील गर्दछौँ । आउनुहोस् भ्रष्टाचार विरोधी अभियानमा समर्थन, सहयोग र सहभागी बनौँ । हामी हाम्रै लागि अग्रसर बनौँ । भ्रष्टाचार विरोधी अभियानको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्नेछ ।
