
इश्वरी प्रसाद गैरे, वैशाख २८ ,दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’की ममतामयी आमा जानकादेवी वैद्यको निधन भएको पाँचौं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेल ‘प्रतिक’ हुनुहुन्थ्यो । । पार्टीका पोलिटव्यूरो सदस्य तथा चार नम्बर व्यूरो इन्चार्ज श्यामबहादुर बोहरा अटलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका ४ नम्बर व्यूरो सचिव समिर केसीले गर्नु भएको थियो ।
कार्यक्रममा जानकादेवी वैद्यका जेष्ठ सुपुत्र तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले आमालाई सम्झँदै वहाँ पुरानो जमनाको महिला भएपनि सामाजिक परिवर्तनको आन्दोलनमा कहिल्यै निरुत्साहित नगरी पार्टी, क्रान्ति र आन्दोलनमा लाग्न सँधै प्रेरित गरेको बताउनु भयो । वैद्यले आमाले आफूहरुलाई रुपान्तरणको लागि प्रेरणा दिएको बताउनुभयो । वैद्यले पञ्चायती दमन, जनयुद्धकालीन समयमा आमाबाट धेरै सहयोग र समर्थन प्राप्त भएको बताउनु भयो। आमाले परिवारलाई रुपान्तरणकोलागि अभिप्रेरित गरेको बताउनु भयो ।
वैद्यले आफ्नी आमाले आफ्नै साथी भाइहरुले पनि धोका दिन सक्छन् सोची विचारी काम गर्नु भनेको पनि स्मरण गर्नुभयो । वहाँले कम्युनिष्टहरुको एकताको सन्दर्भमा भन्नुभयो ,“विचारधाराका आधारमा कम्युनिष्टहरुकोबीचमा एकता हुन जरुरी छ । विचारविनाको एकताको अर्थ छैन ।” कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेल प्रतिकले केही कम्युनिस्ट पार्टीहरु सत्ता स्वार्थमा लिप्त भएको बताउनु भयो । वहाँले भन्नु भयो कम्युनिष्टहरु विचार र आचरणको दृष्टिकोणले कम्युनिष्ट जस्तो हुनुपर्छ भन्नु भयो । कम्युनिष्टहरुले धर्मर संस्कृतिको मामलामा प्रष्ट दृष्टिकोण राख्नु पर्दछ । रुढीवादी संस्कारलाई त्याग्नु पर्दछ । भौतिकवादी द्वन्द्ववादी मान्यतालाई अपनाउनु पर्दछ । वहाँले संसदवादी यथास्थितिवादीहरुले वर्तमान देशको संकटलाई हल गर्न नसकेकाले प्रतिगामीहरु जागेका हुन् तर समस्यााको हल प्रतिगमनबाट होइन अग्रगमनमा जानु पर्दछ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य तथा ११ नं व्यूरो इञ्चार्ज अटल,क्रान्तिकारी महिला संगठन नेपालकी संयोजक अम्बिका मुढवरी,नेकपा माओवादी केन्द्रका निर्मल आचार्य, नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य संजिवकुमार,नेकपा बहुमतका लुम्बिनी व्यूरोका अनन्त,नेकपा मसालका भरत भण्डारी,नेकपा एमालेका केन्द्रीय समिति सल्लाहकार शम्भु गौतम, नेपाली कांग्रेसका केन्दीय सल्लाहकार पिताम्बर आचार्य, ज्येष्ठ पत्रकार तथा साहित्यकार नारायण प्रसाद शर्मा,सर्वोदय पुस्तकालय तथा वाचनालयका सुशिल गौतम, राप्ती साहित्य परिषद केन्द्रका अध्यक्ष कमलमणि देवकोटा ,नेपाल पत्रकार महासंघका सविन प्रियसिन , प्रगतिशील लेखक संघ दाङका सचिव पुरन शर्मा, रेडियो मध्यपश्चिमका संस्थापक उपाध्यक्ष ऋषिराज श्रीपाली, पोख्रेल सेवा समाज दाङका गोपाल पोख्रेल ,महिला नेतृ सुस्मा शर्मा,पूर्व प्राध्यापक सम्झना वि.क.,आमन्त्रित लक्ष्मीनारायण खनाल ,प्यूठान जिल्ला माण्डवी गा.पा. अध्यक्ष रोशन अधिकारी अतिथिहरु हुनुहुन्थ्यो । कार्यक्रममा जानकादेवी वैद्यको सम्झनामा १ मिनेट मौन धारण गरी तस्विरमा पुष्पगुच्चा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
किरणकी आमा जानकादेवी वैद्य उपाध्यायको जन्म विसं १९८३ पौष १५ गते अर्घाखाँची जिल्लाको अर्जुन अमलाचौरमा भएको थियो । उहाँको मृत्यु २०८२ बैशाख २४ गते भएको हो । कार्यक्रममा जानकादेवीका कान्छा छोरा मधुसुदन वैद्य र कान्छी छोरी रमा पोख्रेलले आमाको बारेमा विस्तृत जीवनी प्रस्तुत गर्नु भएको थियो। कान्छा छोरा मधुसुदनले आमाले हामीलाई जन्म दिनुको साथै अत्यन्त कठोर परिश्रम र निकै दुःख कष्ठका साथ हाम्रो लालनपालन, अध्ययन व्यवस्थापन, संरक्षण, अभिभावकत्व तथा मातृवात्सल्य प्रेमले अभिसिंचीत गर्दै सामाजिक रुपान्तरणको मार्ग तथा साम्यवादको उदत्त आदर्श प्राप्तिको दिशामा सक्दो साथ सहयोग दिदैं आउनुभयो । मृदुभाषी, विनम्र, दयालु, सहनशील तथा हक्की स्वभावकी हाम्री आमा आफ्नो संघर्षमय जीवनको करिव सय वर्षको ऐतिहासिक यात्रा पुरा गरी हामी सबैलाई विछोडमा पारी यहि वैशाख २४ गते बेलुकी साढे ५ बजे आफ्नै निवासमा मृत्युवरण गर्नुभयो भन्ने भनाई राख्नु भयो।
