
गिनिज बुढा,काठमाडौं : ईच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा प्रा डा ताराकान्त पाण्डेयको प्रथम वार्षिक स्मृति दिवसका सन्दर्भमा पुस्तक सार्बजनिकीकरण एवं पुरस्कार – सम्मान समारोह कार्यक्रमको आयोजना गरिएकोछ । माघ २ गते ईच्छुक साँस्कृतिक प्रतिष्ठानको सभा हलमा सो कार्यक्रमको अयोजना गरिएको हो ।

रू १ लाख तारा स्मृति पुरस्कार साहित्यकार समालोचक निनु चापागाईंलाई प्रदान गरिएकोछ ।
प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव तथा ईच्छुक साँस्कृतिक प्रतिष्ठानका सल्लाहकार सीपी गजुरेल गौरवले साहित्यकार चापागाईंलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । गौरवले आफ्नो सम्बन्ध ताराकान्त पाण्डेय सित विद्यार्थी कालदेखि हो भन्नु भयो ।जनयुद्धका बेला नभए पनि शान्ति प्रक्रियामा आए पछि पाण्डेय सित बारम्बार भेट भएको र पार्टीमा सँगै काम गरेको गौरवले स्मरण गर्नु भयो । आफ्नो क्षेत्रबाट कम्युनिस्ट आन्दोलनलाई उहाँले गरेको योगदान अबिस्मरणीय छ –गौरवले भन्नू भयो।
प्रा डा नन्दिश अधिकारीले निनु चापागाईंलाई नै किन तारा स्मृति पुरस्कारका लागि छनौट गरियो भन्ने बारे स्पष्ट गर्नु भयो। चापागाईं राल्फा आन्दोलनका एक अभियन्ता हुनुहुन्थ्यो , शिक्षण पेशा र शाखा अधिकृत समेत रही राष्ट्रको सेवा गर्नु भएको थियो,अनेरास्ववियुको पाँचौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्ष निर्वाचित भइ विद्यार्थी आन्दोलनमा योगदान पुर्याउनु भएको थियो , प्रगतिशील लेखक संघको केन्द्रीय अध्यक्ष सम्मको जिम्मेवारी पूरा गरी साहित्यकारहरूको नेतृत्व गर्नु भएकोथियो , ११ वटा कृतिको अनुवाद गरेका अहिले सम्म ९ वटा पुरस्कारबाट सम्मनित,सम्पादनको क्षेत्रमा स्मृति ग्रन्थ र साहित्यिक ग्रन्थहरू सम्पादन गरेको , जेष्ठता ,निरन्तरता,कृयाशीलता ,द्वन्द्वात्मक भौतिकवाद प्रति आस्थावान,सौन्दर्य चिन्तक लगायतको व्यक्तित्वलाई ध्यान दिएर ताराकान्त पाण्डेय स्मृति पुरस्कारका लागि निनु चापागाईंलाई नै छनौट गरिएको समारोहमा नन्दिश अधिकारीले सुनाउनु भएको थियो ।
नारायण शर्मा विपिनले ताराकान्त पाण्डेयको सम्झनामा शालिन बिद्रोहीको यादमा शीर्षकमा कविता बाचन गर्नु भएको थियो ।
जगत उपाध्यायले मन्तब्यको क्रममा २०८० पौष २७ गते ६३ वर्षको उमेरमा दाङको भालुबाङको दुर्घटनामा पाण्डेयको मृत्युु भएको घटनाको वर्णन गर्नु भएकोथियो ।
प्राध्यापक डाक्टर जगदिशचन्द्र भण्डारीले ताराकान्त पण्डेयको भूमिका बारे मन्तब्य राख्नु भयो । ताराकान्त पाण्डेयका समकक्षी साथी हरिभक्त कँडेलले पनि मन्तव्य राख्नु भएको थियो। निनु चापागाईले सम्मान र पुरस्कृत गरेकोमा आयोजक र ताराकान्त पाण्डेयका परिवार जन प्रति कृतज्ञता व्यक्त गर्नु भयो ।चापागाईंले लेखकले पुरस्कारको लागि लेख्ने होइन समाज रुपान्तरणका लागि लेख्ने हो भन्नू भयो। यो उहाँले प्राप्त गरेको दशौंपुरस्कार रहेको चापागाईंले जानकारी गराउनु भयो । चापागाईंले ताराकान्त पाण्डेय सित २०४२ देखि चिनजानी रहेको र अहिले उहाँकै नामबाट पुरस्कार र सम्मान प्राप्त गर्दा खुसी र गौरव महसुस गरेको बताउनु भयो । साहित्यमा प्रबेश गराउने गुरु हरिप्रसाद काफ्ले,पारिजात र सुकन्यालाई चापागाईंले त्यस अवसरमा सम्झनु भयो । चापागाईंले तारा पाण्डे साहित्यिक समालोचनाको क्षेत्रमा सिद्धान्तनिष्ठ व्यक्तित्व रहेको चर्चा गर्नु भयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तत्कालीन स्कूल विभागका प्रमुख राम सिंह श्रीसले सर्वहारा वर्गको निम्ति निरन्तर लाग्ने कार्य ताराकान्त पाण्डेयबाट सिक्नु पर्दछ भन्दै ईच्छुक प्रतिष्ठानले उहाँ सम्बन्धी राखेको कार्यक्रमलाई धन्यवाद दिनु भयो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालाका केन्द्रिय सदस्य हेमन्त प्रकाश वलीले ताराकान्त पाण्डेयलाई गमलामा फूलेको फूल होइन काँडा बीच फूलेको फूल अर्थात संघर्षको वीचबाट निर्माण भएको व्यक्तित्वको संज्ञा दिनु भयो । प्राध्यापक डाक्टर ताराकान्त पाण्डेयकी श्रीमती शिला योगीले सम्मान र पुरस्कार वितरण कार्यक्रमलाई सफल पार्न मद्दत गर्नु भएकोमा सबैलाई धन्यवाद दिनु भएको थियो ।
ईच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुखीले कार्यक्रमको अध्यक्षता गर्नु भएकोथियो । ईच्छुक साँस्कृतिक प्रतिष्ठानका सदस्य सचिव मोदनाथ मरहठ्ठा र कवि गौरी देवकोटाले कार्यक्रमको सन्चालन तथा ईच्छुक प्रतिष्ठानका सदस्य कवि मित्रलाल पंज्ञेनीले स्वागत गर्नु भएको थियो ।
तारानाथ पाण्डे सम्बन्धी दुई वटा पुस्तक सार्बजनिक गरिएको थियो । ताराकान्त भन्ने पुस्तक बारे अमृता शर्माले पाठकीय अनुभुति सुनाउनु भयो ।पुस्तक ५६८ पृष्ठको रहेको जानकारी दिइएको थियो । ताराकान्तको आफ्नो समालोचना कृति ‘समकालीन नेपाली कवितामा वर्गसौन्दर्य’ मा समीक्षा डा अमर गिरीले र ताराकान्तको समग्र व्यक्तित्व र कृतित्वमा प्रा डा जगदीशचन्द्र भण्डारी र प्रा जगत उपाध्यायले विशेष चर्चा गर्नुभएको थियो ।
डा ताराकान्त पाण्डेयको तस्वीरमा माल्र्यापणसहित सुरु भएको कार्यक्रममा प्रा डा ताराकान्त पाण्डेयकी छोरी डा तितीक्षा शर्मालगायत परिवारका सदस्यहरुलाई अतिथि आसन ग्रहण गराइएको थियो ।