चाडबाडलाई सस्तो तरिकाले मनाऔं

अहिले नेपालीहरुको घर आँगनमा चाडवाड आउँदैछ । विस्तारै वर्षायाम सकिएपछि चाडवाड एक एक गरी दशैं, तिहार, छठ जस्ता चाडवाडहरु नेपालीको घर आँगनमा आउँदै छन् ,यी चाडवाडहरुको सकरात्मक नकरात्मक दुवै पक्ष रहेका छन् । चाडबाड मनाउन सबै आफन्ती इष्ट्रमित्रहरु देश, विदेशबाट आउने गर्दछन् । चाडबाडको समयमा सबैसंग भेटघाट हुन पाइने वषौंदेखि भेटघाट हुन नपाएकारुबीच भेटघाट हुने, दुःख सुखको साटासाट गर्न पाईने, आपसी मेलमिलाप गर्ने समय पाईने हुन्छ ।देशमा रहेका होस या घरमा रहेका खेती किसानी गर्नेहरु होस या कुनै पेशा व्यवसाय गर्नेहरु ,जागिरको शिलशिलामा घरबाहिर रहेकाहरु होस या अध्ययन अध्यापनकोलागि घर छोडेर पर पर पुगेकाहरु जो सुकैले पनि यी चाडबाडको समयमा अलिकता फुर्सद निकाल्ने र विदा मिल्ने भएकाले अरु समयमा निकै व्यस्त रहेकाहरुको पनि यी चाडबाडको समयमा आपसी मेलमिलाप भेटघाटको समय मिल्दछ ।एक अर्काका पीर व्यथालाई साटासाट गर्न पनि पाईन्छ । त्यसले गर्दा आपसी सौहार्दताको विकास गर्न पाईन्छ । जो जोसंग पैसा हुँदैन जो संग पर्याप्त खर्च गर्ने क्षमता दुःख गर्दा गर्दै पनि हुँदैन,आजैकोलागि सोच्दा सोच्दै दिनहरु बितिजान्छ ,उनीहरुलाई चाडवाडले सँधै दुःख दिएर जाने गर्दछ । ऋण बोकाएर जाने गर्दछ । ऋणले सँधै भरिलाई सताउने गर्दछ । चाडवाड मनाउँदा लागेको ऋण तिर्न फेरी परदेशतिर पुग्नु पर्ने बनाउँछ ।चाडवाड मनाउनकोलागि भनेर कैयौं महिना अगाडिदेखि जोहोमा लाग्नु पर्दछ ।

हाम्रो समाजमा प्रचलित चाडबाडहरुलाई कसरी मनाउने भन्ने रहेको छ । अचेल चाडवाडलाई निकै भड्किलो बनाइँदैछ ।यी चाडवाडहरु अहिले पुराना मूल्य मान्यताहरु भन्दा बाहिर गएर निकै महंगो तरिकाले मनाउने सके पनि नसकेपनि ऋण धन गरेर मनाउने चलनको विकास हुँदैछ । चाडबाड अहिले सबैको हैसियत हेर्ने र जाँच्ने माध्यम बनेजस्तो भएको छ ।जसरी भएपनि चाडवाड मनाउनै पर्ने बाध्यता हाम्रो समाजमा रहेको छ ।

अहिले हाम्रो देशको उत्पादन हराउँदै गएको छ ।खेतबारी बाँझा भएका छन् उत्पादनलाई त्यति ध्यान दिने फुर्सद कसैसंग पनि छैन । उत्पादन हुने मलिला जग्गाहरुमा विना योजना घर घडेरी बनेका छन् । आफ्नो उत्पादनलाई भन्दा पैसालाई ठूलो देख्ने मानसिकताको विकास भएको छ । खेतीबारी उत्पादन गर्ने ,उत्पादनमा लाग्ने उत्पादित उब्जनीको संरक्षण गर्ने चलन हराउँदै गएको छ । जग्गा नहुनेहरुसंग छैन हुनेले उत्पादन गर्दैन ।समस्याहरु अनेक छन् । आफ्नै उत्पादनले चाडवाड मनाउने भन्ने अब रहेको छैन । जस्तै दशैंमा घरमा खसी नकाटी नहुने छ भने पहिले पहिले आमा, बुवा ,हजुरआमा हजुरबाले दशैंलाई भनेर खसी पालेर हुर्काएर राख्ने ,गाउँलाई मासु चाहिन्छ भनेर गाउँमै मासु दिने पशुहरु पालेर राख्ने र आफ्नै उत्पादनले चाडवाड उम्काउने गर्दथे । आफ्नै उत्पादन आफ्नै बारी खेतमा उत्पादित दाल ,चामल ,साग ,सब्जीको भरमा चाडवाड मनाउने चलन थियो ।गाउँघर शहर जतापनि बाटोघाटो पुगेको थिएन । आफ्नै उत्पादन नगरी हुँदैनथ्यो । उत्पादनमा सबैको ध्यान पुगेको हुन्थ्यो तर अहिले त्यस्तो गर्ने मनशाय कसैको छैन ।

लेखक : मनु विक

सबै कुराको व्यापार प्रशस्त रहेको छ । चामल घरमा राख्नु बनाउनु पर्दैन बजारले पु¥याएको छ । साग,सब्जी ,दाल, तेल सबै सबै गाउँघरदेखि लिएर शहर बजारमा उपलब्ध छ। घर गाउँमा महंगा देशी विदेशी रक्सीहरु पुगेका छन् ।रक्सीले पसलहरु टन्न छन् ।जे भन्यो त्यही कुराको उपलब्धता बजारले गराई दिएको छ । जसरी पनि ती कुराहरुको उपभोग गर्ने परिपाटीको विकास हुँदैछ ।सकीनसकी तिनीहरु खरिद नगरेमा इज्ज्यत तथा प्रतिष्ठाको विषय बन्ने स्थिति बन्दैछ । समाज रुपान्तरणकोलागि भनेर विगत वा हाल पनि हिडेकाहरु अब रक्सी खानु हुँदैन भनेर भन्नेमा छैनन् । देशमा ब्राण्डिङको कुरा छ । यसले यो सबैले खान हुने रहेछ भन्ने बच्चा युवा सबैमा परिरहेको छ ।

ब्राण्डिङ होस या नहोस रक्सी स्वास्थ्यकोलागि कति हानिकारक छ छलफलको आवश्यकता छ । तर अहिले नखाई नहुने जस्तो बनाइँदैछ । चाडवाडको समयमा रक्सीको अत्यधिक सेवनबाट पारिवारिक तथा साथीभाईहरुकोबीचमा झैझगडा हुने मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा सडक दूर्घटनाहरु अत्यधिक हुने गर्दछन् । मारपिट पनि हुने गर्दछ ।त्यसैले तिनीहरुको सेवनलाई नियन्त्रण गर्नु पर्दछ चाडवाडमा हुने अर्को धेरै गम्भीर कुरा भनेको तास, जुवा खेल्ने पनि हो ।रक्सीको ताल लगायो तास जुवा खेल्यो । रातदिन तासमा हिँड्ने पनि चाडवाडको बेला हुने गर्दछ । परिवारमा सदस्यहरु वा एक जना सदस्य तास जुवामा हिँड्ने हुँदा परिवारमा सास्ती हुनुको साथै आर्थिक भार पनि पर्दछ ।

अहिले नेपालीहरुले मनाउने चाडवाडहरुमा मासुकालागि विदेशी पशुहरु ल्याउने चलन निकै बढेको छ । सरकारको नीति नै विदेशी पशु चौपायाँ ल्याउने र व्यापार गर्ने रहेको छ ।करोडौंको खसी चौपायाँ विदेशबाट आयात हुन थालेको लामो समय भैसकेको छ । नेपालीहरुले जनै पूर्णिमाको दिनमा बान्ने जनाई विदेशी ,दशैं तिहारमा प्रयोग हुने फूलमाला विदेशी ,खाने मासुदेखि लिएर अन्नपात सबै विदेशी नै प्रयोग गर्नु पर्ने स्थिति रहेको छ । त्यसो भएपछि स्वदेशी पैसा थोरै होओस या धेरै उतै विदेश तिरै पुग्दछ । नेपालीहरुलाई जहिलेपनि दुःखको दुःख भोग्नु पर्ने भइरहेको छ ।

चाडवाडहरुलाई मनाउँदा भरसक कम खर्चमा मनाउनु पर्दछ ।हाम्रो समाजमा एउटा राम्रो उखान रहेको छ ।“घाँटी हेरी हाड निल्नु ”ऋणधन गरेर नभई जति सकिन्छ त्यही तरिकाले चाडवाड मनाउनु पर्दछ । चाडवाड मनाउँदा प्रकृति मैत्री तरिकाले मनाउनु आवश्यक छ । प्रकृतिमा रहेका फलफूलहरुलाई सकेसम्म जोगाएर बचाएर प्रयोग गर्ने गर्नु पर्दछ । बजारमा सक्दो सामानहरुको उपलब्धता छ भन्दैमा सबैको खरिद गर्नु पर्छ भन्ने होइन खानपानमा पनि विशेष ख्याल गर्नु पर्दछ । धेरै खाने ,एकै चोटी खाने, शारीरिक कसरत नहुने ,अपच हुने , बढी चिल्लो पदार्थ ,बढी पिरो अमिलो राखेको ,भुटेका,े तारेको वा तेलमा पकाएका खानाहरु स्वास्थ्यको लागि हानिकारक रहेका छन् । यिनीहरुको अत्यधिक सेवनले तत्कालै असर गर्न सक्दछ ।

जस्तै असोज कार्तिकको महिना भनेको मौसम परिवर्तनको समय हो ।जाडोपनि शुरु हुन लागेको गर्मी पनि सकिन लागेको हुन्छ ।यो अवस्थामा अत्यधिक रुपमा चिसो पेय पदार्थहरुको सेवनले बालबच्चा,वृद्ध र रोगीहरुलाई निकै असर पुग्दछ । त्यसकारण चिसो पेय पदार्थ सेवन गर्ने समयमा अलिकता ध्यान दिनु पर्दछ। खानाखेर नपाली खानु पर्दछ । खाना खेर फालिने गरी बनाउनु हुँदैन । प्राय चाडवाड हो भनेरधेरै खाना बनाउने र सड्ने गर्दछ । यसो गर्नु हुँदैन । खाना संरक्षण गर्नु जान्नु पर्दछ । खाना खेर फाल्ने चलन पनि हुन्छ । चाडवाडको समयमा खाना चढाउने भन्ने नाममा बजारमा खाना निकै फाल्ने चलन छ , यसो गर्नु हुँदैन।

हामीले भान्सामा प्राप्त गर्ने खाना निकै मिहनेत पछि मात्रै भान्सामा आउने हो । त्यसै भान्सामा आउने होईन त्यसमा किसानहरुको वर्षभरिको परिश्रम परेको हुन्छ ।किसानको मात्र होइन नाफा खाने व्यापारीहरुको पनि मेहनत नै परेको हुन्छ ।त्यो भन्दा अझै बढि आफूले सकी नसकी कमाएको परिश्रम परेको हुन्छ । त्यसकारण खाना खेर फाल्नु हुँदैन ।खेर जाने गरी बनाउँनु हुँदैन । दशैंमा सबैको अाँखा दक्षिणामा रहेको हुन्छ । भए पनि नभएपनि अलि धेरै नै दक्षिणा दिए हुने थियो भन्ने हुन्छ ।तर भरसक दक्षिणा दिने चलन हटाउनेतिर लाग्नु राम्रो हुन्छ ।धेरै दक्षिणा दिने चलनले आर्थिक रुपमा कमजोरहरुलाई निकै गाह्रो हुन्छ ।

चाडवाडलाई कम खर्चिलो र भड्किलो बनाउन सबैले ध्यान दिनु पर्दछ ।हुनेहरुले धेरै देखाउने मानसिकता छोड्नु पर्दछ ।नहुनेहरुले कसैको पनि देखासिखी गर्नु हुँदैन ।लगातार रुपमा आउने चाडवाडले नहुने गरिब दुःखीहरुलाई केही सोच्न नसक्ने बनाउँछन् ।बढी खर्च तडक भडकले समाज र आफैलाई हानी बाहेक केही गर्दैन । हाम्रो चालचलन अनुसार आउने चाडवाडलाई सस्तो र कम खर्चिलो तरिकाले मनाउनु पर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?