काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले टि.आर.सी. विधेयक सत्यनिरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक विवेक सम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याउन अनुरोध गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ भाद्र २ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो अनुरोध गरेका हुन् ।
वक्तव्यमा संसदमा विधेयक प्रस्तुत गरिन् सकारात्मक भएपनि त्यससम्बन्धी कैयौं विषयहरुमा असहमति र विरोध रहेको वक्तव्यमा जनाइएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार रहेको छ –“लामो समयदेखि प्रतीक्षारत सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक संसदमा प्रस्तुत गरिनु सकारात्मक भएपनि त्यस सन्दर्भका केही महत्वपूर्ण विषयमा हाम्रो पार्टीको विरोध तथा असहमति पनि रहेका छन् । त्यस सम्बन्धी पार्टीको धारणा यसै प्रेस–वक्तव्य मार्फत निम्न अनुसार सार्वजनिक गर्दछौं ।

१. विधेयक निर्माण गर्ने प्रक्रियामा हाम्रो पार्टी लगायत सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको छ ।
२. विधेयकबारे निर्णय लिने प्रक्रियामा संसदमा पनि छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुभित्र गम्भीर षडयन्त्र लुकेको छ ।
३. यो विधेयक अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको छ र यसलाई द्वन्द्वकालीन घटना विशेषका रुपमा लिनुभन्दा पनि सामान्य प्रकारका घटनाका रूपमा लिइएको छ ।
४. उक्त प्रकारको विरोध तथा असहमतिका साथै सो विधेयक पारित हुन भइसकेको अवस्थामा त्यसलाई विवेकसम्मत तथा न्यायपूर्ण ढंगले प्रयोगमा ल्याइयोस् भन्ने हाम्रो पार्टीको दृढ धारणा रहेको छ ।
५. राज्यसत्ताको यो षडयन्त्रपूर्ण रवैयाप्रति सजग रहन हाम्रो पार्टी आम जनसमुदायलाई आह्वान गर्दछ ।”