बृटिश साम्राज्यवादको पञ्जाबाट १५ अगस्टका दिन भारत स्वतन्त्र भएको थियो । त्यस दिन मध्यरातमा स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले भनेका थिए – ‘धेरै बर्ष पहिला हामीले भाग्यसँग साक्षात्कार ग¥यौं र अब समय आएको छ कि हामीले आफ्नो प्रतिज्ञा पूरा गर्नु छ । आधारातको समयमा जब सारा संसार सुतिरहेको होला त्यतिबेला भारत आफ्नो जीवन र स्वतन्त्रताको लागि जाग्नेछ’ । यो उद्गार १४ अगस्ट १९४७ को दिन समाप्त हुनै लाग्दा भारत र संविधान सभालाई संबोधन गर्दै नेहरुले ब्यक्त गरेका हुन् ।
भारतको स्वतन्त्रताका लागि धेरै स्वाधीनताप्रेमी जनताका प्रतिनिधहरुले आफ्नो जीवनको आहुती दिएका छन् । कठोर संघर्ष र बलिदान गरेका छन् । असैह्य पीडा र दण्ड सजायको भागी बनेका छन् । भारतीय स्वतन्त्रता दिवसको स्मरण गरिरहँदा ती मानिसहरुलाई श्रद्धाञ्जली दिनै पर्दछ जसले आफ्नो सुन्दर जीवनको कुर्वानी दिएर बृटिश साम्राज्यबादको २०० बर्षको दासताबाट स्वतन्त्रता र मुक्तिको श्वास फेर्ने एउटा मिर्मिरे उज्यालो ल्याउन सफल भएका थिए ।
वास्तवमा भारतको स्वतन्त्रता संग्राम अनेक बिद्रोह र सशस्त्र संघर्षका समेत अनेक साना ठूला चरणहरुबाट गुज्रिएको थियो । बृटिश दासताको पहिलो एक सय बर्षमा पूरै भारतभरी यस्ता कयौं बिद्रोहरुहरु भएका थिए । त्यो पारम्परिक बिद्रोहको अन्त्य १८५७ को सिपाही बिद्रोको साथ भएको यसको इतिहास छ । जुन बिद्रोहमा स्थानीय शासक, सैनिक र किसानहरुको संयुक्त बिरोध थियो । त्यो बिद्रोह वास्तवमा बृटिश साम्राज्यकाप्रति ती मानिसहरुमा उत्पन्न भएको असन्तोष, घृणा र बिद्रोहको भाबना तथा बृटिश शासनप्रतिको बिरोधको परिणाम थियो । बृटिश साम्राज्यबाद बिरोधी त्यस्ता आन्दोलनहरु बिफल भएका भए पनि ती आन्दोलनहरुले परिबर्तनका नायकहरु पैदा गरिदिएको थियो र त्यसले भारतीय जनताका बीच एकताको दृढ भावना उत्पन्न गरिदिएको थियो ।
त्यस्ता बिद्रोही नायकहरुमध्ये मंगल पाण्डेलाई भारतमा बिद्रोहका एक महान नायक मानिने गरिन्छ । त्यस्तै गरेर अन्य बृटिश बिरोधी स्वतन्त्रताका योद्धाहरुमा रानी लक्ष्मी बाई, तात्या टोपे र नाना शाहेब समेत रहेका छन् । तिनले नेतृत्व गरेका बिद्रोहहरुले जनस्तरको बृटिश शासनको जग हल्लाइ दिएको थियो । जनताको त्यो बिद्रोहको आँचले गर्दा नै अन्त्यतः भारतको सत्ता बृटिश इस्ट इण्डिया कम्पनीसँगबाट हटाएर बृटिश क्राउन अर्थात बेलायती राजतन्त्रमा सारिएको थियो ।
१८८५ देखि १९०५ का बीचको समयमा भारतमा राष्ट्रबादको बिऊ रोपिएको मानिन्छ । एकजना सेवा निबृत्त बृटिश स्वयं सेवक एओ ह्यूमको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसको गठन भएको थियो । १९०५ मा भारतमा बढ्दो राष्ट्रबादको भाबनालाई नियन्त्रणमा लिनका लागि भाइसराय कर्जनले बंगाल बिभाजनको आरम्भ गरे । त्यसबाट त्यहाँ स्वेदशी आन्दोलनको शुरुवात भयो र बृटिश सामानहरुको बहिष्कार भयो । यसरी लर्ड कर्जनको त्यो योजनाका बिपरीत सारा भारतबासीहरु एक जुट भएर अघि बढे ।
त्यसको एक बर्ष पछि गंगाधर तिलक, बिपिन चन्द्र पाल र अरबिन्द घोषहरुले स्वराजको वकालत गरे । १९१९ मा रोलोट अधिनियमका बिरुद्ध लाला लाजपत रायको नेतृत्वमा ब्यापक राष्ट्रिय अभियान शुरु भयो जसमा उनी गम्भीररुपले घाइते हुन पुगे ।
काकोरी षडयन्त्रको मामिलामा राम प्रसाद बिस्मिल र अस्फाखउल्ला खानलाई फाँसी दिइयो । चन्द्रशेखर आजाद र खुदीराम बोस त्यो समयका चर्चित क्रान्तिकारी थिए । मार्च १९३१ म एक पछि अर्को बृटिश षडयन्त्रको श्रृंखला पछि भगत सिंह, राजगुरु र सुखदेबलाई पनि फाँसी दिइसकिएको थियो । कतिपय अन्य क्रान्तिकारी समूहहरु पनि थिए । त्यस्ता समूहमध्ये एक थिए सूर्य सेनको नेतृत्वको बंगालको चटगाउँको समूह ।
यो त्यतिबेलाको कुरा थियो जति बेला भारतीय आन्दोलनको राजनैतिक परिदृष्यमा महात्मा गान्धि आइसकेका थिए । उनको मूख्य योगदान उनको अहिंस्रक आन्दोलन र सत्याग्रहलाई मानिन्छ । उनको मूख्य बिश्वास सत्य, अहिंसा र मानिसमाथिको प्रेम मानिएको थियो । उनको आफ्नो आश्रम – सावरमति आश्रमदेखि दण्डीसम्म मार्च गरेर गान्धिले नमक( नून )आन्दोनलको आरम्भ गरेका थिए । दोश्रो बिश्व युद्धका बेला सुभाष चन्द्र बोस आफ्नो समयको एक शक्तिशाली नेता बनेर देखापरे । उनले आजाद हिन्द फौजकै गठन र त्यसको नेतृत्व गरिरहेका थिए । त्यसबेला कयौं महिला नेताहरुले पनि साम्राज्यबाद बिरोधी स्वतन्त्रताको आन्दोलनमा सक्रिय भाग लिएका थिए । तीमध्ये अरुणा आसफ अली, सरोजिनी नायडु,भिकाजी कामना, सुचेता कृपलानी, झासीकी रानीहरुको नाम भारतको स्वतन्त्रता संग्राममा अग्रपंक्तिमा आउँदछ ।
सन् १९४२ देखि ‘भारत छोडो’ आन्दोलन त्यहाँ शुरु गरियो । त्यसमा बृटिश साम्राज्यबादलाई चाँडोभन्दा चाँडो भारत छोड्न माग गरिएको थियो । आन्दोलन चर्किदै गए पछि जून १९४७ मा लर्ड माउण्टबेटनले भारतको विभाजन गर्ने योजनाको घोषणा गरे । अगस्ट १९४७ मा भारतलाई दुई देशकारुपमा बाँडियो । त्यस बिभाजनबाट धर्मनिरपेक्ष भारत र मुस्लिम पाकिस्तान बन्न गए ।
यसरी यो स्वतन्त्रता संग्रामको अन्तिम निष्कर्श भारतको बिभाजन बन्न पुग्यो । त्यो वास्तबमा स्वतन्त्रता संग्रामको उदेश्य र लक्ष बिपरीतको अस्वीकार्य कार्य थियो । भारतलाई दुइ भागमा बिभक्त गरेर बेलायतीहरु फर्किए । त्यो भारतको बिभाजन धार्मिक आधारमा गरिएको थियो । फलतः पाकिस्तान इस्लामी राष्ट्र बन्यो र भारतलाई धर्म निरपेक्ष देश भनियो ।
आज भारतले स्वतन्त्रता पाएको ८ दशक पुग्न लाग्दा पनि यो प्रश्न बारम्बार उठिरहेको छ र उठिरहन्छ कि त्यो बिभाजन सही थियो कि थिएन ? त्यसलाई टार्न सकिन्थ्यो कि सकिदैनथ्यो ? त्यो बिभाजनले भारत र पाकिस्तान दुबैलाई बर्बाद तुल्यायो । बिभाजनपछि भएको पलायनले मानिसहरुलाई अन्त्यहीन पीडा र दुःख कष्ट दियो । त्यो देशको बिभाजन त भयो नै पञ्जाब र पश्चिम बंगाल राज्यहरुको पनि बिभाजन भयो । त्यसो गरिदा कयौं दंगाफसादहरु भए, कयौ मानिसहरुको ज्यान पनि गयो । हिन्दू र मुसलमानहरुले यसमा शासनयन्त्रको एउटा औजारकोरुपमा महिला शक्तिलाई उपयोग गरे । त्यस क्रममा कयौं महिलाहरुको इज्जतसँग खेलबाड मात्र गरिएन, उनीहरुमाथि बलात्कार जस्तो घृणित हर्कतको शिकार पनि बनाइयो ।
वास्तवमा आज पनि भारत र पाकिस्तानको त्यो बिभाजनको घाउ पुरिएको र खाटा बसेको छैन । बरु उल्टै सीमा बिबादका कारण दुई देशका बीच परस्परमा कयौं पटक युद्ध पनि भएको छ । आधिकारिक सीमा निर्धारित भएको भनिए पनि यो बिबाद अहिलेसम्म सुल्झिएर समाप्त भएको छैन । कश्मिरमाथिको अधिकारको मुद्दालाई लिएर आज पनि त्यहाँ गतिरोध कायमै छ । खाश गरेर कश्मिर मामिला बर्षौं बर्षदेखि सुल्झिएको छैन । यो गतिरोधपूर्ण अबस्थाकै रुपमा रहेको छ । त्यहीँ सीमारेखाको समस्यालाई लिएर पछिल्लो पटक कारगील युद्ध पनि भएको हो । दुबै देशका बीच अहिले पनि खिचातानी र दुश्मनी रहेकै छ । भारतले कश्मिलाई दिएको बिशेष संबैधानिक हैसियतलाई पनि मोदी सरकारले समाप्त पारेपछि पनि यो मुद्दा नसुल्झिएकै अबस्थामा रहीरहेको छ । कारगिल युद्ध त्यही सीमारेखाको समस्यालाई लिएर भएको हो । यो समस्या अहिले पनि जारी नै छ ।
सर्सरी हेर्दा स्वतन्त्रता संग्राम र त्यसपछि यता भारतले लामो यात्रा गरिसकेको छ । भारतका कतिपय क्षेत्रमा बिकास यात्रा निक्कै अगाडि पनि बढेको छ । खाशगरी बिज्ञान र प्रबिधि तथा सूचना र सञ्चारको क्षेत्रलाई यस सम्वन्धमा औंल्याउन सकिन्छ । यसका अतिरिक्त स्वास्थ्य, शिक्षा, परमाणु ऊर्जामा पनि निक्कै प्रगति हासिल गरेको देखिन्छ र भारत पनि परमाणु शक्तिमा दरिएको छ । भारतले अन्तरिक्षमा उपग्रह पनि छोडिसकेको र चन्द्रमामा पनि टेकिसके छ । तर अझै पनि भारतले उन्नत देशको दाँजोमा पुग्न धेरै कुरा गर्न बाँकी रहेको छ । आज पनि भारतलाई त्यहाँको प्रगतिको फाइदा उठाउने २० करोडको ‘इण्डिया’ भनिन्छ । त्यहाँका १ अर्ब १० करोड मानिसलाई भारतबासी भनिन्छ । यसको प्रष्ट अर्थ हो कि असमानताको खाडल त्यहाँ अत्यन्तै ठूलो छ । त्यहाँका किसानले आत्म हत्या गर्नु परिरहेको छ । मदजुरहरुको कामको सुरक्षा छैन । महिलाहरुको सबभन्दा बढी बलात्कार र हत्या गरिने देशकोरुपमा इण्डिया परिचित छ ।
त्यत्रो स्वतन्त्रताको लागि लडेको भारतको आफ्ना वरिपरीका कुनै पनि छिमेकी मुलुकहरुसँग सम्वन्ध राम्रो छैन । पाकिस्तानको कुरा त माथि नै पनि आइनै सक्यो । चीन, नेपाल, भूटान, श्रीलंका, माल्दीभ्स, बंगलादेश कुनै पनि सीमाना जोडिएका निकट देशहरुसँग भारतको किचोला छ । नेपालको त कालापानी, लिपुलेक, लिम्पियाधुरामा बर्षौदेखि फौजी अखडा नै बनाएर इण्डिया बसेको छ भने सुस्ता लगायत देशका ७१ स्थानमा सीमा मिचिएको छ । अनेक असमान सन्धिहरु गरेर नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राखिराख्ने हिसाव किताबले भारतीय शासक बर्ग चलेको छ । यी सबै हाम्रो स्वाधीनता, अखण्डता र स्वाभीमान बिरोधी अतिक्रमणकारी गतिबिधिले समेत भारतीय सत्ता प्रतिष्ठान बृटिशकालीन साम्राज्यबादी मानसिकता बोकेरै छिमेकीहरुसँग प्रस्तुत हुने गर्दै आएको देखिन्छ । यो भारतीय स्वतन्त्रता संग्रामको पनि मर्म र भावना बिपरीत कुरा हो । यस्तो मानसिकता त्यागेर पञ्चशील, संयक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय संहिता र कानुनहरुका आधारमा परस्पारिक साझा हित र सम्मान तथा समानताको बाटोा चल्ने नगरेसम्म भारतको अभिजात बर्गीय साशन सत्तासँग कुनै पनि छिमेकी देशहरुको सम्बन्ध सुध्रिने देखिदैन । अनि भारतीय जनताले स्वतन्त्रताका लागि त्यत्रो त्याग, बलिदान र रोमहर्षकारी संघर्ष गरेको सार्थकता पनि रहँदैन । नेपाल र भारतका जनताले यो कुरालाई गम्भीरताकासाथ लिएर पारस्परिक साझा हितलाई अघि बढाउन सिक्नु र सक्नु पर्दछ । किनभने दुबै देशका जनताको साझा स्वार्थ र हित साम्राज्यबाद बिरोधी तथा सामन्तबाद बिरोधी रहेको छ । दुई देश बीचको यो जन–मैत्री अमर रहोस् !