काठमाडाैँ : रामेछापको दोरम्बा शैलुङ्ग दोरम्बा गाउँपालिको दोरम्बा हत्याकाण्ड घटेको आज २२ बर्ष पुगेको छ । २२ बर्ष अघि अर्थात २०६० साल साउन ३२ गते दोरम्बा शैलुङ्ग गाउँपालिकाको दोरम्बामा तत्कालिन बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन शाही नेपाली सेनाले माओवादीका २१ जना नेता कार्यकर्ताको सामुहिक हत्या गरेको थियो ।

२०६० साल साउन ३२ गते रामेछाको दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित २१ जनाको हत्या गरेपनि उक्त घटना राष्ट्रिय अन्तर्राष्ट्रि रुपमा चर्चाको बिषय बन्न पुगेको थियो । उक्त घटनामा माओवादीका अम्बिका दाहाल (ललिका), प्रदिप दोङ (रक्तिम), टेकबहादुर थापामगर (विवेक), हर्कबहादुर तामाङ (यथार्थ), विष्णुमाया मगर (बिमा), रवि चौहान (समिर), ठूलाराम तामाङ (छोप्पा), सानाराम तामाङ (तारा), लक्ष्मण तामाङ (छाया), उमा कार्की (साहारा), पदमराज गिरी (असल), श्याम तामाङ (इन्क्लाव), सोमाइ थामी (संगीता), हर्क लक्ष्मी राई, जमिन, सोम, उषा, शिक्षक युवराज मोक्तान र लिला मोक्तानको सामुहिक हत्या भएको थियो ।

दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवरसमा आज माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट रामेछाप-काठमाडाैँ जनगणतान्त्रिक मञ्चले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ नं. प्रदेश संगठन समितिकाे कार्यालय ललितपुरकाे कुपण्डाेलमा १२ बजे कार्यक्रम आयोजना गरेको छ ।
२०६० साल साउन ३२ गते दाङको हापुरेमा तत्कालिन सरकार र माओवादीबीच दोस्रो चरणको वार्ता चलिएरहेको अवस्थामा दोरम्बामा बैठक बसिरहेको घरबाट माओवादीका नेता तथा कार्यकर्ताहरुलाई कब्जामा लिएर सामुहिक हत्या गरिएको थियो । दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएका पीडितहरुले आफूहरुले अझै न्याय नपाएको बताउदै आएका छन् ।