विश्वका महान् रंगभेद विरोधी, उपनिवेशवाद विरोधी नेता नेल्सन मण्डेलाको भर्खरै १०६ औ जन्म दिन बितेको छ । उनको जन्म १८ जुलाई १९१८ मा भएको थियो । नश्लेभद, रंगभेद र जातिभेद विरोधी अथक र अविश्रान्त संघर्षमा उनले पु¥याएको अतुलनीय योगदान सत्ता मोहरहीत गोरा शासनसत्ताबाट मुक्ति पछिको सत्ताको एक कार्य कालको नै उनलाई विश्वले अनन्तरुपमा सम्झिरहने र सधैं सम्मान गर्ने सबैभन्दा महत्वपूर्ण कारण हुन् । त्यस दुधर्स संघर्षमा उनले अल्पसंख्यक गोराहरुको क्रूर दमनकारी र विभेदकारी शासन सत्ताको विरुद्ध संघर्ष गर्दा अविच्छिन्नरुपमा २७ वर्षको कठोर काराबास जीवन बिताउनु परेको थियो । वास्तवमा नेल्सन मण्डेलाको यही दृढ निश्चयी र प्रेरणास्पद संघर्षमय जीवनगाथाले नै आज पनि विश्वमा उनी स्मरणीय र आदरणीय बनेका हुन् ।
यसका अतिरिक्त रंगभेद र जातिभेदबाट अफ्रिकालाई मुक्त गराउने ती महान् व्यक्तित्वले चाहेको भए मुक्तिपछि आजीवन दक्षिण अफ्रिकाको शासनसत्तामा जमेर बस्न सक्ने एक लोकप्रिय नेता थिए । तर उनले त्यसबाट फाइदा उठाउने सत्तामोह विल्कुलै देखाएनन् । दक्षिण अफ्रिकाको इतिहासमा काला जातिको पहिलो राष्ट्रपति निर्वाचित भएको एक कार्यकाल (१९९४–१९९९) पछि नै उनी सत्ता केन्द्रबाट बाहिरिए र त्यसपछि सक्रिय राजनीतिमा आफुलाई अगाडि सारेनन् । उमेरका कारणले समेत उनी पछि सरेर नयाँ पुस्तालाई सहज किसिमले सत्ता हस्तान्तरण गरे । जुन आजको सत्तामुखी नेपाल लगायत विश्व राजनीतिमा अत्यन्तै सराहनीय र प्रसंशनीय मात्रै होइन अत्यन्तै प्रेरणास्पद, अनुकरणीय दुर्लभ कुरा पनि हो ।
अझ अर्को तेश्रो महत्वपूर्ण कुरा उनले सत्ता परिवर्तन पछि बदलाको भावनाले कुनै काम गरेनन् र त्यस्ता कुनै कदमहरु बिल्कुलै चालेनन् । त्यस सन्दर्भमा उनको भनाइ एकदमै स्पष्ट थियो कि रंगभेद तथा जातिभेद विरोधी उनको संघर्ष केवल काला जातिका लागि विजयको कुरा मात्र थिएन, जातिभेदको अन्त्यका लागि त्यो गोरा अल्पसंख्यक जातिका लागि पनि थियो र हो । उनले लडेको लडाई कुनै जाति विशेषको मुक्तिको लागि मात्र थिएन मानव जातिबीच फैलिएको फैलाइएको र अभ्यस्त जस्तै तुल्याइएको विभेद, असमानता र जातीय उत्पीडन तथा असुरक्षाका विरुद्ध थियो । त्यसैले त्यो सबै जातिको समान हक अधिकार, समुन्नति र सम्मानका निमित्त थियो र हो भन्ने कुरा उनले एकदमै स्पष्ट पारेका थिए ।
वास्तवमा नेल्सन मण्डेलाले माक्र्सवादप्रति आफ्नो विमति नरहेको र त्यो संघर्षको अमोघ प्रेरणाको श्रोत भएको करा स्वीकारेका थिए अन्ततः कम्युनिष्ट बनेर उनी संघर्षलाई सही दिशा र अग्रगति दिन तत्पर भएका हन् भन्ने कुरा स्वयं उनले स्वीकारेको र कसैले विमति जनाएको छैन । हुन पनि विसौं शताब्दीको उत्तराद्र्धदेखिको जातिभेद र रंगभेद विरोधी संघर्षमा दृढ निश्चयका साथ दायाँ बायाँ नगरी लागेका नेल्सन मण्डेलाले स्वाधीनता र स्वतन्त्रतताको त्यो लडाईको सफल नेतृत्व गरेर विजय हासिल गरे उनको त्यो विजय केवल दक्षिण अफ्रिकाको मात्र विजय थिएन । त्यसै कारणले समेत विश्वभरीका सरकार र राष्ट्र प्रमुख या तिनका प्रतिनिधिहरु नेल्सन मण्डेलाको ६ डिसेम्बर २०१३ मा देहावसान हुँदा उनलाई अन्तिम श्रद्धाञ्जली दिन दक्षिण अफ्रिका पुगेका थिए र भावपूर्ण त्यो ऐतिहासिक श्रद्धाञ्जली सभामा सहभागी बनेका थिए भने विश्वभरीका मुक्तिकामी जनताले पनि आ–आफ्नो स्थानबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
तर आज दक्षिण अफ्रिकामा दिवंगत मण्डेला जस्तो अर्को कुनै व्यक्तित्वको निर्माण भएको छैन । यद्यपि दक्षिण अफ्रिका विश्वको विकासशील अर्थतन्त्रमा अगाडि बढेको राष्ट्रको रुपमा खडा ‘ब्रिक्स’(ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको विश्व आर्थिक संगठन) मा पनि आवद्ध र सक्रिय छ । प्यालेस्टिनी जनताको मुक्ति र स्वतन्त्रताको पक्षमा दृढ छ । तर अझै पनि गरीबी, अभाव, बेरोजगारी र एड्स जस्ता भयावह समस्याले त्यो देश निक्कै आक्रान्त छ । भ्रष्टाचार दक्षिण अफ्रिकाको पनि एउटा ठूलो समस्याकै रुपमा रहेको छ । यी समस्याहरुबाट मुक्त हुने दिशा र बाटोमा तीव्र गतिमा अगाडि बढ्न नसकेसम्म दक्षिण अफ्रिकाले नेल्सन मण्डेलाप्रति सार्थक सम्मान प्रकट गरेको र उनीबाट उचित र सार्थक प्रेरणा लिएको पनि ठहरिने छैन ।
अनि अग्रगामी राजनीतिक सुधार र परिवर्तन पछि पनि नेपाल लगायतका विश्वका विभिन्न देशहरुमा जुन किसिमको घोर सत्ता लिप्सा, सिद्धान्तहीन, अपारदर्शी र अपवित्र राजनीतिक साँठगाठ हुने गरेको र तुष्टीकरणको निहीत स्वार्थी राजनीति चल्ने चलाइने गरेको छ त्यसबाट बाहिर निस्कन नसकेसम्म नेल्सन मण्डेलाप्रति दर्शाएको आदर सम्मान र शब्द श्रद्धा केवल एउटा सस्तो पाखण्ड प्रदर्शन मात्र ठहरिने कुरालाई पनि आत्मसात गरिरहनु नै पर्दछ । अनि मात्र मण्डेला जस्ता साहसी, क्रान्तिकारी, दृढ निश्चयी र उच्च व्यक्तित्वहरुको प्रसंशा गरेको, गुणगान गाएको र सम्मान गरेको पनि सार्थकता हुन्छ । अन्यथा यो आफुलाई र अरुलाई पनि ठगठाग गर्ने कर्मकाण्डीय कुरा बाहेक किमार्थ अरु केही प्रमाणित हुँदैन । सदा सर्वदा स्मरणीय र अविस्मरणीय विश्व व्यक्तित्व नेल्सन मण्डेलाको १०६ औ जन्म जयन्तीको अवसरमा उनीप्रति उच्च सम्मानकासाथ हार्दिक एवं शतत नमन !