क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दाेस्राे पूर्ण बैठक असार ११ गतेबाट सुरु

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । २०८१ असार ११ गते काठमाडौंमा सुरु भएको उक्त बैठकले पार्टीको एकता महाअधिवेशनबारे निर्णय लिने बताइएको छ । बैठक पार्टीको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणको अध्यक्षतामा चलिरहेको छ ।

बैठकले एकता महाधिवेशनका लागि राजनीति, सांगठनिक, सामाजिक र समसामयिक प्रस्तावहरुबारे टुंगो लगाउने छ । बैठकले एकता महाधिवेशनको मिति तय गर्नेछ । महाधिवेशन सफल पार्न आवश्यक पर्ने समितिहरु गठन गर्ने र एकता महाधिवेशनसम्मका लागि आगामी कार्यक्रम समेत बनाउने ठानिएको छ ।

बैठकको प्रारम्भमा सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल एकता महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य नारायण सापकोटा (प्रकाश) को जेष्ठ २८ गते असामयिक निधन भएको प्रति बैठकका अध्यक्ष तथा पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणले बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकले शोक प्रस्ताव पारित गरेको थियो ।

२०७९ मा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) को बीचमा पार्टी एकता संयोजन समिति बनेको थियो । उक्त पार्टी एकता संयोजन समितिले २०७९ मै पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल टुंगो लगाएको थियो । कतिपय विषयमा सहमति जुट्न नसकेकाले नेकपा (मशाल) पार्टी एकतामा सामेल हुन नसकेपछि नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) का बीचमा २०८० वैशाख १८ गते मजदुर दिवसका सन्दर्भमा पार्टी एकता गरेका थिए । २०८१ वैशाख १९ गते मजदुर दिवसकै दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीचमा पार्टी एकता घोषणा गरिएको थियो । नवगठित पार्टीको एकता घोषणापछि अहिले केन्द्रीय समितिको बैठक बसिरहेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल विद्यमान संसदीय व्यवस्थाको विकल्प चाहने क्रान्तिकारी शक्तिहरुको पार्टी हो । नेपाली राजनीतिमा क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक शक्ति भएकाले यसले आगामी महाधिवेशन कसरी सम्पन्न गर्ने छ ? यसले कस्तो पार्टी नीति र कार्यक्रम तय गर्नेछ ? अन्य क्रान्तिकारी शक्तिहरुलाई ध्रुवीकृत गर्न कस्तो नीति अपनाउने छ । क्रान्तिकारी आन्दोलनका आधारभूत वर्ग मजदुर र किसानलाई संगठित गर्न कस्तो योजना बनाउँदैछ ? क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अहिले चलिरहेको बैठकप्रति आम चासो छ ।

चीनमा नयाँ जनवादी क्रान्ति उत्कर्षमा पुगेको समय र भारतबाट अंग्रेजी साम्राज्यवाद हटिसकेको अवस्थामा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । २०१९ सालसम्म एकीकृत रुपमा रहेको नेकपा त्यसपछि विभिन्न धाराहरुमा विभक्त भएको थियो । केशरजंग रायमाझीले नेतृत्व गरेको राजावादी धार समाप्त भइसकेको छ, पुष्पलाल धारको एउटा पक्ष एमालेमा विलय भएको र बाँक अस्तित्वको रुपमा रहेको छ । झापा विद्रोह, को.के., मा.ले. एमालेका रुपमा विकासको धार सम्पूर्ण रुपले संशोधनवादमा पतन भइसकेको छ । चौथो महाधिवेशन धारबाट विकास भएको र विगतमा जनयुद्धको समेत नेतृत्व गरेको एउटा पक्ष संशोधनवादमा पतन भइसकेको बेला वस्तुगत परिस्थितिले सैद्धान्तिक, राजनैतिक र सांगठनिकरुपमा सशक्त क्रान्तिकारी धारको विकास आवश्यक रहेको सर्वत्र महशुश गरिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई क्रान्तिकारी धारको नेतृत्व गर्ने शक्तिको रुपमा आम रुपमा अपेक्षा गरिएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?