‘हामीले नेपाली क्रान्तिको बाटो यहाँकै आर्थिक स्थिति भित्र खोज्नु पर्दछ’

काठमाडौं : जेष्ठ ५ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) को बीचमा तीन नम्बर प्रदेशमा एकता सम्पन्न भएको छ । काठमाडौंस्थित ईच्छुक प्रतिष्ठानको हलमा सम्पन्न एकता अधिवेशनबाट उक्त एकता सम्पन्न गरिएको हो । एकता अधिवेशनबाट चन्द्रहरी सुवेदी (अटल) संयोजक,सहसंयोजकहरु सुरेश श्रेष्ठ, लालबहादुर वि.सी., शरद रसाइली र गंगा पौडेल सहित २०३ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल तीन नम्बर प्रदेश समन्वय समिति गठन गरिएको छ । जसमा तीन नम्बर प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) रहनुभएको छ ।

एकता अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) हुनुहुन्थ्यो । सहसंयोजक बास्तोलाले नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) सबै विद्रोहबाट आएका शक्तिहरु भएकाले यो नवगठित पार्टीमा क्रान्तिकारी धारलाई अगाडि बढाउने क्षमता छ भन्नुभयो । उहाँले यो एकता सैद्धान्तिक–राजनीतिक एकता नै भएको दावी गर्नुभयो । बास्तोलाले नेपाली क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउन एकता महाधिवेशनको अवधिमा व्यापक छलफल गरिने पनि स्पष्ट गर्नुभयो ।

बास्तोलाले माक्र्सको पालामा उत्पादन केन्द्रिकृत थियो तर आजको साम्राज्यवादी युगमा उत्पादन विकेन्द्रित र वितरणलाई केन्द्रिकृत गरिएको छ । पुँजीवादको चरित्र अध्ययन गरेर संघर्षको स्वरुप निर्धारण गर्नुपर्दछ भन्नुभयो ।

पार्टीका केन्द्रीय कार्यालय सदस्य एवं तीन नम्बर प्रदेश इन्चार्ज हेमन्त प्रकाश ओलीले समस्याको समाधान आफ्नो जमानाको अर्थशास्त्र/अर्थव्यवस्थामा खोज्नुपर्ने पनि स्पष्ट गर्नुभयो । माक्र्स, एंगेल्सले आप्mनो समयको अर्थशास्त्र अध्ययन गरेर माक्र्सवादी राजनीतिक अर्थशास्त्रको सिद्धान्त तय गर्नु भएको थियो भन्दै अगाडि भन्नु भयो, “लेनिनले आफ्नो जमानाको अर्थशास्त्रको अनुसन्धान गरेर पुँजीवाद साम्राज्यवादमा पुगेको निश्कर्षमा पुग्नु भयो र सर्वहारा क्रान्तिको सिद्धान्तलाई समृद्ध बनाउनुभयो । माओले पनि आफ्नो देशको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाको आर्थिक स्थितिलाई अध्ययन गरेर नयाँ जनवादी क्रान्तिको कार्यदिशा तय गर्नुभयो । नेपालमा पनि हामीले हाम्रै देशको आर्थिक स्थितिलाई अध्ययन गरेर नेपाली क्रान्तिको बाटो खोज्नुपर्दछ । नेपालमा १०÷१२ जना धनाढ्यहरुले देशको अर्थतन्त्र कब्जा गरेका छन् । दलाल पुँजीवाद हावी भएको छ । हामीले नेपाली क्रान्तिको बाटो यहाँकै आर्थिक स्थिति भित्र खोज्नु पर्दछ ।”

प्रदेश नं. १ का इन्चार्ज थमन राई (निर्मल) ले एकतालाई सुदृढ बनाउन सबैले गम्भीर हुनुपर्ने बताउनुभयो । प्रदेश नं. २ का इन्चार्ज दिनेश शर्माले यो एकतालाई भाँड्न प्रतिक्रियावादी र अवसरवादीहरुले कोशिश गरिरहेको स्पष्ट गर्दै भन्नुभयो उनीहरुको सपना पूरा हुने छैन । पार्टीका कार्यालय सदस्य रामबहादुर बुढाले हामीले विगतको समीक्षा गरी त्यसबाट पाठ सिक्नु पर्दछ र आजको नयाँ धरातलमा पार्टी एकतालाई बलियो बनाउनु पर्दछ भन्नुभयो । कार्यक्रममा केन्द्रीय सल्लाहकारहरु सूर्या थापा र मोदनाथ मरहठ्ठालाई आसन ग्रहण गराइएको थियो ।

कार्यक्रममा तीन नं. प्रदेश इन्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) ले २०३ जना प्रदेश सदस्यहरुको नामावली प्रस्तावित गर्नु भएको थियो । हाउसले उक्त प्रदेश सदस्यहरुको नामावली ताली बजाएर अनुमोदन गरेको थियो । सुदर्शनले उक्त समितिमा माओवादी केन्द्र र विप्लव समूहबाट विद्रोह गरी आएका तथा जेलबाट रिहाई भएका कामरेडहरुलाई समेत समितिमा राखिएको जानकारी गराउनु भएको थियो ।

कार्यक्रम ३ नं. प्रदेश संयोजक चन्द्रहरी सुवेदी (अटल) को अध्यक्षता, सहसंयोजक शरद रसाइलीको संचालन र अर्का सहसंयोजक गंगा पौडेलको स्वागतबाट अगाडि बढेको थियो । कार्यक्रमको प्रारम्भमा रक्तिम र सामनाका कलाकारहरुले “अन्तर्राष्ट्रिय” गीत प्रस्तुत गरेका थिए । सहिदहरुप्रति एक मिनेट मौन धारण गरिएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?